काठमाडौँ।
काठमाडौं उपत्यका विकास प्राधिकरण (केभीडीए) ले काठमाडौं महानगरपालिका वडा नं. २९ भित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी निर्माण गरिएका मापदण्डविपरीतका भौतिक संरचना हटाउने निर्णय गरेको छ।
प्राधिकरणले अवैध संरचना शनिबार बिहान ८ बजेदेखि हटाइने तथा भत्काइने जानकारी गराउँदै यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई अनुरोध गर्दै बिहीबार पत्र पठाएको छ।
काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, काठमाडौंले सार्वजनिक जग्गा संरक्षण तथा कानुन कार्यान्वयनका लागि उक्त कदम चालिएको जनाएको छ।
आयुक्त कार्यालयले काठमाडौं महानगरपालिका २९ वडा कार्यालय र नापी कार्यालयका प्रतिनिधिसमेतको उपस्थितिमा कात्तिक १२ देखि कामपा २९ वडाभित्रका सार्वजनिक जग्गामा अतिक्रमण गरी बनाइएका मापदण्डविपरीतका भौतिक संरचनाहरू सर्वेक्षण गरेको थियो ।
आयुक्त कार्यालयले सर्वेक्षण गरी यकिन गरिएका संरचना हटाउन सोमबार निर्णय गरेको थियो । सोही आधारमा जिल्ला आयुक्त कार्यालयले कामपालाई माइकिङ गर्न आग्रहसहित पत्र पठाएको थियो । काठमाडौं जिल्ला आयुक्त कार्यालयको पत्रमा ३ दिनभित्र अतिक्रमित जग्गामा बनाइएका संरचना खाली गर्न माइकिङ गर्न आग्रह गरेको थियो । जिल्ला आयुक्त कार्यालय काठमाडौंले सहरी विकास मन्त्रालय, २९ वडा कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई समेत पत्र पठाएको थियो ।
सोही आधारमा प्राधिकरणले अवैध संरचना शनिबार बिहान ८ बजेदेखि हटाइने तथा भत्काइने जानकारी गराउँदै यसका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय, काठमाडौंलाई अनुरोध गर्दै बिहीबार पत्र पठाएको हो ।











प्रतिक्रिया