काठमाडौँ।
नेकपा एमालेको पदाधिकारी चयनमा महिला सहभागिता अत्यन्त न्यून देखिएको छ । १९ जना पदाधिकारीमध्ये एक जना महिला मात्रै निर्वाचित भएकी छन् ।
उपाध्यक्षमा विन्दा पाण्डे तथा सचिवमा रचना खड्का र पद्मा अर्यालले उम्मेदवारी दिएका थिए । ईश्वर पोखरेल प्यानलमा रहेका पाण्डे र खड्का पराजित भए पनि पद्मा अर्याल भने सचिव पदमा निर्वाचित भएकी हुन् ।
अर्यालले १५३० मत प्राप्त गर्दै सचिवमा जित हात पार्दा खड्काले ८७७ मतमा सीमित भइन् । पाँच उपाध्यक्ष पदका लागि पाण्डे एक मात्र महिला उम्मेदवार थिइन् । उनले ९२१ मत प्राप्त गरे पनि निर्वाचित हुन सकिनन् ।
उपाध्यक्षमा उम्मेदवारी दिएका १० जना पुरुषमध्ये पाँच जना निर्वाचित भएका छन् । जसमा ईश्वर पोखरेल प्यानलबाट गोकर्ण विष्टले १३६८ मत ल्याएर जित निकाले भने बाँकी चार जना ओली प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
यसअघि एमालेको दशौँ महाधिवेशनमा उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिव पदमा महिला उम्मेदवार निर्वाचित भएका थिए । तर यसपटक पदाधिकारी तहमा एक जना महिला मात्रै सीमित हुन पुगेकी छन् ।











प्रतिक्रिया