–आजै भृकुटीमण्डपमा समापन हुने
काठमाडौं ।
नेकपा एमालेको जारी महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान प्रक्रिया बुधबार दिनभर र रातभर अत्यन्तै सुस्त गतिमा अघि बढ्दा परिणाम आउन ढिलाइ भएको छ । बुधबार नै परिणाम आउने अपेक्षा गरिए पनि सुस्त मतदानका कारण बिहीबारमात्रै परिणाम आउने भएको हो । सम्भवतः ११औं महाधिवेशनमा पनि अध्यक्षमा केपी शर्मा ओलीले नै बाजी मार्ने करिबकरिब निश्चित देखिएको छ । ओलीले यस अघि १०औं र ११औं महाधिवेशनमा पनि अध्यक्षमा जित हासिल गर्नुभएको थियो । यसपटक पनि ओलीले तेस्रो जित हासिल गर्ने सम्भावना देखिएको हो ।
यद्यपि अर्का नेता ईश्वर पोखरेलले ओलीलाई चुनौती दिनुहुनेछ । महासचिवमा भने निवर्तमान महासचिव शंकर पोखरेल र निवर्तमान उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच कडा टक्कर हुने देखिएको छ । पोखरेल ओली समूहका र पाण्डे ईश्वर समूहका हुनुहुन्छ । अन्य पदमा भने दुवै समूहको मिश्रित परिणाम आउने सम्भावना देखिएको छ ।
लामो मतपत्र, धेरै पदका लागि मतदान गर्नुपर्ने बाध्यता र प्यानलका सूची भिडाएर भोट हाल्नुपर्ने अवस्थाका कारण बुधबार मतदानस्थलमा दिनभर ‘कछुवा गति’ देखिएको थियो । मतदान सुरु भएदेखि नै अपेक्षित गतिमा अघि नबढेपछि महाधिवेशन प्रतिनिधि, निर्वाचन आयोग र स्वयम् मतदाता सबै अन्योलमा परेका थिए । २ हजार २ सय ६३ मतदाता रहेको महाधिवेशनमा राति अबेर १२ बजेसम्म करिब १ हजार ५ सय ७५ मतमात्रै खसेको निर्वाचन आयोगले जनाएको छ ।
प्यानल भिडाउँदा अलमलिँदै मतदाता
अध्यक्ष पदका दुई प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म प्यानलका आधारमा मतदान गर्नुपर्ने दबाबले मतदाता झन् अल्मलिएका थिए । मतदाताहरू प्यानलको छापिएको सूची बोकेर मतदान कक्षमा प्रवेश गर्ने, सूची हेर्ने, मतपत्रमा फोटो खोज्ने र फेरि नाम मिलाउने क्रम दोहोरिँदा एक मतदाताले अस्वाभाविक रूपमा लामो समय खर्चिनुपरेको थियो ।
विद्युतीय भोटिङ मेसिन सञ्चालनमा खटिएका राम–लक्ष्मणमध्येका रामले भन्नुभयो– ‘यदि सुरुमै फोटो र नाम हेरेर सहज रूपमा मतदान गरिएको भए प्रक्रिया धेरै चाँडै सकिन्थ्यो । तर यहाँ त सूची हेर्दै उता फोटो खोज्दै गर्दा धेरै समय लाग्यो ।’ उहाँका अनुसार प्यानल सूची नबोकी आएका मतदाताले २० देखि ३० मिनेटमै मतदान सकेका थिए भने सूची बोकेर आएका कतिपय मतदाताले एक घण्टादेखि डेढ घण्टासम्म मतदानस्थलमै समय बिताएका थिए ।
३०१ पदका लागि ६४२ उम्मेदवार
मतदान ढिलाइको अर्को मुख्य कारण मतपत्रको जटिलता पनि हो । महाधिवेशनमा कुल ६ सय ४२ उम्मेदवारमध्येबाट ३ सय १ पदका लागि मतदान गर्नुपर्ने थियो । केन्द्रीय सदस्य, पदाधिकारी, लेखा आयोग, अनुशासन आयोगलगायतका धेरै तहमा छुट्टाछुट्टै छान्नुपर्ने हुँदा मतदाता अन्योलमा परेका थिए ।
एक मतदाताले नाम नछाप्ने सर्तमा भने– ‘कुन पदमा कति जनालाई भोट हाल्ने भन्ने कुरा बुझ्नमै धेरै समय गयो । त्यसमाथि प्यानलको दबाब पनि थियो ।’ दिनभर मतदानस्थलमा लामो समय कुर्नुपर्दा केही मतदाताको स्वास्थ्यमा समेत असर परेको थियो । दिउँसो मतदानको लाइनमै बसेका एक प्रतिनिधि अचानक बेहोस भएपछि चिकित्सक नै खटाउनुपरेको थियो । अत्यधिक भीड, लामो समय उभिनु, मानसिक तनाव र खाना–पानीको अभावले यस्तो अवस्था आएको चिकित्सकहरूको भनाइ छ ।
यस घटनापछि मतदानस्थलमा स्वास्थ्य टोली थप सतर्क बनाइएको थियो । आवश्यक परे तत्काल उपचार गर्न एम्बुलेन्स र चिकित्सकलाई तयारी अवस्थामा राखिएको थियो । भोटिङ मेसिनका आविष्कारक रामका अनुसार यही गतिमा मतदान अघि बढे आज बिहीबार बिहान ४ बजेसम्म मात्र मतदान सकिन सक्ने अनुमान गरिएको छ ।
मतदान ढिलाइसँगै पार्टीको निर्वाचन आयोगमाथि पनि दबाब बढेको थियो । मतदान सुस्त भए पनि नेतृत्व चयनप्रति कार्यकर्ताको उत्साह भने उच्च देखिएको थियो । अध्यक्षमा दुई बलिया नेताबीचको प्रतिस्पर्धा, पदाधिकारीमा बहुपक्षीय दाबेदारी र केन्द्रीय सदस्यमा कडा प्रतिस्पर्धाका कारण महाधिवेशन चासोको केन्द्र बनेको थियो । तर, यति ठूलो पार्टीको महाधिवेशनमा मतदान व्यवस्थापन अपेक्षाअनुसार प्रभावकारी नदेखिएको भन्दै कतिपय प्रतिनिधिले असन्तुष्टि जनाएका थिए ।











प्रतिक्रिया