५ अर्ब बिमा रकम झ्वाम पार्ने षडयन्त्र तुहियो


काठमाडौं ।

नक्सालस्थित हिल्टन होटलको बिमा प्रक्रियामा अनियमितता भएको फेला परेपछि नेपाल बिमा प्राधिकरणले बमिा तथा पुनर्बिमा कम्पनीहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले ओरियन्टल इन्स्योरेन्स कम्पनी, एलियन्ट पुनर्बिमा ब्रोकर, नेपाल पुनर्बिमा कम्पनी र हिमालयन पुनर्बिमा कम्पनीलाई कारबाही गर्न प्रक्रिया अगाडि बढाएको हो ।

जेन–जी प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको हिल्टन होटलको बिमा दाबीका क्रममा नियमविपरीत हुलदंगा तथा आतंकवाद (आरएसएमडीएसटी) जोखिम पुनर्बिमा गरिएको विषयमा भएको अनुसन्धानका क्रममा गम्भीर त्रुटि भेटिएपछि कारबाही अघि बढाइएको प्राधिकरण उच्च स्रोतले नेपाल समाचारपत्रलाई जानकारी दिएको छ । स्रोतका अनुसार प्राधिकरणले कारबाहीका निम्ति आफ्नो रायसहित अर्थ मन्त्रालयमा हालै पत्राचार गरेको छ । तर, के कारबाही गर्ने भन्ने खुलेको छैन । यस प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मार्फत् थप अनुसन्धान गर्नुपर्ने रायसमेत दिइएको स्रोतको दाबी छ ।

बिमा ऐन २०७९ र बिमा नियमावली २०८१ अनुसार बिमा व्यवसायमा कसुर गरेको पुष्टि भएमा नगद जरिवानादेखि कम्पनीको कारोबार रोक्का र ५ वर्षसम्मको जेल सजायसमेत हुने व्यवस्था छ । स्रोतका अनुसार यस प्रकरणमा बिमा ऐन २०७९ को दफा १४० अनुसारको कसुर भएकाले १४१ अनुसार कारबाही हुनसक्छ । १४० को उपदफा १ (ख) (ग) र (घ) अनुसारको कसुर ठहर हुनसक्ने भएकाले दफा १४१ को उपदफा ३ (घ), दफा ४ र दफा ५ अनुसारको दण्ड सजाय हुनसक्ने स्रोतको दाबी छ ।

निर्जीवन बिमा कम्पनीहरूले बिमांक बराबरको आरएसएमडीएसटी बिमा अनिवार्य रूपमा गर्नुपर्ने र यसको पुनर्बिमा नेपाल पुनर्बिमा कम्पनीले सञ्चालन गर्ने पुलमार्फत गर्नुपर्ने व्यवस्था भए पनि हिल्टन होटलको उक्त जोखिम पुनर्बिमा नभएको पाइएको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छुट्टै अनुसन्धान गरिरहेको छ । यसमा हिल्टल होटलको प्रवद्र्धक शंकर समूहका सञ्चालक सुलभ अग्रवाल र उनका साझेदारसमेत रहेका विवादास्पद व्यवसायी दीपक भट्टको मिलेमतो रहेको देखिएपछि सीआईबीमार्फत् थप अनुसन्धान गर्नुपर्ने देखिएको हो ।

जेन–जी प्रदर्शनपछि हिल्टनमा भएको क्षतिमा बिमा दाबी भुक्तानीका लागि ब्याक–डेट पोलिसी जारी गर्ने प्रयास भइरहेको रहस्य खुलेपछि अनुसन्धान अगाडि बढेको हो । हिल्टन होटलमा शंकर समूह र ‘बिचौलिया’ समूहका नाइके दीपक भट्टको पनि लगानी रहेको र यही समूहको प्रमुख लगानीमा हिमालयन पुनर्बिमा कम्पनी रहेको छ । साथै हिल्टनको आरएसएमडीएसटी बिमा हिमालयन पुनर्बिमामार्फत् नियमविपरीत अगाडि बढाइएको थियो । प्रारम्भिक सर्भेअनुसार होटलमा करिब ५ अर्ब रुपियाँ क्षति भएको अनुमान छ । यसमा हिमालयन पुनर्बिमाले २ अर्ब २५ करोड, नेपाल पुनर्बिमाले ७५ करोड र ओरियन्टलले १ अर्ब रुपियाँ भुक्तानी गर्ने गरी प्रक्रिया अगाडि बढाइएको थियो ।

आरएसएमडीएसटी बिमामा १० करोडसम्मको दाबीमा ६५ प्रतिशत पुनर्बिमा कम्पनी र ३५ प्रतिशत बिमकले भुक्तानी गर्ने व्यवस्था छ । १० करोडदेखि ६ अर्बसम्म शतप्रतिशत पुनर्बिमाले बहन गर्छ । अन्डर इन्स्योरेन्सका कारण दाबी रकम करिब ६२ प्रतिशतमा सीमित हुन सक्छ । भदौ २४ मा जेन–जी आन्दोलनका क्रममा होटलमा आगजनी भएको थियो । होटलको संरचना अध्ययन गर्न जापानी फर्म मियामोतोले गरिरहेको छ ।

होटलमा ९ बैंकहरूले ५ अर्ब २ करोड ऋण लगानी गरेका छन्, जसमा नेपाल इन्भेस्टमेन्ट मेगा, एभरेस्टलगायत छन् । ५ अर्ब २ करोड ऋण सुरक्षित राख्दै होटलले ५ अर्ब बराबरको मात्र बिमा गरेको थियो । होटल एसोसिएसनको विवरणअनुसार हिल्टनमा ८ अर्बभन्दा बढी लगानी छ, तर बिमा रकम ५ अर्बमात्र भएकाले होटल ‘अन्डर इन्स्योर्ड’ अवस्थामा छ । त्यसैले पाउने दाबी भुक्तानी उल्लेखनीय रूपमा घट्नेछ ।