एमालेको ११ औँ  महाधिवेशन: छ केन्द्रीय सदस्यसहित दोलखाका नौ जना विजयी

2.26k
Shares

काठमाडौँ।

नेकपा एमालेको ११ औँ महाधिवेशनमा दोलखाबाट छ जना केन्द्रीय सदस्यसहित नौ जना विजयी भएका छन् । महाधिवेशनमा दुई जना पदाधिकारीसहित विभिन्न पदमा १४ जनाले उम्मेदवारी दर्ता गरेका थिए । 

महाधिवेशनमा ईश्वर पोखरेलको टिमबाट उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका एमाले नेता आनन्द प्रसाद पोखरेल उपमहासचिव पदमा पराजित भएपनि केन्द्रीय सदस्यमा भने विजयी भएका छन् । उनी उपमहासचिव पदमा छ सय ३५ मत ल्याएर पराजित भएका थिए । तर केन्द्रीय सदस्यमा भने नौ सय ९७ मतसहित विजयी भएका छन् । उम्मेदवारी दर्ताको अन्तिम समयसम्म केपी शर्मा ओलीको टिमबाट सचिव उठ्न चाहेका पोखरेललाई केन्द्रीय सदस्यको लिष्टमा समेत नराखेपछि उनले स्वतन्त्र ढङ्गले उपमहासचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका थिए । पछि ईश्वर पोखरेल टिमले उनलाई आफ्नो लिष्टमा राखेको थियो ।

त्यसैगरी ईश्वर पोखरेल टिमबाट सचिव र केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी रचना खड्का सचिवमा आठ सय ७७ मत ल्याएर पराजित भएपनि केन्द्रीय सदस्यमा भने ११ सय २४ मतसहित विजयी भएकी छन् । 

अध्यक्ष केपी शर्मा ओलीको टिमबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पार्वत गुरुङ (१४९७), पर्शुराम वस्नेत (११३७), भूगोल सम्पर्क समन्वयबाट खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका श्याम कुमार वस्नेत (१८६७) र खुल्ला महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी उर्मिला सुनुवार (१८५८) विजयी भएका छन् । अध्यक्ष केपी शर्मा ओली टिमबाटै खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ईश्वरी बहादुर रिजाल (८४६) भने पराजित भएका छन् । 

त्यसैगरी अध्यक्ष केपी शर्मा ओलीको टिमबाट केन्द्रीय लेखा आयोगको सदस्यमा उम्मेदवारी दिएका डिल्लीध्वज बराईली (१६२३) र शान्तिमाया तमाङ पाख्रिन (१८६२) तथा केन्द्रीय अनुशासन आयोगमा उम्मेदवारी दिएका गोविन्द प्रसाद दुलाल (१९११) पनि विजयी भएका छन् । 

भूगोल खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका इश्वरचन्द्र पोखरेल (३४६), खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका गणेश बहादुर वस्नेत (६१७), समावेशी दलित महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी सरिता जिरेल खाती (९५४) र केन्द्रीय लेखा आयोगमा उम्मेदवारी दिएकी पूर्णिमा खरेल (८४४) भने पराजित भएका छन् ।

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ चुनौतीपूर्ण घडिमा सम्पन्न एमाले महाधिवेशनबाट सर्वाधिक मत सहित अध्यक्षमा केपी शर्मा ओली विजयी हुनु मुलुककै लागि राम्रो सन्देश भएको बताउँछन् । महाधिवेशनमा दोलखाबाट केन्द्रीय सदस्य सहित नौ जना विजयी हुनु उत्साहप्रद रहेको उनको भनाई छ ।