ट्रम्पद्वारा बीबीसीविरुद्ध ५ अर्ब डलरको मानहानि मुद्दा दायर


काठमाडौँ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतको सरकारी प्रसारण संस्था बीबीसीविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन् । जनवरी ६, २०२१ मा दिएको आफ्नो भाषणलाई गलत तरिकाले सम्पादन गरी प्रस्तुत गरिएको दाबी गर्दै ट्रम्पले बीबीसीमाथि कानुनी कारबाही अघि बढाएका हुन् ।

ट्रम्पका अनुसार बीबीसीले उनको भाषणका केही अंश मात्र जोडेर प्रसारण गर्दा उनले समर्थकहरूलाई अमेरिकी संसद् भवन क्यापिटलमा आक्रमण गर्न उक्साएको जस्तो देखिने वातावरण बनाएको छ । वास्तविकतामा भने सोही भाषणमा उनले समर्थकहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न आग्रह गरेको महत्त्वपूर्ण अंश हटाइएको ट्रम्पको आरोप छ ।

सीएनएनका अनुसार उक्त गलत सम्पादनका कारण आफ्नो व्यक्तिगत प्रतिष्ठा र आर्थिक हैसियतमा गम्भीर क्षति पुगेको दाबी गर्दै ट्रम्पले कम्तीमा ५ अर्ब अमेरिकी डलर क्षतिपूर्ति माग गरेका छन् ।

यस विषयमा बीबीसीले भने यसअघि नै गल्ती भएको स्वीकार गर्दै सार्वजनिक रूपमा माफी मागिसकेको जनाएको छ । तर, ट्रम्पले दायर गरेको मुद्दामा कुनै ठोस कानुनी आधार नरहेको बीबीसीको भनाइ छ । विवादित वृतचित्र प्रसारण प्रकरणपछि बीबीसीका दुई जना उच्च तहका अधिकारीहरूले राजीनामा दिएको पनि स्मरणीय छ ।

यसअघि पनि ट्रम्पले सीबीएस, एबीसी लगायतका अमेरिकी सञ्चार संस्थाविरुद्ध यस्तै प्रकृतिका मुद्दा दायर गरेका थिए । तीमध्ये केही मुद्दा आपसी सम्झौतामार्फत टुंग्याइएका थिए ।

बीबीसीविरुद्ध दायर पछिल्लो मुद्दाले अन्तर्राष्ट्रिय सञ्चार माध्यमको सम्पादकीय स्वतन्त्रता, तथ्य सम्पादनको जिम्मेवारी र राजनीतिक व्यक्तित्वहरूको कानुनी रणनीतिबारे नयाँ बहस सुरु गराएको विश्लेषकहरूको भनाइ छ ।