काठमाडौं ।
पर्वतको कुश्मास्थित कारागार कार्यालयमा भान्साघर ब्लक निर्माण गर्दा लाखौं रकम भ्रष्टाचार गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानले सो स्थिति बाहिर आएको हो । सो कार्यमा कारागार कार्यालयका प्रमुख शिला श्रेष्ठ, सघन सहरी तथा भवन निर्माण आयोजना बाग्लुङका इन्जिनियर विकास अधिकारी, कारागारका नासु हरिकृष्ण शर्मा, सहलेखापाल सुभास घर्ती र मोदीकाली कन्स्ट्रक्सन मोदी–६, का प्रोपाइटर प्रदीप तिमिल्सिना संलग्न भएको अख्तियारले जनाएको छ ।
तिनीहरूविरुद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७८÷०७९ मा कारागारको भान्साघर ब्लक निर्माण प्रक्रिया अघि बढाइएको थियो । त्यसका लागि ६३ लाख ७२ हजार ३ सय ९४ रुपियाँ लागत लाग्ने अनुमान गरी ठेक्का आह्वान गरिएकोमा सौर्य किरण कन्स्ट्रक्सनले ४२ लाख १६ हजार ६ सय ५८ रुपियाँमा काम गर्नेगरी बोलपत्र पेस गरेको थियो । तर, उनीहरूको मिलेमतोमा सौर्यसहित अन्य कम्पनीलाई पन्छाई सबैभन्दा बढी अर्थात् ६२ लाख ७१ हजार १ सय ६१ रुपियाँ कबोल गर्ने मोदीकाली कन्स्ट्रक्सनलाई ठेक्का दिइएको अख्तियारको ठहर छ ।
आयोगका सहायक प्रवक्ता अधिकारीले सबै जना प्रतिवादीविरुद्ध जनही २१ लाख ५५ हजार ७ सय ३५ रुपियाँ बिगो कायम गरिएको जनाउनुभयो ।











प्रतिक्रिया