कर छली गर्दै आइरहेको मणिपाल शिक्षण अस्पताललाई पोखरा महानगरपालिकाले उत्कृष्ट करदाताको रुपमा सम्मान गरेको छ । महानगरपालिकाले २० करोड राजस्व तिर्न बाँकी रहेको मणिपालालाई बुधवार ६७औँ स्थापना दिवसका अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो । केही समयअघि अख्तियारले यही विषयमा पोखरा महानगरपालिकामा छापा मारेर मनिपालको राजस्वसम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।
गत वर्ष असार १८ गते अख्तियारको क्षेत्रीय कार्यालय पोखराले मणिपाल शिक्षण अस्पताललाई नक्सा पासबापत नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएर भवन सम्पन्नको प्रमाणपत्र दिएको छानबिनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको थियो ।
पोखरा–११ फूलबारीमा २०५३ मा निर्माण सुरु भएर ०५९ मा सम्पन्न भएको अस्पताल भवन नौ तलाको छ । अस्पतालको ३२ रोपनी आफ्नै जग्गा छ भने १९२ रोपनी रक्षा मन्त्रालयसँग ४९ वर्षका लागि भाडामा लिइएको छ । अस्पताल निर्माणको लामो समयसम्म पनि भवन सम्पन्नको प्रमाणपत्र नलिएको मनिपालले अन्ततः राजस्वमा भारी छुट पाएपछि प्रमाणपत्र लिएको थियो । महालेखा परीक्षकको प्रतिवेदन २०७६-७७ ले मनिपालले नक्सापासबापत जरिवानासहित महानगरलाई २१ करोड ५७ लाख ११ हजार ७ सय ९८ रुपैयाँ बुझाउनुपर्ने उल्लेख गरेको थियो ।
तर, २०७९ चैत १० मा बसेको १६ औं कार्यपालिका बैठकले राजस्वमा भारी छुट दिने निर्णय ग¥यो । महानगरले एक करोड ७५ लाख ५३ हजार रुपैयाँ मात्रै असुलेर नक्सापास एवं भवन निर्माण सम्पन्न प्रमाणपत्र दिएको थियो । यसरी छुट हुन आउने राजस्व १९ करोड ८१ लाख ११ हजार रुपैयाँ हुन आउँछ ।
त्यस्तै, महालेखा परीक्षकको प्रतिवेदन २०७९-८० ले मनिपाल अस्पताललाई नियमअनुसार लाग्ने राजस्व छुट दिन नमिल्ने भन्दै असुल गर्न निर्देशन दिएको छ । राजस्व छुट दिनुको आधार र कारणसमेत उल्लेख नभएकाले असुल नै गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
चौतर्फी विरोध भएपछि महानगर प्रमुख धनराज आचार्यले मनिपाललाई कर छुट दिने कार्यपालिका बैठकको निर्णय बदर भएको बताएका थिए । यता, मनिपाल प्रशासनले भने एक विज्ञप्ति सार्वजनिक गर्दै ‘पटक–पटक नक्सा पास माग गर्दा नगरपालिकाले बेवास्ता गरेर करोडौं रुपैयाँ राजस्व बेरुजु देखाइयो । नक्सा स्वीकृति लिएर बनेको भवनलाई तेब्बर राजस्व लगाउनु गलत हो । यस सम्बन्धमा न्यायको बाटो खोज्छौँ’ भनेको थियो । महालेखा र पोखरा महानगरविरुद्ध मनिपाल प्रशासन अदालत पुगेको छ ।
महानगरपालिकाले कारबाहीको दायरामा ल्याउनुपर्ने संस्थालाई नै सम्मान प्रदान गर्नुले फेरी नयाँ चर्चा पाएको छ ।











प्रतिक्रिया