एमाले महाधिवेशन : उम्मेदवार धेरै हुँदा मतदान सुस्त, ढिलाइका कारण प्रतिनिधि असिनपसिन, केही बेहोस्


काठमाडौँ।

नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया जारी रहे पनि अत्यधिक ढिलाइ र अव्यवस्थाका कारण महाधिवेशन प्रतिनिधिहरूलाई समस्या भएको छ। विद्युतीय मतदान प्रणाली प्रयोग गरिए पनि मतदान अपेक्षाकृत सुस्त गतिमा अघि बढिरहेको छ।

कूल ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोगमा ल्याइए पनि उम्मेदवारको संख्या धेरै हुँदा मतदातालाई आफ्नो प्यानलका उम्मेदवार पहिचान गर्न नै कठिन परेको एमाले निर्वाचन आयोगले जनाएको छ। आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले बुधबार साँझ मिडिया सेन्टरमा जानकारी दिँदै मतदान क्रममा प्रतिनिधिहरू असिनपसिन हुने र केही त बेहोससमेत भएको बताए।

बुधबार बिहान सवा ९ बजेदेखि मतदान सुरु भएयता साँझ ५ बजेसम्म ८ सय २ मत खसेको आयोगले जनाएको छ। बेहोस भएका प्रतिनिधिको यकिन संख्या खुलाइएको छैन। उनीहरूलाई स्थलमै रहेको मेडिकल टिमले तत्काल प्राथमिक उपचार प्रदान गरेको पनि पोखरेलले जानकारी दिए।

उनका अनुसार एक मतदाताले मतदान गर्न औसतमा २५–३० मिनेट लाग्ने अनुमान गरिए पनि व्यवहारमा ९ मिनेटदेखि २ घण्टा १२ मिनेटसम्म समय लागेको छ। केही शीर्ष नेताहरूले समेत मतदान गर्न एक घण्टाभन्दा बढी समय लगाएका छन्।

हाल एक पटकमा करिब ८० जना प्रतिनिधि मतदान लाइनमा रहने व्यवस्था गरिएको छ। यही गतिमा मतदान अघि बढे रातभर मतदान जारी रहने सम्भावना रहेको आयोगले जनाएको छ। एक पटक मतदान प्रक्रिया सुरु भइसकेपछि बीचमै रोक्न नमिल्ने पोखरेलको भनाइ छ।

आयोगले बाँकी सबै मतदातालाई टोकन वितरण गरिसकेको जनाएको छ। अब मतदान गर्न लाइनमा बस्न नपर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ।