स्याङ्जामा फलफूल उत्पादनमा वृद्धि

658
Shares

स्याङ्जा ।

स्याङ्जामा फलफूल उत्पादनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८१-०८२ मा झन्डै ४० हजार मेट्रिक टन फलफूल उत्पादन भएको छ । ४ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा गरिएको फलफूल खेतीबाट एक वर्षमा ४० हजार १० मेट्रिक टन फलफूल उत्पादन भएको हो । कुल उत्पादन हुने फलफूलमध्ये झन्डै ७० प्रतिशत सुन्तलाको हिस्सा छ । पछिल्लो वर्ष २८ हजार मेट्रिक टन सुन्तला मात्रै उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गतवर्ष फलफूल उत्पादनमा ३ दशमलव ४२ प्रतिशतले वृद्धि भएको हो ।

सुन्तला खेती विस्तार भएकाले फलफूल उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र स्याङ्जाका सूचना अधिकारी नारायण पाठकले जानकारी दिनुभयो । पाठकका अनुशार खाद्यबाली उत्पादनमा गिरावट आएको भए तापनि फलफूलजन्य उत्पादनमा वृद्धि भएको छ । जिल्लामा खासगरी ३ हजार ४ सय ५२ हेक्टरमा लगाइएको सुन्तला प्रजातिको २९ हजार ६ सय ८७ मेट्रिक टन फलफूल उत्पादन भएको छ । ८ सय ७५ हेक्टर क्षेत्रफलबाट ९ हजार ५ सय ३८ मेट्रिक टन बर्खे फलफूल उत्पादन हुँदा १ सय ७ हेक्टर क्षेत्रफलमा लगाएको हिउँदे फलफूल ७ सय ८५ मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुन्तला जातसमेतको बर्खे र हिउँदे गरी कुल ४० हजार १० मेट्रिक टन फलफूल उत्पादन भएको कार्यालयले जनाएको छ ।

यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा उल्लेख्य वृद्धि भएको छ । जिल्लामा उत्पादित फलफूलमध्ये सबैभन्दा धेरै सुन्तला मात्रै २ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा २८ हजार ५ सय ५९ मेट्रिक टन उत्पादन भएको छ । कार्यालयका अनुसार ४ सय ५२ हेक्टर क्षेत्रफलमा लगाएको कागती ५ सय ३ मेट्रिक टन उत्पादन हुँदा ५० हेक्टरको क्षेत्रफलमा लगाएको अन्य फलफूल ६ सय २५ मेट्रिक टन उत्पादन भएको छ । बर्खे फलफूलमा केरा, आँप, लिची, बेलौती, भुइँकटहर, एभोकाडो, मेवा र ड्रागन उत्पादन हुँदै आएको कार्यालयका कृषि अर्थविज्ञ नारायण पाठकले जानाकारी दिनुभयो । ‘हिउँदे फलफूलमा नास्पाती, आरु, आरुबखडा, किवीलगायतका फलफूल उत्पादन हुन्छ’, उहाँले भन्नुभयो, ‘कुल उत्पादित फलफूलमध्ये ५० प्रतिशत आन्तरिक र ५० प्रतिशत फलफूल देशभित्रै निर्यात हुँदै आएको छ ।’ गतवर्षको तुलनामा चालू वर्ष झन्डै तीन प्रतिशतले फलफूल उत्पादनमा वृद्धि हुने विज्ञ पाठकले बताउनुभयो ।

मुख्य गरी सुन्तला, आँप÷लिची उत्पादन गर्ने कृषकको सख्ंया धेरै रहेको जिल्लामा झन्डै २८ सहकारी, ९१ समूह र ३ सय कृषकले व्यावसायिक रुपमा फलफूल खेती गर्दै आएका छन् । फलफूल खेतीमा महिला र पुरुष गरी करिब ५ हजार परिवार आबद्ध छन् भने झन्डै ४ हजार ५ सय जनाले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएको कृषि विकास कार्यालयले जनाएको छ । सुन्तलाका सयौँ बगैँचा रहेको स्याङ्जामा आँप÷लिची र केराका दर्जनौँ व्यावसायिक फार्महरु सञ्चालनमा रहेका छन् । फलफूल खेतीबाटै जिल्लाका एक दर्जन कृषकले वार्षिक रुपमा १० लाखदेखि १ करोडसम्म नगद आम्दानी लिने गरेका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झन्डै ९० लाख आम्दानी गरेको अर्जुनचौपारीका त्रिपुत्र बागवानी फार्म सञ्चालक सुन्तला उत्पादक अगुवा कृषक फणीनारायण अर्यालले बताउनुभयो ।

जिल्लाका ११ पालिकामध्ये पुतलीबजारमा सबैभन्दा धेरै झन्डै १२ हजार मेट्रिक टन फलफूल उत्पादन हुन्छ । उत्पादित फलफूलमध्ये भीरकोट र वालिङमा ६÷६ हजार, गल्याङ र चापाकोट नगरपालिकामा ५÷५ हजार मेट्रिक टन फलफूल उत्पादन हुने गरेको कार्यालयले जनाएको छ । जिल्लाका ६ गाउँपालिकामा झन्डै ६ हजार मेट्रिक टन मात्रै फलफूल उत्पादन हुने गरेको छ ।