विमान दुर्घटनामा लिबियाली सेना प्रमुखको निधन


काठमाडौँ।

लिबियाली सेनाका प्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादको टर्कीमा भएको विमान दुर्घटनामा मृत्यु भएको छ। लिबियाका प्रधानमन्त्रीले उक्त दुर्घटनामा सेना प्रमुखसहित अन्य चार जनाको पनि ज्यान गएको पुष्टि गरेका छन्।

मंगलबार साँझ टर्कीको राजधानी अंकाराबाट उडेको फाल्कन–५० विमान त्रिपोलीतर्फ जाँदै गर्दा दुर्घटनाग्रस्त भएको हो। विमानमा जनरल अल–हद्दादसहित पाँच जना सवार थिए।

टर्कीका गृहमन्त्री अली येर्लिकायले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार विमानले स्थानीय समयअनुसार राति ८ बजेर ५२ मिनेटमा सम्पर्क गुमाएको थियो। उक्त विमान अंकारा विमानस्थलबाट उडेको करिब ४२ मिनेटपछि राडार सम्पर्कबाट बाहिरिएको जनाइएको छ।

सम्पर्क विच्छेद हुनुअघि जेटले आपतकालीन अवतरणको अनुमति मागेको टर्की अधिकारीहरूले बताएका छन्। पछि विमानको भग्नावशेष अंकाराको दक्षिणपश्चिम क्षेत्रमा फेला परेको थियो।

दुर्घटनाको कारणबारे हाल अनुसन्धान भइरहेको टर्की प्रशासनले जनाएको छ।