दोर्दीमा पहिलो खेलकुद, कृषि, पर्यटन र सांस्कृतिक महोत्सव

940
Shares

 लमजुङ। 

लमजुङको दोर्दी गाउँपालिकामा प्रथम खेलकुद, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव  भएको छ। गाउँपालिकाको पर्यटन प्रवर्द्धन, आन्तरिक व्यापार विस्तार, खेलकुद विकास र लोककला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले पहिलो पटक महोत्सव आयोजना गरिएको  हो ।

 बिहीबारसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन महोत्सव मूल समारोह समितिका संयोजक तथा दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकरीले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले खेलकुदमार्फत युवालाई जोड्दै विभिन्न जातजाति र समुदायका कला संस्कृतिको संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र आर्थिक गतिविधि चलायमान बनाउन महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले स्थानीय तहको दायित्व ठूलो रहेको उल्लेख गर्दै दोर्दी गाउँपालिकाले सुरु गरेको महोत्सवलाई व्यवस्थित बनाउँदै निरन्तरता दिनुपर्ने धारण राखे ।

कार्यक्रममा गाउँपालिकाका पूर्व उपाध्यक्ष तथा नेकपा एमाले दोर्दी पालिका कमिटी अध्यक्ष दीलबहादुर घले, नेपाली कांग्रेसका पालिका उपाध्यक्ष यमबहादुर तामाङ, रास्वपा जिल्ला सचिव रमा खड्का, नेकपा दोर्दी पालिका कमिटी अध्यक्ष ओमबहादुर गुरुङ, लमजुङ उद्योग वाणिज्य संघका कोषाध्यक्ष भरतबहादुर विष्ट, दोर्दी इकाई अध्यक्ष डिल्लीराम भारती लगायतले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए।

उद्घाटन कार्यक्रममा सुरक्षा निकायका प्रमुख, वडाध्यक्ष, वडासदस्य, आमा समूह, बाबा समूह, विभिन्न क्लब र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो। गाउँपालिका रोजगार संयोजक धर्म गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए  भने उपाध्यक्ष विच्छबहादुर घलेले स्वागत मन्तव्य राखेका थिए।

सांस्कृतिक प्रस्तुतिअन्तर्गत गाउँपालिकाका कर्मचारीले स्वागत नृत्य प्रस्तुत गरेका थिए। त्यसैगरी बन्सार माझगाउँ आमा समूहको नृत्य, ढोडेनी बालुन समूहको बालुन, तल्लो पाँचोकको मारुनी नृत्य, श्रीमञ्ज्याङको सेर्का नाच तथा कलाकार रेशम गुरुङ समूहले मौलिक नृत्य प्रस्तुत गरेका थिए। प्राविधिक मनोज यादवको गायन प्रस्तुति पनि रहेको थियो।

महोत्सवको पहिलो दिन कृषि प्रदर्शनीअन्तर्गत अकबरे खुर्सानी, गोलभेंडा, कागती, पिडालु, भूइँकटहर लगायत रैथाने उत्पादन तथा कुखुरा, खसी, बोका र भैँसी प्रदर्शन गरिएको थियो। महोत्सवको अवसरमा उत्कृष्ट कृषकलाई सम्मान गर्नुका साथै आमा समूहहरूको खुला नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ।

औपचारिक उद्घाटनअघि जातीय भेसभुसा, सांस्कृतिक झाँकी र बाजागाजासहित र्‍याली निकालिएको थियो, जसले महोत्सवको माहौल थप उत्सवमय बनाएको थियो।