काठमाडौं ।
निर्वाचन प्रचारप्रसारका दौरान सामाजिक सञ्जालको गलत प्रयोग र एआईको दुष्प्रचार गरे उम्मेदवारी नै खारेज हुन सक्ने कडा व्यवस्थासहित निर्वाचन आयोगले निर्वाचनका लागि आचारसंहिता लागू गर्ने भएको छ ।
यही फागुन २१ हुने प्रतिनिधिसभाको निर्वाचनका लागि आयोगले यही माघको पहिलो सातादेखि निर्वाचन आचारसंहिता लागू गर्दै छ । चुनावी राजनीतिमा एआईको दुरुपयोग हुन सक्नेकुरालाई मध्यनजर गर्दै आयोगले आयोगले सामाजिक सञ्जाल, फेक अकाउन्ट र एआईबाट फैलाइने भ्रामक सूचनामाथि कडाइ गर्ने आचारसंहितामा समेटिएको हो ।
विशेष गरी एआईको प्रयोग गरी यथार्थता बंग्याउने, गलत र भ्रामक सूचनाको प्रचार गर्ने कार्यलाई निरुत्साहित गर्न आयोगले सचेतनामुखीभन्दा सजायमुखी तौरतरिका अपनाइएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताउनुभयो । उहाँका अनुसार आचारसंहितामा नेता, उम्मेदवार वा कार्यकर्ताले उल्लंघन गरे उम्मेदवारी खारेजीसम्मको सजायमा समेत उल्लेख गरिएको छ ।
आचारसंहितामा सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न नहुने, चुनावमा प्रतिकूल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा एकाउन्ट सञ्चालन वा झुटा साइट खोलेर चलाउन नहुने भनिएको छ । त्यसै गरी चुनावलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वैषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिप्पणी गर्न नहुने भनिएको छ ।
कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई चुनाव प्रभावित पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट गर्न नहुने विषयलाई पनि कडाइका साथ राखिएको छ । त्यसै गरी निर्वाचनको विश्वसनीयता वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी कुनै अवाञ्छित लाञ्छना लगाउन नहुने, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानी गर्न वा यस्तै प्रकृतिका सामग्री कुनै स्वरूपमा उत्पादन गर्न तथा प्रकाश वा प्रसारण गर्न नहुने भनिएको छ ।
यसै गरी उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा दलको मतपरिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा परिणाम घोषणा वा प्रकाश गर्न नहुने पनि भनिएको छ । चुनावमा प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर र प्रतिक्रिया दिन नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भंग गर्न नहुने, मतदाता र मतदानमा खटिएका कर्मचारीसँग वादविवाद तथा हतोत्साहित गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पार्न नहुने भनिएको छ ।
यसपटक आचारसंहितामा दल वा उम्मेदवारले निर्वाचन घोषणापत्रमा उल्लेख भएबमोजिमको कार्यप्रगतिको प्रतिवेदन प्रत्येक वर्ष सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्नुपर्ने व्यवस्था थपिएको छ । यसै गरी, हरित निर्वाचनको परिकल्पना गरिएको छ । यसअन्तर्गत प्रदूषण नियन्त्रण हुनेगरी वातावरणमैत्री डिजिटल प्रचार गर्नुपर्नेछ ।
यसै गरी, दल वा उम्मेदवारको चुनाव चिह्न अंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकरण, लोगो, झोला, ब्याज, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन, प्रयोग, बिक्री वितरण वा प्रदर्शन गर्न नहुने, स्वीकृति नलिई कसैको निजी वा संस्थागत स्वामित्वको घरजग्गामा राजनीतिक गतिविधि वा प्रचार गर्न नहुने भनिएको छ ।
उम्मेदवारको मनोनयनपत्र पेस गर्न जाँदा वा प्रचार प्रसारका घरदैलो कार्यक्रम गर्दा उम्मेदवार, प्रस्तावक, समर्थकसहित २५ जनाभन्दा बढीको जुलुस लिएर जान नहुने र यसरी जाँदा बाजागाजा तथा झाँकीसहित जान नहुने भनिएको छ । यसै गरी अनलाइन वेब पेज, टिभी स्कोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न नहुने भनिएको छ । तर, राजनीतिक दल वा उम्मेदवारको बढीमा एउटा निजी र आधिकारिक वेबपेजमा त्यस्तो प्रचारप्रसार सामग्री राख्न बाधा पर्ने छैन ।
दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको ¥याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने भनिएको छ । उम्मेदवार तथा निजको परिवारलाई कुनै तवरबाट डर, त्रास तथा धम्की दिन नहुने, कुनै साम्प्रदायिक विद्वेष फैलाउने गरी प्रचार गर्न वा मत माग्न नहुने भनिएको छ ।
निर्वाचन प्रचार लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैं वा आफ्नो प्रतिनिधिमार्फत मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने भनिएको छ । निर्वाचनमा विजयी भएको उम्मेदवारले कुनै प्रकारको भोज भतेर गर्न वा नगद वा जिन्सी वितरण गर्न नहुने भनिएको छ । राजनीतिक दल वा उम्मेदवारले सवारी साधनको प्रयोग गरी एक जिल्लाबाट अर्को जिल्लामा मतदाता ओसारपसार गर्न नहुने पनि भनिएको छ ।
यसै गरी उम्मेदवारले दुईटा सवारी अनुमति लिएर प्रयोग गर्न पाउने, सवारी नचल्ने भेगमा चारवटा घोडा प्रयोग गर्न पाउने भनिएको छ । दलले तोकेका दुई मुख्य प्रचारकले मात्र आयोगको अनुमितमा हेलिकोप्टर प्रयोग गर्न पाउने भनिएको छ । उम्मेदवारले मनोनयन दर्ता गर्दा आफूले खर्च गर्ने अनुमानित रकम र त्यसको स्रोत खुलाउनुपर्ने पनि भनिएको छ । दल र उम्मेदवारले खर्च गर्दा बैंक खाता खोलेर गर्नुपर्ने भनिएको छ । २५ हजारभन्दा बढीको आर्थिक सहयोग प्राप्त गर्दा बैंकबाट लिनुपर्ने भनिएको छ ।
निर्वाचन आयोग ऐनको दफा २२ अनुसार आयोगले तयार पारेको आचारसंहिता संघ, प्रदेश, स्थानीय सरकारका पदाधिकारी, कर्मचारी, संवैधानिक निकायका पदाधिकारी, सरकारी, गैरसरकारी संस्था, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, दल र भ्रातृ संगठन, उम्मेदवार, निर्वाचन प्रतिनिधि, मतदान तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेका व्यक्ति, पर्यवेक्षक, सञ्चारकर्मी, विद्यालयका शिक्षक र कर्मचारी, मतदाता, बैंक तथा वित्तीय संस्था, व्यापारिक क्षेत्र, सेवाप्रदायक संस्थाका पदाधिकारी र कर्मचारीमा लागू हुने छ ।











प्रतिक्रिया