ऋण तिर्न नसक्दा श्रृंखलाबद्ध हत्या : जेठानसहित दुई जनाको ज्यान लिने दुई पक्राउ


काठमाडौँ।

श्रीमतीलाई वैदेशिक रोजगारीमा पठाउन लिएको ऋण तिर्न नसक्दा ललितपुरमा दुई जनाको श्रृंखलाबद्ध हत्या भएको खुलासा भएको छ। उक्त घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत मंसिर २३ गते ललितपुर महानगरपालिका–८ शेरेफाँटमा सिन्धुली गोलन्जोर गाउँपालिका–३ का केशवराज हायुको हत्या भएको थियो। घटनापछि अनुसन्धान थालेको प्रहरीले भोलिपल्टै घटेको अर्को हत्या घटनासँग पनि सोही समूह संलग्न रहेको निष्कर्ष निकालेको हो।

मंसिर २४ गते भोजपुर अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरी भञ्ज्याङमा मृत अवस्थामा फेला परेका थिए। अपराध अनुसन्धान कार्यालयका अनुसार हायु र राईको हत्या एउटै व्यक्ति र एउटै कारणबाट गरिएको हो।

प्रहरीका अनुसार पत्नीलाई जापान पठाउनका लागि ऋण लिएका देवराज ढुंगेलले ऋण तिर्न नसक्दा आफ्नै जेठान नाता पर्ने हायुको हत्या गरेका हुन्। सिन्धुली सुनकोशी गाउँपालिका–४ का २१ वर्षीय ढुंगेलले आफ्ना साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर दुवै जनाको हत्या गरेका थिए।

ढुंगेलले हायु र राई दुवैसँग ऋण लिएको खुलेको छ। पहिलो हत्या सफल भएपछि ऋण लिएका व्यक्तिहरूलाई क्रमशः मार्ने योजना बनाएको बयान उनले प्रहरीसमक्ष दिएका छन्।

दुवै हत्या धारिलो हतियार प्रयोग गरी टाउकोमा प्रहार गरेर गरिएको प्रहरीले जनाएको छ। हायुको शव पुस २ गते फेला परेको थियो।