लन्डन ।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले ब्राजिलियन क्लब फ्लामेङ्गोलाई रोमाञ्चक खेलमा पराजित गर्दै फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि जितेको छ ।
बुधबार राति कतारको लुसैल स्टेडियममा भएको फाइनल भिडन्तमा पिएसजीले दक्षिण अमेरिकी च्याम्पियन फ्लामेङ्गोलाई पेनाल्टी सुटआउटमा २–१ ले हराएको हो ।
निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा पिएसजीका वैकल्पिक गोलकिपर मत्वेई सफोनोभ नायक बने ।
उनले फ्लामेङ्गोका साउल निगुएज, पेड्रो, लियो पेरेइरा र लुइज अराजोका लगातार चार प्रहार बचाउँदै टोलीको जित सुनिश्चित गरे । पिएसजीका लागि भिटिन्हा र नुनो मेन्डेसले गोल गरेपछि टोली ऐतिहासिक जिततर्फ अग्रसर भएको थियो ।
सअघि खेलको ३८औँ मिनेटमा जर्जियाली फरवार्ड खभिचा क्वारात्स्खेलियाले डेसिरे डुएको सटिक क्रसलाई गोलमा परिणत गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
तर, ६२औँ मिनेटमा पिएसजीका कप्तान मार्किन्होसले डि–बक्सभित्र फाउल गरेपछि फ्लामेङ्गोले पेनाल्टीको अवसर पायो । जसमा जर्जिन्होले कुनै गल्ती नगरी खेललाई १–१ को बराबरीमा ल्याए ।
टोलीका मुख्य खेलाडी उस्मान डेम्बेलेलाई प्रशिक्षकले खेलको अन्तिम १२ मिनेटमा मात्र मैदान प्रवेश गराएका थिए । डेम्बेलेको आगमनसँगै पिएसजीले फ्लामेङ्गोमाथि दवाब बढाए पनि विपक्षी गोलकिपर अगस्टिन रोसीले उत्कृष्ट बचाउ गर्दै खेललाई पेनाल्टीसम्म पु¥याएका थिए ।
शनिबार लिग वानमा मेत्जविरुद्धको जितपछि केही मुख्य खेलाडीलाई विश्राम दिएको पिएसजीले अन्ततः सफोनोभको जादुमयी प्रदर्शनको मद्दतमा विश्व क्लब फुटबलको प्रतिष्ठित ट्रफी उचाल्न सफल भयो ।
वर्षको छैटो उपाधि
यो पिएसजीको सन् २०२५ मा छैटौं उपाधि हो । पीएसजीका लागि पछिल्ला १२ महिना अत्यन्त सफल बनेको छ । फ्रेन्च क्लबले यसअघि ट्रोफे दे च्याम्पियन्स, फ्रेन्च लिग, फ्रेन्च कप, च्याम्पियन्स लिग र युएफा सुपर कप जितिसकेको थियो । युएफा सुपर कप पनि अगस्टमा टोटनह्यामविरुद्ध पेनाल्टीमार्फत जितेको थियो ।











प्रतिक्रिया