रवि लामिछानेले बिगो र धरौटीको बैंक ग्यारेन्टी पेस गरे थुनामुक्त गर्न अदालतको आदेश  

थुनामुक्त हुन शुक्रवारसम्म कुर्नै पर्ने

5.73k
Shares

बुटवल। 

रास्वपाका सभापति रवि लामिछानेलाई उच्च अदालतले  बिगो र धरौटी बापतको बैंक ग्यारेन्टी पेस गरेमा थुनामुक्त गर्न आदेश दियो । उच्च अदालतको बुटवल इजलासले बिहीबार आदेशअनुसार बैंक ग्यारेन्टी बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका रविलाई उच्च अदालत बुटवल इजलासका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधीश बाबुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासमा बिहीबार दुवै पक्षका कानुन व्यवसायीहरूको बहस भएको थियो । यसअघि मङ्सिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि स्थगित भएको थियो । त्यस्तै, मङ्सिर ११ गते तय गरिएको पेसी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा स्थगित गरिएको थियो ।  उता जिल्ला अदालत रुपन्देहीका एक अधिकृतका अनुसार, लामिछाने थुनामुक्त हुन भने केही प्रक्रिया पूरा गर्नु पर्ने छ ।

उच्च अदालत बुटवलको आदेश जिल्ला अदालत रुपन्देहीमा पुग्नुपर्छ । विहिवार कार्यालय समय बन्द भएकाले शुक्रबार मात्रै जिल्ला अदालतमा उच्च अदालतको आदेश पुग्नेछ । आदेशपछि जिल्ला अदालतले रवि लामिछानेले बुझाउने भनेको बिगो बापतको दामासाहीको रकम र धरौटीको बैंक ग्यारेन्टीको रुजु गर्नेछ । 

त्यसपछि जिल्ला अदालत रुपन्देहीले रवि लामिछानेलाई झिकाउन कारागार प्रशासनमा चिठी लेख्नेछ । चिठी पाएपछि कारागार प्रशासनले रवि लाई जिल्ला अदालत रुपन्देहीमा बुझाउनेछ । बिहीबारको आदेश अनुसार, त्यहाँ उपस्थित भएर रविले पछि फैसलामा ठहरे बमोजिम बिगो र जरिवाना बुझाउन मञ्जुर छु भन्ने ब्यहोराको कागजमा सही गर्नु पर्ने हुन्छ । 

त्यसपछिको प्रक्रियाबारे ती अधिकृतले भने, ‘त्यो कागजमा हस्ताक्षर गरेपछि उहाँ तारिख लिएर कारागारबाट बाहिर जानुहुनेछ । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले आफूले अपचलन गरेको भनिएको भाग बराबरको बिगो रकम दाखिल गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेका थिए। 

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए ।