नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक मुनकर्मीविरूद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौँ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुनकर्मीविरुद्ध अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

मुनकर्मीले २०५४/११/०१ देखि २०८०/०८/१४ सम्म सरकारी पदमा कार्यरत रहँदा आफ्नो पारिश्रमिक, बचत, जग्गा बिक्री, ऋणरसापटी आय, शेयर तथा लाभांश, बोनस र अन्य वैधानिक आयका स्रोतहरूको कुल र ३ करोड ७३ लाख ८१ हजार ४ सय ४४ दशमलव २० मात्र आर्जन गरेका थिए।

तर सो अवधिमा मुनंकर्मी र उनको परिवारले जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, सुनको गरगहना, विमा भुक्तानी, अध्ययन शुल्क, ऋण तिर्ने, व्यवसायमा लगानी तथा बैंकरसहकारी खातामा जम्मा रकम गरी ६ करोड २४ लाख १५ हजार ९ सय ६१ दशमलव ३९ खर्च गरेको देखियो। यस अनुसार कुल आय भन्दा कुल व्ययमा २ करोड ५० लाख ३४ हजार ५ सय १७ दशमलव १९ बढी भएको पाइएको छ।

उक्त रकमको स्रोत पुष्टि भएको नदेखिएकोबाट मुनकर्मीले उक्त रकम बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको तथ्य प्रचलित कानून बमोजिम पेस गरेको सम्पत्ति विवरणसँग अमिल्दो तथा अस्वाभाविक देखिन आएको अनुसन्धानबाट देखिएको हाे।

मुनकर्मीले मनासिव कारण बिना वैधानिक आयको तुलनामा अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको स्थापित भएको तथा सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरी श्रीमतीको नाममा सम्पत्तिहरु खरिद गरेको देखिएको छ। अख्तियारले मुनकर्मी र उनको श्रीमती पूर्ण केशरी गोसाईमाथि विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

मुनकर्मीविरुद्ध २ करोड ५० लाख ३४ हजार ५ सय रुपैयाँ बिगो माग दावी गरिएको छ। साथै जरिवाना, कैद सजाय र स्रोत नखुलेको सम्पत्तिबाट बढेको रकम जफत गर्ने माग गरिएको छ। त्यस्तै, उनकी श्रीमती केशरीलाई भने प्रतिवादी कायम गरिएको अख्तियारले जनाएकाे छ ।