उदयपुर ।
उदयपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारको कर्मचारी पदपूर्ति नहुँदा बिरामीहरुको स्वास्थ्य उपचारमा समस्या भएको छ।
२०७४ सालसम्म सगरमाथा अञ्चल आयुर्वेद औषधालयको रुपमा रहेर स्थानीय बिरामीहरुलाई स्वास्थ्य उपचार दिँदै आएको हालको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुर गाईघाटमा जम्मा ६ जनाको स्थायी दरबन्दी रहेको तर दरबन्दी अनुसारका कर्मचारीहरु नहुँदा उपचारमा समस्या भएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरका प्रमुख डा.गम्भिर झाका अनुसार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा जम्मा ६ जनाको दरबन्दी रहेको छ । जसमा १ जना डाक्टर, १ जना कविराज, १ जना सहलेखापाल, १ जना वैद्य र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । तर हाल ४ जनाको दरबन्दी खाली रहेकोले कार्यालयको काममा र उपचारमा समस्या भएको छ । अर्को तर्फ कार्यालय भवन पनि साँघुरो भएकोले भवन निर्माण कार्यकालागि प्रदेश सरकारबाट रु.३७ लाख प्राप्त भएको छ ।
डा. झाले करार तर्फ भने ८ वटा दरबन्दी रहेको जानकारी दिँदै करार सेवामा डाक्टरको २ वटा दरबन्दी रहेको,स्टाफनर्स १ जना, वैद्य १ जना,पञ्चकर्म २ जना, र सरसफाईमा २ जनाको दरबन्दी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले दिएको बताए ।
कार्यालयको भवन साँघुरो भएकोले र सेवा पनि थप भएकोले हाल बिरामी उपचार भैरहेको भवनमा तला थपेर सेवा प्रवाह गर्नकालागि प्रदेश सरकारले ३७ लाख उपलब्ध गराएको र २०८३ असार मसान्तभित्रमा कार्य सम्पन्न हुने गरी तला थप्नकालागि टेण्डर निकाल्ने तयारी भइरहेको डा.झाले बताए ।
प्रदेश सरकारले औषधी खरिद गर्दा सिंहदरबार वैद्यखानाबाट खरिद गर्नु पर्ने भनिएको तर बैद्यःखानाले औषधी पयाृप्त नभएका भन्दै दिन नमानेले बिरामीहरुलाई निशुल्क वितरण गरिने औषधी उपलब्ध गराउन नसकिएको उनले बताए ।
औषधीकालागि पटक पटक नै बैद्यखानासँग औषधी उपलब्ध गराउन अनुरोध गरेको भए पनि उपलब्ध गराउन नसक्दा औषधीको अभाव भएको डा. झाले बताए।
जडीबुटी बिरुवा खरिदमा अनियमितता भएको विषयमा जिज्ञासा राख्दा डा. झाले जडीबुटी विरुवा खरिदकालागि आर्थिक वर्ष २०८१। ०८२मा रु. ४५ हजार बजेट प्राप्त भएकोले आफूले विरुवा खरिद गरेर ल्याएको तर कविराज अधिकृत मुकेश कुमार चौधरीले रोप्न नदिई उजुरी गरेकोले सो रकम आलेप गर्दा नै बेरुजु भएकोमा आफूले बेरजु फर्छ्यौट गरेको बताए ।
डा. झाले २ ,३ वटामात्र जडीबुटीे बिरुवा खरिद गरेर ४५ हजारको बिल पेस गरेको थाहा पाएपछि मुकेश चौधरीले विरोध गरेर जिल्ला प्रशासनमा उजुरी गरेकोमा आन्तरिक लेखापरीक्षण गर्दा उक्त रकम बेरुजु लेखिए पछि उनले सो रकम बैंक दाखिला गरेको थिए ।
हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरबाट सरुवा भइ धनकुटामा गएका कविराज अधिकृत तथा तत्कालीन सूचना अधिकारी मुकेश चौधरीले ४५ हजारमा दुईवटा जडीबुटीको बिरुवा खरिद गरेको बिल पेस गर्नु भनेको सोझै अनियमितता गर्नु हो त्यसैले आलेप गर्दा बेरुजु आएपछि उक्त रकम बैंक दाखिला गरेर भौचर पेस गरेपछि बेरुजु फर्छ्यौट भएको बताए ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरका प्रमुख डा. झाको र मुकेश चौधरी बिचको विवादका कारण कोसी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले डा. झा सहित तीन जनाको सरुवा गरेकोमा डा. झाले सरुवा थमौती गराएका छन् भने कविराज अधिकृत चौधरी घनकुटा, वैद्य दीपकला राई खोटाङ रमाना लिएर गएका छन् । डा. झाले आफ्नो भोजपुर सरुवा भएकोमा थमौती गरेर बसेको बताए ।











प्रतिक्रिया