एमालेमा ओलीको ह्याट्रिक, पार्टीभित्र झनै शक्तिशाली

पदाधिकारी र केन्द्रीय सदस्यहरूमा ओलीकै वर्चस्व

940
Shares

–केही प्रभावशाली नेताको अप्रत्याशित पराजय
–महासचिवमा कडा टक्करका बीच पोखरेल विजयी
–सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा नै पराजित
–माओवादीबाट आएका नेताहरूको लोकप्रिय मत
–केन्द्रीय कमिटीमा युवाहरूको राम्रो उपस्थिति
–गोकर्ण र योगेशको सानदार विजय
–नौ सचिवमध्ये सबैभन्दा बढी मत महेश बस्नेतलाई

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औं महाधिवेशनबाट केपी शर्मा ओली पुनः अध्यक्षमा निर्वाचित हुनुभएको छ । मत परिणामअनुसार, अध्यक्षमा ओलीले प्रतिस्पर्धी ईश्वर पोखरेललाई १ हजार ९९ मतको फराकिलो अन्तरले पराजित गर्दै तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा ओलीले १६ सय ६३ मत प्राप्त गनुर््भयो भने उहाँका प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मतमात्रै प्राप्त गर्नुभएको थियो ।

यसै गरी महासचिवमा शंकर पोखरेल विजयी हुनुभएको छ । पोखरेलले १२ सय २८ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत ल्याउनुभएको थियो । निर्वाचित नेतृत्वले पार्टीभित्रको शक्ति सन्तुलन, भावी राजनीतिक दिशा र संगठनात्मक पुनःसंरचनाको स्पष्ट संकेत दिएको छ । अध्यक्षमा ओली तेस्रो कार्यकालका लागि निर्वाचित भएसँगै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म ओली समूहको वर्चस्व देखिएको छ । यद्यपि, यही निर्वाचनले पार्टीभित्र लोकप्रियता, संगठनात्मक पहुँच र नेतृत्वप्रतिको भरोसाको नयाँ मापन पनि सार्वजनिक गरिदिएको छ ।

पार्टीको पदाधिकारीमा एक उपाध्यक्ष र एक उपमहासचिवबाहेक सबै ओली प्यानलबाटै निर्वाचित भएका छन । तीव्र प्रतिष्पर्धा भएको निर्वाचनमा एमालेका कार्यकर्ताले केही नेताको हकमा भने विवेक गुमाएको आरोप कार्यकर्ताले नै लगाएका छन् । जिल्ला जिल्लाबाट निर्वाचित भएर आएका कार्यकर्ताले विवेक प्रयोग गरे पनि ओलीले एकलौटी रूपमा मनोनीत गरेका १ सय ८ जना महाधिवशेन प्रतिनिधि भने निर्णायक मतदाता भएका थिए । उनीहरूले प्यानलबाहेक अन्य कुनै पनि नेतालाई भोट नहाल्दा पोखरेल प्यानलमा रहेका तर पार्टीका लागि चाहिने केही नेताहरू भने पराजित हुन पुगेका थिए ।

महाधिवेशनमा मात्रै होइन, पदाधिकारी र केन्द्रीय सदस्यतर्फ पनि ओली समूहले निर्णायक प्रभुत्व कायम गरेको छ । तर, केही अप्रत्याशित पराजयहरूले पार्टीभित्रको सन्तुलन र राजनीतिक संकेतलाई पनि स्पष्ट पारेको छ । महासचिवमा उम्मेदवारी दिनुभएका सुरेन्द्र पाण्डे र केही अन्य नेताहरू खुला केन्द्रीय सदस्यतर्फ पनि निर्वाचित हुन सकेनन् । पाण्डेले सदस्यमा ९६१ मतमात्र प्राप्त गर्नुभयो जबकि न्यूनतम १०२७ मत आवश्यक थियो ।

मत परिणामले देखाएको अर्को पक्ष भनेको माओवादी र एकीकृत समाजवादीबाट फर्किएका नेताहरूको मिश्रित प्रदर्शन हो । केही नेताहरू लोकप्रिय मतसहित निर्वाचित भए, केहीले भने अपेक्षाकृत कम मत पाएका छन् । यसले पार्टीभित्र उनीहरूको राजनीतिक प्रभाव र लोकप्रियताको वास्तविक मापन प्रदान गरेको छ ।

पदाधिकारी तहमा ओली समूहको प्रभुत्व स्पष्ट देखिएको छ । उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई पोखरेल प्यानलबाट भए पनि लोकप्रिय मतसहित निर्वाचित भएका छन् । ओली निकट गुरु बराल उपाध्यक्षमा मात्र होइन, केन्द्रीय सदस्यतर्फ पनि पराजित भएका छन् । ओलीलाई गलत सल्लाह दिने गरेको आरोप खेपेका विष्णु रिमाल उपमहासचिव र केन्द्रीय सदस्य दुवैमा पराजित हुनुभएको छ । ओली सरकारका बेला आलोचनाको केन्द्रमा रहेका रिमाललाई कार्यकर्ताले ‘सामान्य कार्यकर्ताको हैसियत’ मात्र दिएको विश्लेषण भइरहेको छ ।

एमाले विभाजनपछि २०७८ सालमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीमा गएका र पुनः एमाले फर्किएका नेताहरूमध्ये चार जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । तीमध्ये अधिकांश संस्थापन पक्षकै प्यानलमा समावेश थिए ।

एकीकृत समाजवादीकी संस्थापक सचिव तथा स्थायी कमिटी सदस्य रहेकी रामकुमारी झाँक्री १९११ मतका साथ केन्द्रीय सदस्य निर्वाचित हुनु भयो । सचिवमा उम्मेदवारी दिने आकांक्षा राखेकी झाँक्रीलाई अध्यक्ष ओलीकै निर्देशनमा केन्द्रीय सदस्यमा सीमित गरिएको थियो । यद्यपि, उहाँ प्रारम्भिक चरणमा ईश्वर पोखरेल समूहको सूचीमा पनि पर्नुभएको थियो पछि नाम हटाइएको थियो ।
यसै समूहबाट एमाले फर्किएका कृष्णकुमार श्रेष्ठ (किसान) ले १५६० मत ल्याउँदै केन्द्रीय सदस्यमा सफलता हात पानुभयो । उहाँ २०७४ मा तनहुँबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई पराजित गर्ने एमाले उम्मेदवारको रूपमा परिचित हुनुहुन्छ । एकीकृत समाजवादीमा रहँदा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नुभएका श्रेष्ठ पुनः एमालेमा स्थापित हुनुभएको छ ।
दलित महिला क्लस्टरबाट पार्वती विशुंखे १८९५ मतका साथ निर्वाचित हुनुभयो । दलित आन्दोलनकी सक्रिय अभियन्ता विशुंखे राजनीतिक अपमानको आरोपसहित एकीकृत समाजवादी छोडेर एमालेमा फर्कनुभएको थियो ।

श्रमिक क्लस्टर खुलातर्फ भोलानाथ पोखरेल १५२६ मतका साथ निर्वाचित हुनुभयो । उहाँ पनि एकीकृत समाजवादीका संस्थापक केन्द्रीय सदस्य रहनुभएको थियो ।

तर, सोही समूहका राजु गुरुङ भने लुम्बिनी प्रदेश खुला क्लस्टरबाट पराजित हुनुभयो । संस्थापन प्यानलमा नपरेपछि उहाँ खुला केन्द्रीय सदस्यतर्फ ७२ जनाभित्र अटाउन सक्नु भएन । ‘हारे पनि चिन्ता छैन’ भन्दै उहाँले नेतृत्वप्रति कटाक्षपूर्ण टिप्पणी गर्नुभएको छ ।

महाधिवेशनमा अध्यक्ष ओली र ईश्वर पोखरेल प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । अन्तिम परिणाममा अध्यक्षमा ओलीले पोखरेललाई १०९९ मतको फराकिलो अन्तरले पराजित गर्दै तेस्रो कार्यकाल सुरक्षित गर्नुभएको छ ।
पदाधिकारी तहमा भने पोखरेल समूहबाट उम्मेदवार बन्नुभएका उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराई लोकप्रिय मतसहित निर्वाचित हुनु महाधिवेशनको रोचक पक्ष रह्यो ।

एमालेको ११औँ महाधिवेशनबाट खुला केन्द्रीय सदस्यमा ७१ जना निर्वाचित भएका छन् । सर्वाधिक मत ल्याउनेमाः मिनबहादुर शाही २०७०, प्रदीप ज्ञवाली, १९४०, सुहाङ नेम्वाङ १७२१, कृष्णभक्त पोखरेल१६९८, किरण गुरुङ १६२७ मत ल्याउन सफल हुनुभएको छ ।

अन्य उच्च मत प्राप्त गर्नेहरूमा खिमलाल भट्टराई, अच्युतप्रसाद मैनाली, ऐनबहादुर मगर, महेशकुमार बर्तौला, विशाल भट्टराई, पदम गिरी, पार्वत गुरुङ, देवीप्रसाद ज्ञवाली, भूमि त्रिपाठी, अमन मास्के, अशोक ब्यञ्जु, ऋषिकेश पोखरेल, शेरबहादुर तामाङ, जगतबहादुर विश्वकर्मा र डा. भिष्म अधिकारी रहनुभएको छ ।

युवा पुस्ताको बलियो उपस्थिति
महाधिवेशनले युवापुस्ताको सशक्त उपस्थिति पनि देखाएको छ । सुनिता डंगोल, सुहाङ नेम्वाङ, महेश बर्तौला, महेश बस्नेतलगायतका नेताहरूको जितले पार्टीभित्र पुस्तान्तरणको दबाबलाई औपचारिक रूप दिएको छ ।
निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यलाई शपथ गराउनुभएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार ओली समूहको स्पष्ट वर्चस्व देखिए पनि केही अप्रत्याशित पराजयले नेतृत्वलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको छ ।

एमालेले नेतृत्व चयन गरेर एक अध्याय समाप्त गरेको छ । तर, पार्टीभित्र उठेको पुस्तान्तरणको आवाज, युवापुस्ताको अपेक्षा, जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक चेतना र आगामी आम निर्वाचनको तयारी ओली नेतृत्वका लागि सबैभन्दा कठिन परीक्षा बन्ने देखिन्छ ।

११औं महाधिवेशनले एमालेभित्र शक्ति संरचना त स्पष्ट गरेको छ, तर यसले नेतृत्वलाई अझ जिम्मेवार र संवेदनशील बन्नुपर्ने सन्देश पनि स्पष्ट रूपमा दिएको छ ।
पार्टी विभाजन नहुने ओलीको दावी

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रयास असफल हुने बताउनुभएको छ । अध्यक्ष पदमा तेस्रो कार्यकालका लागि शपथ ग्रहण गरेलगत्तै उहाँले पार्टीभित्रको एकता र स्थायित्वको विश्वास व्यक्त गर्नुभएको छ ।
ओलीले सम्बोधन गर्दै भन्नुभयो– ‘हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन । धेरैले पार्टी फुट्ने आशा गरेका थिए, तर तिनको प्रयास खेर जाने छ । नेकपा एमाले अझै मजबुत भएर अघि बढ्नेछ ।’

उहाँले पार्टी अझ बढी सुदृढ भएर अघि बढ्ने दाबी पनि गर्नुभयो । ओलीले पार्टीभित्र वादविवाद भए पनि विभाजनको कुनै ठाउँ नरहेको बताउनुभएको छ ।मतदानमा कुल २,२६३ मध्ये २,२२७ प्रतिनिधिले मत प्रयोग गरेका थिए । ३६ जना मतदान प्रकृयामा सहभागी भएका थिएनन ।

अध्यक्ष
केपी शर्मा ओली विजयी (१६६३)
ईश्वर पोखरेल (५६४)
महासचिव
शंकर पोखरेल विजयी (१२२८)
सुरेन्द्र पाण्डे (९९९)
उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङः १,७३७
विष्णुप्रसाद पौडेलः १,६७५,
रामबहादुर थापा (बादल)ः १,५१६
गोकार्णराज विष्टः १,३६८
रघुजी पन्तः १,२५८
(विष्टमात्रै पोखरेल समूहबाट विजयी)
उपमहासचिव
लेकराज भट्ट १,४५२
रघुवीर महासेठ १,३६८
योगेश भट्टराई १,३४८
(भट्टराईमात्र पोखरेल पक्षबाट विजयी)
सचिव
महेश बस्नेत (१,५४४), पद्माकुमारी अर्याल (१,५३०), छविलाल विश्वकर्मा (१,५०६), शेरधन राई (१,५०३), हिक्मतकुमार कार्की (१,३३७), खगराज अधिकारी (१,२३१), यमलाल कँडेल (१,१८५), राजन भट्टराई (१,१८१), भानुभक्त ढकाल (१,१०८) (सबै ओली प्यानलबाट विजयी)