नेताको हत्यापछि बाङ्ग्लादेशमा आगजनी र प्रदर्शन, राजधानी तनावग्रस्त


काठमाडौँ।

बाङ्ग्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गराउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि बाङ्ग्लादेशमा हिंसात्मक प्रदर्शन चर्किएको छ।

युवा नेता शरिफ ओस्मान हादीलाई गत साता ढाकाको एक मस्जिदबाट बाहिर निस्किने क्रममा नकाबधारी समूहले गोली प्रहार गरेको थियो। गम्भीर घाइते भएका हादीको बिहीवार सिङ्गापुरमा उपचारका क्रममा मृत्यु भएको हो।

सन् २०२४ को जनआन्दोलनपछि बाङ्ग्लादेशी अधिकारीहरूले पहिलो पटक निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट नै हादीमाथि आक्रमण भएको थियो। उनी आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने तयारीमा थिए।

हादीको मृत्युको खबर सार्वजनिक हुनासाथ उनका सयौँ समर्थकहरू राजधानी ढाकाको एक प्रमुख चोकमा भेला भई विरोध प्रदर्शनमा उत्रिए। प्रदर्शन चर्किँदै जाँदा उनीहरूले अग्रणी सञ्चारमाध्यम द डेली स्टार र प्रोथोम अलीका कार्यालयमा तोडफोड गरे, जसमा एउटा भवनमा आगजनीसमेत गरिएको थियो।

एक प्रहरी अधिकारीले बीबीसी बाङ्ग्लालाई बताएअनुसार घटनास्थलमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका थिए। स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको थियो भने अग्निनियन्त्रकहरूले भवनभित्र फसेका पत्रकारहरूको उद्धार गरेका थिए।

३२ वर्षीय हादी विद्यार्थी नेतृत्वको आन्दोलनकारी समूह ‘इन्कलाब मञ्च’ का वरिष्ठ नेता थिए। उनी भारतका कटु आलोचकसमेत मानिन्थे। पूर्वप्रधानमन्त्री हसिना हाल भारतमा स्व–निर्वासनमा छिन्।

हादीको निधनप्रति बाङ्ग्लादेशका विभिन्न राजनीतिक दलहरूले शोक व्यक्त गर्दै अन्तरिम सरकारलाई दोषीलाई छिटो कारबाही गर्न माग गरेका छन्।

नोबेल पुरस्कार विजेता तथा अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले हादीको मृत्यु देशका लागि “अपूरणीय क्षति” भएको बताएका छन्। बिहीवार टेलिभिजनमार्फत सम्बोधन गर्दै उनले भने, “प्रजातन्त्रतर्फ अघि बढिरहेको देशको यात्रालाई डर, आतङ्क र रक्तपातले रोक्न सक्दैन।”

अन्तरिम सरकारले शनिवार राष्ट्रिय शोक घोषणा गरेको छ। युनुसले यस घटनालाई पूर्वनियोजित हमला बताउँदै निर्वाचन प्रक्रिया बिथोल्ने षड्यन्त्र भएको आरोप लगाएका छन्।

घटनाको अनुसन्धान जारी रहेको छ र आक्रमणसँग सम्बन्धित आशङ्कामा कयौँ व्यक्तिहरूलाई हिरासतमा लिइएको छ।

पूर्वप्रधानमन्त्री हसिना गत वर्ष अगस्ट ५ मा भारत पलायन भएकी थिइन्। नोभेम्बरमा उनलाई मानवताविरुद्धको अपराधमा मृत्युदण्डको सजाय सुनाइएको थियो। उनी प्रदर्शनकारीहरूविरुद्ध घातक बल प्रयोग गर्न अनुमति दिएको मुद्दामा दोषी ठहरिएकी थिइन्। प्रदर्शनका क्रममा १४ सय मानिसको ज्यान गएको थियो। बीबीसी