बैंक तथा वित्तीय संस्था लक्षित घटनाप्रति राष्ट्र बैंकको ध्यानाकर्षण


काठमाडौं ।

बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भएका विभिन्न घटनाप्रति नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था, नेपाल सरकार तथा सम्बन्धित निकायको संयुक्त प्रयासका कारण हाल सबै स्थानीय तहसम्म बैंकिङ सेवा विस्तार भइसकेको उल्लेख गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुरक्षित र व्यवस्थित सञ्चालन अत्यन्त आवश्यक रहेको स्पष्ट पारेको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ तथा राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह गर्ने, प्रवाह गरिएका कर्जाको अनुगमन गर्ने र कर्जा असुलउपर गर्ने कार्य सम्बन्धित बैंक तथा वित्तीय संस्थाको प्रमुख दायित्व भएको राष्ट्र बैंकले जनाएको छ । सर्वसाधारणबाट संकलित निक्षेपकै आधारमा कर्जा प्रवाह हुने भएकाले कर्जा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न समस्या आउन सक्ने र यसले तरलतामा प्रतिकूल असर पार्ने राष्ट्र बैंकको भनाइ छ । त्यसैले ऋणीले लिएको कर्जा नियमित रूपमा भुक्तानी गर्नुपर्नेमा जोड दिइएको छ ।

कुनै प्रतिकूल परिस्थितिका कारण ऋण भुक्तानीमा कठिनाइ उत्पन्न भएमा त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना, पुनरतालिकीकरणलगायतका व्यवस्था गर्दै आएको पनि स्पष्ट गरिएको छ ।
बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीविरुद्ध हुने गैरव्यावसायिक, गैरजिम्मेवार तथा उच्छृंखल गतिविधि नियन्त्रण नभएमा वित्तीय साधनको परिचालनमा समस्या आउने र यसले समग्र वित्तीय सेवा प्रवाह प्रभावित हुने राष्ट्र बैंकको चेतावनी छ ।