‘स्वदेशकै यात्रामा स्वर्ग भेटिन्छ’ 

564
Shares

लमजुङ।

अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका–२, सुपादेउराली हरियाली डाँडाकाँडा, खेतबारी, पाखा पँधेराले घेरिएको त्यही गाउँमा आमा मतिसरा गुरुङ र पिता प्रेमबहादुर गुरुङको कोखबाट जन्मिनुभएको हो  शुक्र राज गुरुङ । गाउँले वातावरण, आमाको माया, बाबाको कठोर परिश्रम र आफ्नै बाल्यकालका रमाइला सम्झनाहरुले उहाँलाई उस्तै उब्जनीका बिऊहरु जस्तै हुर्काउनुभयो । चञ्चले बानी अनि नयाँ–नयाँ ठाउँमा भ्रमण गर्न रुचाउने गुरुङ, उहाँको बाटो गाउँमा मात्र सीमित भएन । वि.सं. २०५२ सालमा परिवार कपिलवस्तुको बाणगंगा नगरपालिका–७ मा बसाई सर्‍यो  अनि उहाँको जीवनले पनि नयाँ दिशा पायो ।

शिक्षाको यात्रा सजिलो थिएन । पढाइमा उहाँ औसत भए पनि निरन्तरताले भने कहिल्यै पनि साथ छोडेन् । वि.सं. २०६१ सालमा बाणगंगास्थित जनज्योति माध्यमिक विद्यालयबाट एसएलसी उर्तिण गरे । त्यस पछि बाणगंगाकै सिद्धार्थ क्याम्पसमा कक्षा ११–१२ दोस्रो श्रेणीमा उर्तिण गरे । त्यसपछि बुटवल बहुमुखी क्याम्पसमा स्नातक तह पूरा गर्दा उहाँको जिन्दगीको अर्को ढोका खुल्यो । पढाइसँगै मोटरसाईकल सर्भिसिङ र सेक्युरिटी गार्ड तालिम लिँदै उहाँले जीवनलाई व्यवहारिक सीपसँग पनि जोड्नुभयो । 

गुरुङले २०६८ सालतिर स्नातकोत्तर तहको पढाइ सुरु गरेपछि पढाइको सिलसिलामै सोही वर्ष वल्र्ड भिजन इन्टरनेशनलमा ईन्टर्नसिप गर्ने अवसर पाउनुभयो । त्यो इन्टर्नसिपले उहाँलाई पेसागत जीवनतर्फ डो¥यायो ।  २०६९ सालमा जुम्लामा पहिलो नियुक्ति भएपछि उहाँले पहिलोपटक जन्मथलोभन्दा भिन्न भूगोल र संस्कृतिको स्वाद लिनुभयो । छिमेकी जिल्लाको रारातालको निलो आँखाले जीवनलाई नयाँ परिभाषा दियो । राराकै निलो सौन्दर्य, जुम्लाकै चिसो रातहरु र त्यहाँको सरल जनजीवनसँग उहाँको मन कस्सिँदै गयो ।

जुम्लाको अनुभव र राराको पहिलो भेट

जुम्ला, कठ्याङिग्रएको चिसो, साँघुरा बाटो, उकाली–ओराली, टाढा टाढासम्म फैलिएका डाँडाकाँडा । यिनै बीचमा पहिलोपटक गुरुङले राराताल देख्नुभयो । राराताल केबल ताल मात्र थिएन, त्यो त मानौं नीलो आकाश भुँइमा ओर्लिएको स्वर्ग जस्तै थियो । जीवनको हरेक पीडा र थकाई उहाँले राराको छालमा हराएको जस्तो लाग्थ्यो । उहाँलाई वल्र्ड भिजनबाट नै विदेश जाने अवसर प्राप्त भएको थियो । फिलिपिन्स जाने तयारी हुँदै थियो तर २०७२ को बिनाशकारी भूकम्पले परिस्थिती बदलियो । त्यसलै उहाँले देशमै सेवा गर्न र यहिँको यात्रा गर्न अझ प्रेरित गर्यो । 

तीन वर्षको जुम्ला बसाइँपछि गुरुङ विराटनगर सरुवा हुनुभयो । कामको चाप, कार्यालयको व्यस्तता, अनि कहिलेकाहीँ दिक्क लाग्ने दिनहरुलाई हराउने उपाय उहाँको लागि यात्रा नै थियो । धरान, भेडेटार, नमस्ते झरना, बसन्तपुरजस्ता स्थानहरुले उहाँको मन फुरुङ्ग बनाइरहे । तर सहकर्मीहरुसँग घुम्न जाने योजनाहरु बनाए पनि पूरा कहिल्यै भएनन् । अन्ततः उहाँले आफू एक्लै मुस्ताङ जाने निर्णय गर्नुभयो । पोखरामा साथी कृष्ण श्रेष्ठसँग भेट भएपछि दुवैजना मोटरसाईकलमा मुस्ताङ जान निस्किए । उकाली ओराली, धुलाम्मे बाटो र कठ्याङ्ग्रिने चिसोलाई पार गर्दै उहाँहरु लोमन्थाङ र कोरला नाकासम्म पुगेर फर्किनुभयो । चीनसँग जोडिएको सिमानासम्म पुग्दा उहाँहरुलाई लाग्यो, जिन्दगीमा पहिलोपटक आफूले आफ्नै देशभित्रै अर्को संसार देखेको ।

तिलिचो ताल र यात्राको सङ्कल्प

२०७४ सालमा तिलिचो ताल पुग्दा गुरुङले महसुस गर्नुभयो । हिमाल र तालको बीचमा उभिँदा मान्छे आफैं स्वर्गको अंश बनेको जस्तो हुन्छ । कतिपय साथीहरुले “त्यहाँ जानु खतरनाक छ” भनेर रोक्न खोजे पनि उहाँको यात्रा रोकिएनन् । किनकि उहाँलाई लाग्थ्यो देशका प्राकृतिक सौन्दर्यलाई देख्न र महसुस गर्न नसकेसम्म आफ्नो जीवन अधुरो रहन्छ । तिलिचोको यात्रापछि उहाँले आफैसँग एउटा बाचा गर्नुभयो । हरेक वर्ष नयाँ ठाउँ पुग्ने । त्यसपछि उहाँले रारा ताललाई मात्रै नौ पटक भ्रमण गर्नुभयो । हरेक पटक नयाँ रुप, नयाँ रङ र नयाँ अनुभूतिका साथ । 

महामारीले रोके पनि सपना रोकिएन

२०७६ सालमा सरकारले भिजिट नेपाल २०२० घोषणा गर्दा उहाँले रसुवा हुँदै केरुङ र चिनको जिरोङ सम्मको यात्रा गर्नुभयो । तर त्यसलगत्तै सुरु भएको कोरोना महामारीले संसारलाई रोकिदियो । मानिसहरु घरभित्रै कैद भए, बाटोहरु सुनसान भए । जब कोरोनाको डर कम हुँदै परिस्थिती केहि खुकुलो बन्दै गयो । उहाँका पाइलाहरु पनि पुन लक्षतिर अघि बढ्यो । मानसिक स्वास्थ्यलाई सन्तुलनमा राख्न व्यक्तिगत सुरक्षाका उपायहरु अपनाउदै उहाँले जुम्लाकै डाँफे लेक, चिमरा लेक र गुठीचौर हिँड्नुभयो । जब लकडाउन केही खुकुलो भयो, उहाँ पूर्वका पाँचथर, तेह्रथुम, शंखुवासभा, भोजपुर, खोटाङसम्म पुग्नुभयो । दोस्रो लकडाउनपछि उहाँ से–फोक्सुण्डोताल पुग्नुभयो । त्यतिबेलासम्म उहाँले हुम्ला र दार्चुलाबाहेक नेपालका ७५ जिल्लाको यात्रा पूरा गरिसक्नुभएको थियो । त्यसैगरी, सन् २०२३ मा उहाँ पहिलोपटक केबल घुम्नकै उद्देश्यले दुबई जानुभएको थियो ।

२०७८ साल माघ १७ गते जुम्लाबाट सरुवा भई उहाँ लमजुङ आउनुभयो । लमजुङ हिमालको काखमा रहेको बेसीशहरमा कार्यालय भएकाले उहाँको बसाइ पनि त्यहीँ रह्यो । लमजुङको चिसो हावा, रमाइलो पहाड, मन लाग्दा घुम्न पाइने ठाउँ र यहाँको मान्छेको सौहार्दताले उहाँको साढे तीन वर्षको बसाइ सहज र आत्मीय बनाइदियो । परिवार टाढा भए पनि लमजुङमा उहाँले परिवारकै जस्तो वातावरण पाउनुभयो । उहाँ हाल लमजुङमै कार्यरत हुनुहुन्छ ।

यात्राबाट जीवनको अर्थ

शुक्रराज गुरुङका लागि यात्राहरु केबल रमाइलोको साधन थिएनन्, त्यो जीवनको आधारभूत प्रेरणा थियो । विदेश जान नसकेको पिर कहिलेकाहीँ मनमा आउँथ्यो, तर नेपालकै यात्राले उहाँलाई सन्तोष दियो । मुस्ताङको कठ्याङ्ग्रिने हावा, तिलिचोको निलो जल, राराको अनगिन्ती रुप, से–फोक्सुण्डोको गहिरो सौन्दर्य । यी सबै अनुभवहरुले उहाँलाई सिकाए ।  जिन्दगी भनेको आफैंलाई खोज्ने यात्रा हो । उहाँसँग अझै एउटा सपना बाँकी छ । नेपालका सबै ७७ जिल्लाहरु पुगेर भ्रमण गर्ने । दुई जिल्लाको बाटो बाँकी छ, तर उहाँको आँखामा त्यसको उत्साह झल्किइरहेको छ । किनकि उहाँले बुझिसक्नुभएको छ कि जिन्दगीको सबैभन्दा ठूलो आनन्द भनेको बाटोमा निस्कनु हो, अनि बाटोमै जीवनको कविता पढ्नु हो ।