द ब्रिटिस कलेजको चरम लापरबाही : विद्यार्थीलाई धोका दिएपछि आन्दोलन, कलेज तोडफोड

पीडित विद्यार्थी भन्छन्ः हामी पढ्दैनौं, शुल्क फिर्ता होस्

3.29k
Shares

–खारेज भएको कोर्समा पढाउँदै कलेज

–कलेज सञ्चालक कँडेल भन्नुहुन्छ : दर्जनौं पढिरहेका छन्, केही विद्यार्थीले विरोध गरेका हुन्

काठमाडौँ।

द ब्रिटिस कलेजमा विद्यार्थी र सञ्चालकबीच लफडाका कारण कलेज तोडफोड भएको छ । प्रतिविद्यार्थी ६ लाख रुपियाँ शुल्क लिएर यूएईको सामान्य होटलमा इन्टर्नसिप गर्न लगाएको एकेडेमिक कोर्सको नाममा प्रमाणपत्र बेचबिखन गरेको आरोप विद्यार्थीको छ ।

दुई वर्ष पढाउँछु भनेर ६ लाख रुपियाँ लिएर ६ महिनामै छोडिदिएको उनीहरूको आरोप छ । नेपाल समाचारपत्रसँग सम्पर्कमा आएका विद्यार्थीले नाम उल्लेख गरे जेपनि हुनसक्ने धम्कीबाट बच्दै नाम उल्लेख नगरीकनै समाचार लेखिदिन आग्रह गरेका थिए । पीडित विद्यार्थीहरूले भने– ‘सञ्चालकसँग पटकपटक कुरा गर्न खोजेका थियौं, भेट हुँदा हामीमाथि धम्की दिन थालियो । कहिले सीआईबीको नाम उल्लेख गरेर त कहिले प्रहरी हौं भन्दै फरकफरक नामबाट फोन गरेर हामीलाई धम्की दिन थालियो ।’ स्रोतका अनुसार कलेजले ब्रिटिस कलेजमा भनेर भर्ना लिने तर, विद्यार्थीलाई अरू नै कलेजमा पठाएको उनीहरूको आरोप छ । कलेजका सञ्चालक महेन्द्र कँडेलले केही विद्यार्थीका कारण समस्या परेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले यूएईमा इन्टर्नको व्यवस्था गरेका थियौं । केही विद्यार्थीले केही दिन पढेपछि कलेजको बदनाम गर्न थालेका थिए ।’

उहाँले अझै पनि कलेजले पठाएको कलेजमा दर्जनांै विद्यार्थी अध्ययनरत रहेको बताउनुभयो । उहाँले यस विषयमा कलेज निर्दोष रहेको दाबी गर्न खोज्नुभयो । तर, मान्यता नै नपाएको कोर्समा पठनपाठन गरेको आरोप कलेजमाथि छ । हानथाप गरेर भर्ना गराउने र शुल्क धेरै लिएर विद्यार्थीको ढाड सेक्नेमाथि सरकारले कुनै कारबाही गर्न सकेको छैन । सरकारले यस्ता कलेजलाई सहजै सम्बन्धन दिने र लुटधन्दा चलाउन खुलेआम लाइसेन्स दिने गरेको छ आरोप विद्यार्थीको छ । सरकारी संयन्त्रकै कमजोरीका कारण पनि धेरै कलेज सञ्चालन भएका छन् । त्यसैले गर्दा शिक्षामा गुणस्तर खस्किँदै गएको छ र विद्यार्थीको भविष्यमाथि पनि खेलबाड भएको छ ।

सरकारले यस्ता कलेजहरूलाई अंकुश लगाएर शिक्षालाई व्यापार बनाउनेलाई कडा कारबाही गर्दै शिक्षालाई सहज, सरल र पहुँचयोग्य बनायो भनेमात्र शिक्षामा लुटधन्दा रोकिने विद्यार्थीको भनाइ छ । उच्च स्रोतका अनुसार कलेजले शिक्षा मन्त्रालयबाट एकवर्षे फाउन्डेसन तीनवर्षे बीएस्सी अनर्स हस्पिटालिटी बिजनेस म्यानेजमेन्ट विषयमा ननप्राक्टिकलको अनुमति लिएको थियो । सो कार्यक्रम हाल खारेज भइसकेको छ ।

सो कलेजले ६ वर्षअघि अर्थात् ०७६ साल असोजमा अनुमति लिएको थियो । खारेज भइरहेको एकवर्षे फाउन्डेसनका आधारमा विद्यार्थी भर्ना गरेर एकवर्ष नेपालमा पढाएर यूएई पठाएर पर्सन (बीटीईसी) हाइयर नेसनल डिप्लोमा इन हस्पिटालिटी एनड टुरिजम कोर्समा भर्ना गरेको पाइएको छ ।

अर्कोतर्फ पर्सन (बीटीईसी) प्रोफेसनल प्रोग्राम हो एकेडेमिक होइन । ३ वर्षे स्नातक प्रोग्रामलाई ४ वर्ष बनाएर पढाएको हाल त्रिविले समेत तीनवर्षको समकक्षता प्रदान गरेको छ । एकवर्षे स्नातकोत्तर प्रोग्रामलाई दुईवर्षे बनाएर पढाएको सो विषयलाई २ वर्षको मात्र समकक्षता प्रदान गरेको छ ।

स्रोतका अनुसार सो कोर्समा जब ग्यारेन्टी गरेको थियो तर अहिले त्यसअनुसार भएन । फिर्ता आएका विद्यार्थीले कलेजको बदमासीको उजागर गरेपछि समस्या बढेको छ । करिब महिना दिनदेखि आफ्नो मागको सुनुवाइ नभएपछि पीडित विद्यार्थीले हिजो मंगलवार कलेज तोडफोड गरेका छन् । कलेज सञ्चालक कँडेलसँग भेट गर्न आग्रह गर्दा बेवास्ता गरेपछि विद्यार्थीले तोडफोड गरेका हुन् ।

कलेजको ज्यादतीको विरोधमा अनेरास्ववियु क्रान्तिकारी विदेशी विश्वविद्यालय राष्ट्रिय समितिले विज्ञप्ति जारी गरी पीडित विद्यार्थीको तत्काल माग सम्बोधन गर्न चेतावनी दिएको छ । द ब्रिटिस कलेज र द विलविच इन्टिच्युटसँग आबद्ध शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेका गम्भीर समस्या, शैक्षिक भ्रम, उपभोक्ता अधिकार हनन तथा अनैतिक अभ्यासप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल बीएस्सी अनर्स हस्पिटालिटी बिजनेस मेनेजमेन्ट लेभल ३ र४ मा अध्यनरत विद्यार्थीलाई इन्टर्नसिपको नाममा सबै जिम्मा लिन्छांै भनी यूएई पढ्न पठाएर अलपत्र पारेर विद्यार्थीलाई लेबर काम गर्न बाध्य बनाएकोमा आपत्ति जनाएको छ ।

‘विद्यार्थीहरूलाई बीएस्सी अनर्स हस्पिटालिटी बिजनेस मेनेजमेन्टको नाममा भर्ना गराई वास्तविकतामा फाउन्डेसन डिप्लोमा पाथवेमा धकेलिनु, कार्यक्रमको वास्तविक संरचना, शुल्क, लेभल ६ टपअप मार्ग र यूएई संस्थाको हैसियत तथा इतिहास लुकाइनु र भ्रामक मार्केटिङ गर्नु गम्भीर शैक्षिक अपराध हो भन्ने हाम्रो बुझाइ छ’ –विज्ञप्तिमा भनिएको छ ।

एक जना शिक्षकबाट १५ भन्दा बढी युनिट पढाइनु, न्यून भौतिक संरचना, गुणस्तरहीन अध्यापन, अस्पष्ट परीक्षा प्रणाली, कार्यक्रम संयोजकको गैरजिम्मेवारी, विद्यार्थीको अपेक्षा र वास्तविकताबीच ठूलो अन्तर, इन्टर्नसिपको नाममा डमीजस्ता गतिविधिबाट विद्यार्थीलाई वैदेशिक कानुनी जोखिममा पारिनु अत्यन्त निन्दनीय कार्य हो । यसले विद्यार्थीको शैक्षिक भविष्य, समय, श्रम र आर्थिक लगानीमाथि ठाडो प्रहार गरेको छ ।

यी सम्पूर्ण कार्यहरू नेपालको उपभोक्ता संरक्षण ऐन, २०७५ विद्यार्थीको जानकारी पाउने अधिकार, गुणस्तरीय शिक्षा पाउने अधिकार तथा सुरक्षित शैक्षिक वातावरणको मौलिक हकविरुद्ध स्पष्ट उल्लंघन हो । विशेषगरी लामो शैक्षिक ग्याप भएका विद्यार्थीलाई लक्षित गरी भ्रममा पार्नु शोषणको पराकाष्ठा भएको आरोप छ ।
यसैबीच नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंस्थित दी ब्रिटिश कलेजमा अध्ययनरत् विद्यार्थीहरूले चर्को शुल्क र नन–एक्रिडेटेड डिग्रीको विषयमा आन्दोलन गरिरहेको बेला कलेज प्रशासनले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको आरोप लगाएको छ ।
विद्यार्थीहरूबाट प्राप्त गुनासोका आधारमा सत्यतथ्य बुझ्न कलेज पुगेको अनेरास्ववियु नेतृत्वमाथि कलेज प्रशासनले ‘बाउन्सर’ र प्रहरी प्रयोग गरी शान्तिपूर्ण वातावरण बिथोल्ने प्रयास गरेको अध्यक्ष दीपक धामीले बताउनुभयो ।
धामीद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘विद्यार्थीहरूको जायज माग सम्बोधन गर्नुको सट्टा भाडाका सिपाही प्रयोग गरी आन्दोलन दमन गर्नु, अनेरास्ववियुका अध्यक्षसहित केन्द्रीय नेतृत्व र सम्पूर्ण विद्यार्थीहरूमाथि धरपकड, बल प्रयोग तथा दुव्र्यवहार गर्नु किमार्थ स्वीकार्य छैन ।’

आइतबारभित्र छानबिन समितिले प्रतिवेदन बुझाउँदै

काठमाडौं।

द ब्रिटिस कलेजमा भएको आन्दोलनको विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्न्त्रालयले छानबिन समिति बनाएको छ । समितिले आइतबारसम्ममा प्रतिवेदन बुझाउने भएको छ । शिक्षा सचिव चूडामणि पौडेलले छानबिन समितिको प्रतिवेदन चाँडै बुझाउन निर्देशन दिनुभएको थियो । सोही आधारमा प्रतिवेदन तयार गरिरहेको मन्त्रालय उच्चशिक्षा शाखाका प्रमुख उपसचिव परशुराम तिवारीले बताउनुभयो ।

उहाँका अनुसार करिब आधा दर्जनले मात्र उजुरी दिएका छन् । सोही आधारमा मन्त्रालयले कलेजको पठनपाठनलगायत सबै विषयमा अध्ययन गर्ने तयारी गरेको छ । संयोजक तिवारीले आइतबारसम्ममा प्रतिवेदन बुझाइसक्ने जानकारी दिनुभयो ।