छत्तीसगढमा क्रिसमसको विरोधमा हिन्दू संगठनको प्रदर्शन, विभिन्न स्थानमा तोडफोड


काठमाडौं ।

भारतको छत्तीसगढ राज्यमा क्रिसमस पर्वको विरोध गर्दै हिन्दू संगठनहरूले प्रदर्शन गर्दा राजधानी रायपुरसहित विभिन्न स्थानमा तोडफोड भएको छ।

बुधबार रायपुरस्थित म्याग्नेटो मलमा हिन्दू संगठनसँग आबद्ध समूहले प्रवेश गरी कर्मचारीहरूलाई जात र धर्मबारे सोधपुछ गर्दै धम्की दिएको तथा तोडफोड गरेको आरोप लागेको छ। मलका कर्मचारीहरूको परिचयपत्र जाँच गरी उनीहरू हिन्दू हुन् कि क्रिश्चियन भनेर सोधिएको जनाइएको छ।

म्याग्नेटो मलकी मार्केटिङ प्रमुख आभा गुप्ताका अनुसार ठूलो संख्यामा मानिसहरू लाठी र हक्की स्टिकसहित मलभित्र प्रवेश गरी तोडफोडमा उत्रिएका थिए। उनका अनुसार क्रिसमसको तयारीका लागि सजाइएको मलमा भएको तोडफोडबाट करिब १५ देखि २० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

यसैगरी, रायपुरका अन्य क्षेत्रहरूमा पनि पसलहरूमा आक्रमण र तोडफोड भएका घटनाहरू सार्वजनिक भएका छन्।

प्रहरीका अनुसार घटनामा संलग्न अज्ञात व्यक्तिहरूविरुद्ध भारतीय दण्ड संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ। एक प्रहरी अधिकारीले दोषी पाइएमा जो–कोहीलाई पनि कडा कारबाही गरिने जानकारी दिएका छन् र घटनाबारे अनुसन्धान जारी रहेको बताएका छन्।

यसैबीच, छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले राज्यवासीलाई क्रिसमसको शुभकामना दिँदै विज्ञप्ति जारी गरेका छन् । उनले क्रिसमस पर्वले प्रेम, करुणा, त्याग र सेवाको भावना प्रवर्द्धन गर्ने सन्देश दिने उल्लेख गरेका छन् ।

मुख्यमन्त्री साईले क्रिसमस पर्वले राज्यका सबै नागरिकको जीवनमा खुशी, स्वास्थ्य, समृद्धि र शान्ति ल्याओस् भन्ने कामना गर्दै सबैको संयुक्त प्रयासबाट छत्तीसगढ निरन्तर प्रगतिको मार्गमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । बीबीसीबाट