स्याङ्जा।
नेपालको राजधानी काठमाडौं लगायतका मुख्य शहरहरुमा फोहोरमैला व्यवस्थापन एक प्रमुख चुनौती बनिरहेका बेला स्याङ्जाको बालमैत्री नगरपालिका भीरकोटले भने फोहोरमैला ब्यवस्थापनबाटै बार्षिक लाखौं आम्दानी गर्न थालेको छ । फोहोरलाई श्रोतको रुपमा उपयोग गर्दै मोहरमा रुपान्तरण गरेर भीरकोट नगरपालिकाले लाखौं रुपैयाँ राजश्व संकलन गरेको छ । नगरका प्रमुख बजार क्षेत्रमा संकलित फोहोर र कवाडीलाई मोहरमा रुपान्तरण गरेर नगरपालिकाले लाखौं रुपैयाँ राजश्व आर्जन गरेको हो । नगरपालिकाभित्र उत्सर्जन हुने फोहोरलाई मोहरमा परिणत गर्न नगरपालिकाले वडा नं. ४ मा संघीय विशेष अनुदान र नगरपालिकाको २ करोड ७४ लाख ८५ हजारको लगानीमा पार्क, प्रशासनिक भवन सहितको व्यवस्थित र वातावरणमैत्री सरसफाई केन्द्र निर्माण गरेको छ ।
नगरपालिकाले बजारक्षेत्रबाट संकलन हुने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गरेर कुहिने फोहोरबाट जैविक मल उत्पादन गर्ने र पुनः प्रयोगमा आउने सिसा, फलाम र प्लाष्टिकजन्य फोहोरलाई बिक्री वितरण गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा नगरपालिकाले नगरका प्रमुख बजार क्षेत्र सरसफाइ, फोहोर व्यवस्थापन र पार्क सञ्चालनबाट कुल १६ लाख २० हजार ४ सय १५ रुपैयाँ राजस्व संकलन गरेको छ । नगरपालिकाले फोहोर संकलन, व्यवस्थापन र बिक्रीसमेत गरी सरसफाइ शुल्क वापतमात्रै ७ लाख ८ हजार ३ सय ३० रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । नकुहिने तर पुनः प्रयोग गर्न नसकिने फोहोरलाई भने खाल्डोमा पुरी व्यवस्थापन गर्ने गरिन्छ ।
करिब २५ रोपनी क्षेत्रफलमा फैलिएको सरसफाई केन्द्रलाई सुन्दर र दुर्गन्धरहित बनाउन नगरपालिकाले आधुनिक मेसिनको प्रयोग गरी कुहिने वस्तुबाट जैविक मल उत्पादन गर्ने गरेको छ । नगरपालिकाले पार्क प्रबेश शुल्क, बनभोजबाट ३ लाख १७ हजार ६ सय ७५ रुपैयाँ, कवाडी बिक्री वापत ५ लाख ६६ हजार ८ सय ८० रुपैयाँ र अन्य विविध शुल्कबाट २७ हजार ५ सय ३० रुपैयाँ राजश्व उठाएको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले बताए । नगरपालिकाको पर्यटकीय क्षेत्र सुन्दरचौर पार्कबाट ५४ हजार ५० रुपैयाँ राजस्व उठाएको नगरप्रमुख कर्माचार्यले जानाकारी दिए । यहाँ उत्पादन गरिएको जैविक मल पार्कमा फूल गोडमेलमा प्रयोग गरिने कर्माचार्यले बताए ।
सफाइ केन्द्र परिसरमा पर्याप्त मात्रामा वृक्षारोपण पनि गरिएको छ । फोहोर व्यवस्थापन मार्फत स्रोत सिर्जना हुन थालेपछि पछिल्ले समय भीरकोट नगरपालिका हरित अर्थतन्त्रको उदाहरण बन्दै गएको छ । फोहोर व्यवस्थापनसँगै पर्यटन संरचनाबाट राजस्व संकलन, व्यवस्थित प्रशासनिक प्रणाली र निजी क्षेत्रसँगको सहकार्यमा राजश्व वृद्धिमा नगरपालिकाले आन्तरिक छलफल र ध्यान केन्द्रित गरेको छ । पक्की पर्खाल सहितको व्यवस्थित संरचना निर्माण गरिएको सफाइ केन्द्र नजिकै पार्क निर्माण गरिएपछी यसको महत्व बढेको हो ।
सिद्धार्थ राजमार्गबाट नजिकै शान्त र मनोरम वातावरण भएकाले पनि पार्क आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । फोहोरबाट आम्दानी गरेको नगरपालिकाले पर्यटन क्षेत्रको सक्रियता बढाएर राजश्व संकलन गर्ने तयारी गरेको छ । राजश्व संकलनलाई विविधिकरण गरेको भीरकोटले ‘हरित र पर्यटन’ दुवै मोडेलमा देशभर उदाहरण बन्ने अपेक्षा गरेको छ । भीरकोटले हरित अर्थतन्त्रको ढोका खोलेको दाबी गर्दै पर्यटन क्षेत्रबाट पनि आम्दानी बढाउन सक्नेमा स्थानीय विश्वस्त छन् । फोहोरमैला व्यवस्थापनको निम्ती सरसफाई केन्द्रमा १० जना कर्मचारी कार्यरत छन् ।
फोहोरमैला व्यवस्थापन एवं बिक्रीबाट आन्तरिक राजस्वमा समेत टेवा पुगेको छ । उता नगरपालिकाले पर्यटकीय सम्भावना बोकेको स्वरेक मैदान लगायतका क्षेत्रबाट अपेक्षित आम्दानी गर्न सकेको छैन । पोखरापछिको वैकल्पिक प्याराग्लाईडिङ्ग एयरस्पोट्र्सका रुपमा परिचित भीरकोट नगरपालिका–५ स्वरेक मैदानबाट राजश्व शीर्षकमा रकम उठ्न नसकेको नगरपालिकाका योजना शाखा प्रमुख यामप्रसाद रेग्मीले बताए । २०७५ सालमै प्याराग्लाइडिङ्ग प्रतियोगिताको विश्वकप आयोजना भएको स्वरेक मैदानमै दक्षिण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल सञ्चालनमा छ । बालमैत्री नगरपालिका भएकाले पर्यटकीय पूर्वाधारहरु पनि सोही अनुशार विकास गर्ने लक्ष्य लिइएको नगर प्रमुख गोबिन्द कुमार कर्माचार्यले बताए । निवर्तमान नगर प्रमुख छायाराम खनालको परिकल्पना र सक्रियतामा निर्माण भएको पार्क भीरकोटको पहिचान बन्न लागेकोमा नगर प्रमुख कर्माचार्यले खुशी व्यक्त गर्नुभयो । नगरपालिकाले वडा नं १ को बयरघारी, दार्सीङ, हेलु, वडा नं २ को बयरघारी, दहथुम, वडा नं ४ को झारुङखोला, गैह्राथोक, छाङ्गछाङ्गदी तथा वडा नं ५ र ६ को सुन्दरबजार क्षेत्रबाट नियमित रुपमा फोहरमैला संकलन गरिरहेको छ ।











प्रतिक्रिया