बंगलादेशमा शेख हसिना विरोधी नेतामाथि फेरि गोली प्रहार, राजनीतिक तनाव थप चर्कियो


काठमाडौँ। 

बंगलादेशमा शेख हसिना विरोधी धारका नेतामाथि फेरि सशस्त्र आक्रमण भएको छ। राष्ट्रिय नागरिक पार्टी (एनसीपी) का नेता मोहम्मद मोतालेब सिकदरमाथि सोमबार दिउँसो खुलनास्थित आफ्नै घरभित्र घुसेर अज्ञात समूहले गोली प्रहार गरेको बंगलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

दिउँसो करिब १२ बजे भएको आक्रमणमा सिकदरको टाउकोमा सिधै गोली हानिएको थियो। गोली कानको एक छेउबाट पसेर छाला छेड्दै अर्को छेउबाट निस्किएको प्रहरीको प्रारम्भिक विवरण छ। उनी गम्भीर घाइते अवस्थामा ढलेपछि स्थानीयले तत्काल उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल पुर्‍याएका थिए। हाल उनको उपचार जारी छ।

प्रहरीका अनुसार प्रारम्भमा उनको अवस्था चिन्ताजनक थियो। तर गोली मस्तिष्कमा नपुगेकाले ज्यान जोगिएको खुलना प्रहरीले जनाएको छ। प्रहरी अधिकृत अनिमेश मण्डलले “गोली केही इन्च तल वा भित्र लागेको भए अवस्था झन् गम्भीर हुन सक्थ्यो,” भन्दै यो घटनालाई ‘भाग्यवश बाँचिएको’ आक्रमणका रूपमा वर्णन गरेका छन्।

मोतालेब सिकदर एनसीपीको खुलना डिभिजन प्रमुख हुनुका साथै पार्टीसम्बद्ध श्रमिक संगठन ‘एनसीपी श्रमिक शक्ति’ का संयोजक हुन्। उनी खुलनामा आयोजना गर्न लागिएको श्रमिक र्‍यालीको तयारीमा सक्रिय थिए। यही पृष्ठभूमिमा भएको आक्रमणले राजनीतिक उद्देश्यको आशंका बलियो बनेको छ।

घटनापछि खुलना क्षेत्रमा सुरक्षा कडा पारिएको छ। आक्रमणकारीहरू फरार रहेकाले प्रहरीले सम्भावित स्थानहरूमा खोजी अभियान सुरु गरेको जनाएको छ। आक्रमणको उद्देश्य, संलग्न समूह र सम्भावित राजनीतिक सम्बन्धबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो आक्रमण केही दिनअघि ढाकामा विद्यार्थी नेता शरीफ उस्मान हादीको गोली हानी हत्या भएपछि उत्पन्न तनावकै बीच भएको हो। हादीमाथि डिसेम्बर १२ मा मस्जिदबाट बाहिर निस्कने क्रममा नकाबधारी समूहले गोली प्रहार गरेका थिए। गम्भीर घाइते उनलाई उपचारका लागि हेलिकप्टरमार्फत सिंगापुर लगिएको थियो, जहाँ डिसेम्बर १८ मा उनको मृत्यु भयो।

हादी ढाका विश्वविद्यालयसँग आबद्ध विद्यार्थी संगठन ‘इन्किलाब मञ्च’ का संस्थापक थिए। उनको मृत्युपछि राजधानी ढाकासहित विभिन्न क्षेत्रमा विरोध प्रदर्शन, झडप र हिंसात्मक घटनाहरू भएका थिए।

एनसीपी गत वर्ष बंगलादेशमा शेख हसिनाको शासनविरुद्ध सुरु भएको विद्यार्थी आन्दोलनबाट जन्मिएको राजनीतिक शक्ति हो, जसले अन्ततः हसिनाको सत्ता पतनमा निर्णायक भूमिका खेलेको थियो। पछिल्ला दिनहरूमा एनसीपी र त्यससँग आबद्ध नेताहरू लक्षित आक्रमणहरू बढ्दै गएपछि बंगलादेश पुनः राजनीतिक अस्थिरताको चपेटामा पर्ने आशंका बढ्न थालेको छ।