–३९ विद्यालयले नेपालीपन झल्कने नाम परिवर्तन
–५६ हजारलाई पुस्तक, ५८ हजारलाई निःशुल्क दिवाखाजा
–१७ हजार छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण
काठमाडौं ।
काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा ३० हजार ७ सय ७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर पाएका छन् । महानगरपालिकाले छात्रवृत्तिलाई पारदर्शी बनाएपछि छात्रवृत्तिमा छलाङ मारेको हो । कामपा शिक्षा विभागले छात्रवृत्ति व्यवस्थित भएपछि सयांै विद्यार्थी लाभान्वित भएको दाबी गरेको छ ।
छात्रा छात्रवृत्तिअन्तर्गत ५ हजार ८ सय ९५, १ हजार ३ सय २२ दलित, अपाङ्ग र आवासीय ४ सय ५५ जनाले छात्रवृत्ति पाएका हुन् । यस्तै, संस्थागत विद्यालयमा कक्षा १ देखि १० सम्म १९ हजार ३ सय ६ जना र कक्षा ११ र १२ मा ३ हजार ८ सय १ जना छात्रछात्राले छात्रवृत्ति पाएका छन् । कामपा शिक्षा विभागले प्रगति विवरण सार्वजनिक गर्दै सो जानकारी गरेको हो । विभागीय प्रमुख केशव ज्ञवालीले लक्षित वर्गलाई छात्रवृत्ति दिने योजना अघि बढाएपछि साढे ३० हजार विद्यार्थीले निःशुल्क छात्रवृत्ति पाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘चालू शैक्षिक सत्रमा दर्जनौं सुधारका योजना कार्यान्वयन गराएका छौं । विद्यालय शिक्षामा सुधार भएको छ ।’
यसवर्ष ३९ वटा विद्यालयहरूले नेपालीपन झल्किने गरी नाम परिवर्तन गरेका छन् । विद्यालयमा अंग्रेजी नामकरण गर्न प्रतिबन्ध लगाएको थियो । कानुनी उपचार गएकाबाहेक ३९ विद्यालयले नाम परिवर्तन गरेको हो । चालू शैक्षिक सत्रमा १ देखि १२ सम्मका ५६ हजार ३ सय १ जनाले निःशुल्क पाठ्यपुस्तक पाएका छन् । ५८ हजार ७ सय ३९ जना विद्यार्थीलाई निःशुल्क दिवाखाजा व्यवस्था गरेको छ । १७ हजार ६ सय ८९ जना छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गरेको थियो ।
शिक्षातर्फ यसवर्ष ३ अर्ब २९ करोड ४७ लाख ७७ हजार रुपियाँ बजेट विनियोजन गरिएको थियो । पछिल्लो ६ महिनामा ५३ दशमलव ८ प्रतिशत अर्थात् १ अर्ब ७७ करोड ३४ लाख ४२ हजार रुपियाँ खर्च भयो । आर्थिक वर्ष सकिन ७ महिना बाँकी अवधिमा ५३ प्रतिशत बजेट प्रगति हुनु सफलता भएको दाबी विभागको छ ।
‘आन्तरिकतर्फको नियमित कार्यक्रममा १ अर्ब ४ करोड ८५ लाख २७ हजार रुपियाँ विनियोजन गरिएकोमा त्यसको ३० प्रतिशत अर्थात् ३१ करोड ५६ लाख ५ हजार रुपियाँ खर्च भयो’ –विभागीय प्रमुख ज्ञवालीले नेपाल समाचारपत्रसँग भन्नुभयो । ‘गरिखाने शिक्षा महानगरको इच्छा’ कार्यक्रम सञ्चालन गर्न ६० करोड रुपियाँ विनियोजन भएको थियो ।
हालसम्म ५ करोड १ लाख ६६ हजार अर्थात ८ दशमलव ४ प्रतिशत खर्च भएको छ । शिक्षाक्षेत्रका स्वर्णिम योजना सम्पन्न गर्न ११ करोड १४ लाख रुपियाँ विनियोजन भएकोमा ४ करोड ३२ लाख खर्च भएको छ । यो ३८ दशमलव ८ प्रतिशत हो । संघीय सरकारको सशर्त अनुदानबाट १ अर्ब ४२ करोड ३४ लाख ५० हजार रुपियाँ प्राप्त भएकोमा यसको ९२ दशमलव ९ प्रतिशत अर्थात् १ अर्ब ३२ करोड २२ लाख रुपियाँ खर्च भयो ।
‘पुस्तकरहित शुक्रवार’ कार्यक्रमअन्तर्गत कक्षा ४ देखि ८ सम्मका १८ हजार २ सय १८ जना छात्रछात्रा सहभागी भएका थिए । ‘शिक्षामा सीप’ कार्यक्रमअन्तर्गत ५ हजार ११ जनाले कक्षा सम्पन्न भएको छ । ७७ वटा विद्यालयमा प्रारम्भिक बाल विकास कक्षाको स्तरोन्नति गरिएको छ । ‘सुन्दर विद्यालय’ निर्माण परियोजनाअन्तर्गत ८२ वटा विद्यालयलाई सहयोग गरेको थियो । यस्तै, १ हजार ४३ जना शिक्षकको क्षमता विकास कार्यक्रम सम्पन्न भयो ।
प्रारम्भिक बाल विकास केन्द्रको स्तरोन्नति भएपछि भर्नामा आकर्षण बढेको, एसईई परीक्षामा माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या बढेको, पुस्तकरहित शुक्रवार (बुक फ्रि फ्राइडे) कार्यक्रमबाट बालबालिकाको सिर्जनात्मकता र सीप विकासमा वृद्धि भएको, सुन्दर विद्यालय परियोजनामार्फत विद्यालयहरूको भौतिक तथा वातावरणीय अवस्थामा सुधार भई विद्यालयहरू स्वच्छ, सफा र हरियाली हुँदै गएको विभागले जनाएको छ ।
यस्तै, दिवाखाजा र सेनिटरी प्याड वितरण गरेपछि छात्राको उपस्थिति बढेको, कक्षाहरू सूचना प्रविधिमा आधारित हुँदै गएको, प्राविधिक धारमा अध्ययन गर्न चाहनेका लागि विद्यालयस्तरबाटै पहुँच पुगेको, संस्थागत विद्यालयहरूले प्रदान गर्नुपर्ने छात्रवृत्ति पूर्ण कार्यान्वयन हुनु यस वर्षका मुख्य उद्देश्य भएको विभागको भनाइ छ ।
कामपाभित्र २६ आधारभूत, ५८ माध्यमिक, ४ विशेष, २३ वैकल्पिक, ११ धार्मिक, २८ सामुदायिक सिकाइ केन्द्र र ४ सय २५ संस्थागत विद्यालय गरी जम्मा ७ सय ८४ शैक्षिक संस्था छन् । तथ्यांकअनुसार चालू शैक्षिक सत्रमा प्रारम्भिक बाल विकास केन्द्रमा ५ हजार ३ सय ३२, आधारभूत तहअन्तर्गत १–५ सम्म १६ हजार ५ सय ५२, कक्षा ६–८ सम्म १४ हजार २ सय १३ विद्यार्थी अध्ययनरत छन् । माध्यमिक तहअन्तर्गत ९ र १० मा १२ हजार ८ सय ६ जनाले र कक्षा ११ र १२ मा १२ हजार ६ सय ४० र स्रोतकक्षामा ४ सय ५५ जना विद्यार्थी अध्ययनरत छन् । यसवर्ष सामुदायिक विद्यालयमा ६२ हजार ८८ र संस्थागतमा २ लाख २१ हजार ६ सय ४४ गरी २ लाख ८३ हजार ७ सय ३२ अध्ययन गरिरहेका छन् ।
कामपाका सबै तहको विद्यालयमा २ सय ९ जना सहजकर्ता, ८७ जना आया, ८७ विद्यालय सहयोगी, ५८ जना विद्यालय सहायक कर्मचारी, ७ सय ५ जना प्राथमिक शिक्षक, ४ सय ३७ जना निम्न माध्यमिक शिक्षक, माध्यमिक तह कक्षा ९ र १० का लागि ४ सय ५, कक्षा ११ र १२ का लागि ४३, प्राविधिक धारका प्रशिक्षक ९९, भाषा सहायक १ सय ७३ गरी २ हजार ३ सय ३ जना जनशक्ति कार्यरत छन् ।











प्रतिक्रिया