–पुस्तक लेखक निर्देशक घिमिरे भन्नुहुन्छ : मेरो संलग्नता छैन, निजी प्रकाशनलाई कारबाही गर्छु
काठमाडौं ।
पाठ्यक्रम विकास केन्द्रका निर्देशक पुरुषोत्तम घिमिरे कानुनविपरीत निजी पब्लिकेसनको पाठ्यपुस्तकको सहलेखक भएको खुलेको छ । स्रोतका अनुसार पाठ्यक्रम विकास केन्द्रमा कार्यरत कर्मचारीलाई निजी प्रकाशन गृहको पुस्तक लेख्न बन्देज गरेको अवस्थामा घिमिरेले बुद्ध पब्लिकेसनको दुईवटा किताबको सहलेखन गर्नुभएको पाइएको छ ।
केन्द्रका सूचना अधिकारीसमेत रहनुभएका घिमिरे कक्षा २ र ३ को बुद्ध रमाइलो नेपाली पुस्तकको सहलेखक रहेको खुलेको हो । यस विषयमा नेपाल समाचारपत्रले घिमिरेसँग जिज्ञासा राख्दा उहाँले आफू सो पब्लिकेसनको सहलेखक नभएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘केही वर्ष पहिले कक्षा १ को लेखक थिएँ । अहिले कुनै तहको पुस्तकको सहलेखनमा मेरो आबद्धता छैन ।’ उहाँले सो पब्लिकेसनले दुई पुस्तकको सहलेखकको नाममा आफ्नो नाम उल्लेख गरेकोमा आपत्ति जनाउँदै उहाँले भन्नुभयो– ‘सो पब्लिकेसनसँग मेरो कुनै सम्बन्ध छैन । हटिसकेको छु । तपाईंले जानकारी दिनुभयो, तत्काल नाम हटाउन लगाउनेछु ।’
पाठ्यक्रम तथा पाठ्यपुस्तक विकास तथा वितरण निर्देशिका, २०७९ को दफा १४ उपदफा (२) ले पाठ्यक्रम तथा पाठ्यसामग्रीको मूल्यांकन गर्दा सम्बन्धित सामग्री लेखन कार्यमा सहभागी नभएका सम्बन्धित विषयका विज्ञबाट गराइने छ भन्ने व्यवस्था छ ।
सो व्यवस्थाविपरीत केन्द्रका कर्मचारीले पाठ्यपुस्तक लेखन कार्यमा संलग्न भएका छन् । सो पुस्तकमा घिमिरे, हरिहर तिमल्सिना र सुवासचन्द्र भण्डारी छन् । निर्देशक घिमिरेले केही वर्षअघि तत्कालीन महानिर्देशक अणप्रसाद न्यौपानेको कार्यकालमा पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले कर्मचारीलाई निजी प्रकाशनगृहको पाठ्यपुस्तक लेखनमा संंलग्न हुन नपाइने निर्णय गरेको थियो ।
केही वर्षअघि केन्द्रका निर्देशक गणेश भट्टराई पनि ऐरावत पब्लिकेसनका पुस्तक लेखक हुनुहुन्थ्यो । निर्देशिकाको दफा २२ (१ ख र ग) मा उल्लिखित लेखनकार्यका सर्तअन्तर्गत लेखन कार्यदलमा संलग्न विज्ञले केन्द्रको निर्देशनात्मक व्यवस्थाको पालना गर्नुपर्ने र मसौदा बुझाएपछि पनि विषय समितिबाट स्वीकृति र केन्द्रबाट मुद्रणीयप्रति तयार नहुँदासम्म पाठ्यक्रम विकास केन्द्रसँग आबद्ध रहिरहनुपर्ने व्यवस्था छ ।
तर, समन्वय तथा प्रकाशन शाखाका निर्देशक तथा सूचना अधिकारी घिमिरेको सन्दर्भमा भने यो कानुन लागू भएको छैन । केन्द्रका कर्मचारी निजी प्रकाशनसँग मिलेर विद्यालय तहका पाठ्यपुस्तक लेखन गर्ने, जनक शिक्षा सामग्री केन्द्रलाई समयमा नै सीआरसी नदिने, जनक शिक्षा सामग्री र आफू संलग्न नभएको निजी प्रकाशन गृहले पुस्तक छपाइ गर्नुअगावै आफूद्वारा लिखित पाठ्यपुस्तक बजारमा बिक्रीवितरण गराई लाखौँ रकम लिने गरेको खुलेको छ ।
तर, घिमिरेले आफू संलग्न नभएको दोहो¥याउँदै पब्लिकेसनविरुद्ध उजुरी दिने बताउनुभयो । यसअघि केन्द्रका कर्मचारीले निजी विद्यालयको पाठ्यपुस्तकको सीआरसी उपलब्ध गराउँदा चलखेल गर्ने गरेको गुनासो आएको थियो । यसवर्ष यस्ता कुनै पनि गुनासो नआउने स्पष्ट पार्दै सूचना अघिकारी घिमिरेले प्रक्रिया पुगेको प्रकाशन गृहलाई समयमै सीआरसी उपलब्ध गराउने स्पष्ट पार्नुभयो ।











प्रतिक्रिया