सुदूरको कला, संस्कार र संस्कृतिको मौलिक पर्व भुवो

658
Shares

बाजुरा ।

सुदूरपश्चिम र कर्णाली क्षेत्रको मौलिक लोकसंस्कृतिको अमूल्य धरोहरका रूपमा परिचित भुवापर्व हिजोआज विभिन्न जिल्लाका ग्रामीण समाजमा परम्परागतरूपमा मनाइँदै आएको छ । विशेष गरी बाजुरा, अछाम, बझाङ र डोटी जिल्लामा प्रचलित यो पर्वले वीरता, अनुशासन, सामूहिकता र सांस्कृतिक पहिचानलाई जीवन्त बनाउँदै आएको छ ।

इतिहासकार तथा संस्कृतिविद्हरूका अनुसार भुवापर्वको शुरूवात लिखित इतिहासभन्दा निकै पुरानो मानिन्छ । प्राचीनकालदेखि गाउँ–बस्तीको सुरक्षाका लागि युवाहरूलाई तयार पार्ने उद्देश्यले गरिने युद्ध अभ्यास र सैनिक तालिमबाट यो पर्व विकसित भएको विश्वास गरिन्छ । त्यस समय युवाहरूलाई तरबार, ढाल र लाठी प्रयोग गरी अभ्यास गराइन्थ्यो, जसले समयक्रममा सांस्कृतिक नाचको रूप लिँदै भुवा नाच र पछि भुवापर्वका रूपमा स्थापित भयो ।

भुवापर्व मनाउनुको मुख्य उद्देश्य वीरता र आत्मरक्षाको भावना जागृत गर्नु, युवा पुस्तालाई अनुशासित र संगठित बनाउनु तथा समुदायबीच मेलमिलाप र सामाजिक सद्भाव कायम गर्नु हो । पुर्खाले आर्जेको साहस, एकता र आत्मसम्मानलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु पनि यस पर्वको महत्वपूर्ण उद्देश्य मानिन्छ ।
भुवापर्व केवल मनोरञ्जनको साधन मात्र नभई समुदायको सामूहिक चेतना र पहिचानको प्रतीक हो । यस पर्वले समाजमा एकता, सहकार्य र आपसी विश्वासको भावना बढाउनुका साथै लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

आधुनिकता र बसाइँसराइका कारण केही स्थानमा भुवापर्वको अभ्यास कमजोर बन्दै गए पनि पछिल्लो समय स्थानीय तह, विद्यालय तथा सांस्कृतिक संस्थाहरूले यसको संरक्षणमा चासो दिन थालेका छन् । भुवापर्वलाई अमूर्त सांस्कृतिक सम्पदाका रूपमा संरक्षण गर्दै पर्यटनसँग जोड्ने प्रयास पनि हुँदै आएका छन् ।
बाजुरासहित सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाहरुमा भुवापर्वको रौनक छाएको छ । जिल्लामा दशैं–तिहारपछिको ठूलो र विशेष पर्वका रुपमा मनाइने भुवापर्व पौषकृष्ण औंसीबाट विधिवत् रुपमा शुरु गएिको हो ।

पौराणिक कालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो पर्व मनाउने गरिन्छ । पहिलो दिन आफन्तहरू एकठाउँमा जम्मा हुने, रमाइलो गर्ने र राति धुनी जगाउन काठका ठूला–ठूला मुढा बाल्ने तथा राँका ठोसेर पाण्डव र कौरवको लडाइँ र वीर गाथा गाउँदै भुओ नाच हाल्ने प्रचलन रहेको छ ।
तीनदेखि पाँच दिनसम्म मनाइने यो पर्व जिल्लाका विभिन्न ठाउँमा विशेष महत्वका साथ खेल्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरवबीच भएको लडाइँको सम्झनास्वरूप युद्धकलाका हतियार प्रयोग गरी भुवापर्व खेल्ने परम्परा रहेको छ । यस पर्वलाई असत्यमाथि सत्यको विजय भएको दिनको रूपमा पनि लिने गरिन्छ । भुवापर्वको अवधिभर पुरुषहरू हातमा तरबार र खुकुरी लिएर युद्धकलाको प्रदर्शनी गरी आत्मीयता, भाइचारा र सद्भाव बाँड्ने परम्परा छ । संस्कृति र परम्पराको जगेर्ना गर्ने लक्ष्यका साथ मनाइने भुवापर्व सतकर्मको प्राप्ति, आदर–सत्कारको भावना र मनोरञ्जनको विषयका रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बूढापाकाहरु बताउँछन् ।

यस पर्वमा गाउँमा छैट खेल्ने चलन पनि छ । घरको जेठो छोरा जन्मेको एक वर्ष पूरा गरेपछि उसको घरमा गएर छैट माग्ने चलन छ । छैटमा घरको आँगनमा भगवान् श्रीकृष्णको गाथा गाउने, बच्चालाई गाउँका ठूलाबडा मान्यजनले आशिर्वाद दिने र घरको मान्छेले सबै गाउँले बोलाएर भोज गर्ने चलन यस पर्वको अर्को विशेषता हो । अर्को खेल चाली–चालीको पनी छुट्टै विशेषता छ । दायाँ हातमा तरवार र बायाँ हातमा ढाल समाई पञ्चेबाजाको तालमा नाच्ने गरिन्छ । पौराणिक कालमा पाण्डव र कौरवबीच लडाइँ हुँदा एक हातमा तरबार र अर्को हातमा ढाल समाई गरेको सम्झनामा खेल्ने खेल चाली हो ।

यस पर्वको अर्को विशेषता भनेको राँके जुलुस हो । पाण्डव र कौरवको लडाइँमा रातपरेपछि उज्यालोको आवश्यक भएपछि राँको सल्काई लडाइँ शुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँके जुलुस निकाल्ने गरेको स्थानीय वीरबहादुर बुढाले बताए । उनका अनुसार राति ४ बजे राँको सल्काई नजिककै खोलामा गएर नुहाएपछि शरीरको छालासम्बन्धी रोग हराउने र पुसको चिसो रातमा नुहाउँदा मान्छेमा यति धेरै शक्ति रहेछ भनेर राक्षसहरु डराउने हुँदा सबै मान्छेहरु एकैसाथ खोलामा नुहाउने चलन चलेको हो ।

खप्तड क्षेडेदह गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावत भन्छन्, ‘गाउँघरमा भुवापर्वको रौनक पहिले जति हुन्थ्यो अहिले बिस्तारै कम हुँदै गएको छ ।’ उहिले हरेक गाउँमा भुवो हाल्ने गरे पनि अहिले केही ठाउँबाहेक अन्य गाउँमा भने भुवो खोल्ने प्रचलनमा कमी हुँदै गएको उनका भनाइ छ । ‘प्रायः युवायुवतीहरु विदेशिएका कारण गाउँमा जनशक्ति नै छैन, भएका बूढापाकाले संस्कृति जगाएका छन्’, अध्यक्ष रावतको भनाइ छ ।

यस्तै, जिल्लाको बडिमालिका नगरपालिका–७ मा भुओसँगै सो अवसरमा यस वर्षझैँ हरेक वर्ष बृहत् देउडा खोलेर मनाइने गरेको छ । भुवापर्वमा भुओ खोल्ने तथा विभिन्न ठाउँबाट देउडियालाई बोलाएर संस्कृति भल्किने पहिरनसहित घम्साघम्सी देउडासमेत खेल्ने प्रचलन रहेको स्थानीय संस्कृतिप्रेमी हरिचन्द्र पाध्यायको भनाइ छ ।

भुवापर्वको अन्तिम दिन दिउँसो सबै मान्छे भुवा खेल्न जम्मा हुन्छन् । आफूभन्दा ठूलाबाट टीका लगाई आशिर्वाद माग्ने र चाली खेलेर समापन गर्ने गर्दछन् । पुरुषहरूको पर्वका रूपमा लिइने यस पर्वलाई पछिल्लो समयमा महिलाहरूले पनि हातमा तरबार, ढाल लिएर खेल्ने गरेको पाइन्छ । भुवापर्वलाई रमाइलो र महिमाका आधारमा बाजुराबासीले दशैँ–तिहारभन्दा बढी महत्वका साथ मनाउने गर्दछन् । यस अवधिभर मीठोमसिनो पकाएर खाने अनि भगवान् कृष्ण, स्वर्गका राजा इन्द्र र पाण्डवको गौरव गाथा गाउने प्रचलन रहेको छ ।

जिल्लावासीको पहिचानसँग जोडिएको पर्व अवधिभर अधिकांश विद्यालय आधा दिन बन्द गर्छन् । यस वर्ष पनि गत आइतबार बाजुराका तीनवटा नगरपालिकाले स्थानीय बिदा दिएका थिए । सार्वजनिक बिदा दिनेमा बडिमालिका, बूढीगंगा र त्रिवेणी नगरपालिका हुन् । पञ्चेबाजाका साथ खेलिने भुवापर्व बाजुरालगायत सुदूरपश्चिमका अछाम, डोटी, बझाङलगायतका जिल्लामा मनाउने प्रचलन रहेको छ । भस्सी जात्रा भस्सो अथवा भुवापर्व पश्चिम नेपालको बाजुरा, बझाङ, दार्चुलासहित भारतको उत्तराखण्डलगायतका क्षेत्रमा धार्मिक एवं सांस्कृतिक पर्वका रुपमा हरेक वर्ष पुसको औंसीका अवसरमा मनाइने गरिन्छ ।

त्यस्तै पछिल्लो समय पहाडी जिल्लाबाट तराईतिर बसाइँ सराइ गर्ने क्रम बढेसँगै यो पर्वको रौनक कैलाली र कञ्चनपुरसहित तराईका जिल्लाहरुमा पनि निकै बढेको छ । परम्परा, कला र संस्कृतिको पहिचान एवं जगेर्ना गर्ने उद्देश्यका साथ काठमाडौं, धनगढी, महेन्द्रनगरलगायत शहरी क्षेत्रमा पहाडी जिल्लाको मौलिकता झल्किने गरी भुवा नाच र देउडा खेलको विशेष आयोजना गरिँदै आएको छ ।
भुवापर्व सुदूरपश्चिम र कर्णाली क्षेत्रको गौरवपूर्ण सांस्कृतिक पहिचान हो । यसलाई जगेर्ना गर्नु केवल एक समुदायको होइन, राष्ट्रको समेत सांस्कृतिक जिम्मेवारी हो ।