काठमाडौं।
आगामी माघ महिनामा हुने नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ । संघको निर्वाचन समितिले बुधवार उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूको मनोनयन पत्र छानबिनपछि प्रथम नामावली प्रकाशन गरेको हो ।
निर्वाचन समितिका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सहसचिव, सह–कोषाध्यक्ष तथा सदस्य पदका लागि उम्मेदवारी दिएका चिकित्सकहरूको नाम प्रारम्भिक सूचीमा समावेश गरिएको छ । संघको आगामी नेतृत्व चयनका लागि हुने यो निर्वाचनलाई चिकित्सक समुदायले चासोका साथ हेरेका छन् ।
निर्वाचन तालिका अनुसार नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिका लागि कुल १९ पदमा निर्वाचन हुँदैछ । जसअनुसार अध्यक्ष एक जना, वरिष्ठ उपाध्यक्ष एक जना, उपाध्यक्ष सात जना (प्रदेश संयोजकसहित), महासचिव एक जना, कोषाध्यक्ष एक जना, सहसचिव एक जना, सह–कोषाध्यक्ष एक जना तथा सदस्य छ जना निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचन समितिले उम्मेदवारी दर्तापछि प्राप्त मनोनयन पत्रहरूको प्रारम्भिक रूपमा जाँच गरी नियमअनुसार योग्य उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको जनाएको छ । यस सूचीलाई निर्वाचन प्रक्रियाको पहिलो औपचारिक चरणका रूपमा हेरिएको छ ।
संघले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको मनोनयन उपर दाबी–विरोध गर्ने समयसमेत तोकिएको छ । यदि कुनै उम्मेदवारको मनोनयनप्रति आपत्ति वा दाबी गर्न चाहने सदस्यहरूले यही पुस ४ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म संघको केन्द्रीय कार्यालय, प्रदर्शनीमार्गमा उपस्थित भई लिखित निवेदन दिन सक्ने निर्वाचन समितिले अवधि तोकेको थियो ।
निर्वाचन समितिका पदाधिकारीहरूका अनुसार दाबी–विरोधको समय सकिएपछि त्यस्ता उजुरीहरूको छानबिन गरिने र त्यसपछि उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने कार्यक्रम रहेको जनाए थियो । अन्तिम सूची सार्वजनिक भएपछि मात्र औपचारिक चुनावी प्रचार–प्रसार र प्रतिस्पर्धा तीव्र हुने अपेक्षा गरिएको छ ।
नेपाल चिकित्सक संघ देशभरका चिकित्सकहरूको साझा पेशागत संगठन हो । संघले चिकित्सकहरूको हकहित, पेशागत मर्यादा, स्वास्थ्य प्रणालीको सुधार तथा सार्वजनिक स्वास्थ्य नीतिमा भूमिका खेल्दै आएको छ । यसकारण संघको नेतृत्व चयनलाई स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले महत्वका साथ लिने गरेका छन् ।
पछिल्ला वर्षहरूमा स्वास्थ्य सेवाको गुणस्तर, चिकित्सकहरूको सेवा–सुविधा, कार्य वातावरण, चिकित्सा शिक्षा तथा सरकारी नीतिका विषयमा संघको भूमिका प्रभावशाली बन्दै गएको छ । यस्तो सन्दर्भमा आगामी निर्वाचनबाट चयन हुने नेतृत्वले संघको भावी दिशा निर्धारण गर्ने विश्वास गरिएको छ ।
निर्वाचन समितिले सम्पूर्ण निर्वाचन प्रक्रिया पारदर्शी, निष्पक्ष र विधानअनुसार सम्पन्न गराउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, संघका सबै सदस्यहरूलाई निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आह्वानसमेत गरिएको छ । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी निर्वाचन माघ महिनामा सम्पन्न हुने कार्यतालिका रहेको छ । अन्तिम उम्मेदवारको सूची प्रकाशन, चुनावी कार्यक्रम र मतदान मितिबारे थप विवरण निर्वाचन समितिले क्रमशः सार्वजनिक गर्ने जनाएको छ ।











प्रतिक्रिया