हेटौंडा ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ पूर्वसांसद दीपकबहादुर सिंहको उम्मेद्वारी औपचारिकरुपमा पक्का गरेको छ ।
पार्टीको केन्द्रीय निर्णय तथा जिल्ला कार्यसमितिको सिफारिसअनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवैतर्फका उम्मेद्वारहरुको नामावली सिफारिस गरिएको राप्रपाले जनाएको छ । यसपटक गत निर्वाचनभन्दा अझ सबल, सक्षम र जनअपेक्षाअनुसारका उम्मेद्वारहरु मैदानमा उतारिएको पार्टीको दाबी छ ।
पार्टीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर–१ मा प्रत्यक्षतर्फ सिंहलाई उम्मेद्वार बनाइएको छ भने समानुपातिकतर्फ विभिन्न समूहअन्तर्गत उम्मेद्वारहरुको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ सिफारिस गरिएको नामावलीमा खस-आर्यतर्फ उमेश थापा र नवराज थपलिया, आदिवासी-जनजातितर्फ अरुण लामा, मनोजकुमार मोक्तान र बालकृष्ण श्रेष्ठ, जनजाति महिलातर्फ सरस्वतीकुमारी घिमिरे, मनिषा स्यांतान, महिलातर्फ हीराकुमारी भट्ट र हीरा चौंरेल छन् । दलिततर्फ सन्देश परियार र विष्णु सुनार तथा उत्पीडित तथा पिछडिएको वर्गतर्फ युवराज प्रजा छन् ।
उम्मेद्वारी घोषणापछि पूर्वसांसद सिंहले यसपटक निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरे । उनले भने–मकवानपुरका जनताले विगतमा दिएको माया, विश्वास र समर्थनको कदर गर्दै यसपटक जसरी भए पनि बहुमत ल्याएर विजय हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । जनताको हक, अधिकार र पहिचानका लागि सदनदेखि सडकसम्म संघर्ष जारी रहनेछ । उनले मुलुकमा व्याप्त राजनीतिक अस्थिरता, भ्रष्टाचार र कुशासन अन्त्यका लागि राप्रपाको बैकल्पिक शक्ति आवश्यक रहेको उल्लेख गर्दै क्षेत्र नम्बर–१ का जनताले आफूलाई पुनः अवसर दिने विश्वास व्यक्त गरे ।
मकवानपुर–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार सिंह प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । उनी सूर्य चुनावचिह्न लिएर लडेका राप्रपा नेपाल अध्यक्ष कमल थापा र गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेद्वार महालक्ष्मी उपाध्याय डीनालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका थिए । राप्रपाका केन्द्रीय सदस्य सिंहले २७ हजार ८ सय १६ मत पाएका थिए । कांग्रेस उम्मद्ेवार उपाध्यायले २५ हजार ४ सय ३४ र राप्रपा नेपाल अध्यक्ष थापाले २५ हजार ४ सय २० मत प्राप्त गरेका थिए ।
२४ वर्ष उमेरमा नेपाल राष्ट्रिय युवा संघ केन्द्रीय अध्यक्षबाट शुरु भएको सिंहको राजनीतिकयात्रा अनवरत् चलिरहेको छ । बहुदलीय व्यवस्था पुनस्र्थापनापछि मकवानपुरमा कम्युनिष्टको प्रभाव बढ्दै गयो भने राप्रपा खुम्चिँदै गयो । २०५१ सालको निर्वाचनमा राप्रपाबाट कमल थापा निर्वाचित भएका थिए । त्यसपछिका निर्वाचन राप्रपा र सिंहका लागि सुखद् भएन ।
राप्रपा मकवानपुरले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा निर्वाचन तयारीलाई तीव्र बनाएको जनाएको छ । पार्टी नेतृत्वका अनुसार जनताको चाहना र भावनालाई प्रतिनिधित्व गर्ने उम्मेद्वारहरुलाई अघि सारेर निर्वाचनमा सशक्त उपस्थिति जनाइनेछ ।











प्रतिक्रिया