नेतृत्वको अहंकार र वैचारिक संकट


इतिहासकै एक सकस समयमा नेपालको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण योगदान पु¥याएको नेकपा (एमाले) को १२ औं महाधिवेशन भइरहेको छ । भदौ २३ र २४ गते भएको जेन्जी विद्रोहपछि सत्ताबाट हट्नुपरेको पृष्ठभूमिमा भएको सो पार्टीको महाधिवेशनले अहिलेको जनमतलाई प्रतिविम्बित गर्दै मुलुकमा देखा परेका यावत् संकटको समस्यालाई दिशाबोध दिनुपर्ने अत्यन्त आवश्यक थियो ।

सो पार्टीका अध्यक्ष केपी शर्मा ओली सरकार प्रमुख हुँदा भएको विद्रोहमा भएको नरसंहार, क्षति, ध्वंशको नैतिक जिम्मेवारी लिँदै आत्मालोचित हुनुपर्ने विषय जनमानसमा उठिरहेको छ । तर सो घटनाको नैतिक जिम्मेवारीसमेत लिन नचाही उल्टै सदाझैँ घृणा र मिथ्या अभिभानको उन्माद देखियो । अर्कोतर्फ तीन महिनाअघि लाखौं रकम खर्च गरेर गरिएको विधान अधिवेशनको समेत औचित्यहीन हुने गरी केन्द्रीय सदस्य संख्या थप्ने तजबिज गर्नतर्फ अग्रसर भएको दृश्य पार्टीभित्र नेताको स्वेच्छाचारिताको स्वरुपको एउटा स्पष्ट चित्र थियो ।

दलभित्रको आन्तरिक पुनर्गठनको विषयमा पार्टीभित्र र बाहिर उठिरहेको आवाजलाई एउटा भद्दा मजाक ठान्ने ओलीको कदम साँच्चीकै निन्दनीय रहेको छ । यो आफ्नो स्वभाव र कार्यशैली पटक्कै सुधार्न नचाहेको प्रमाण हो । यसको परिणाम केवल पार्टीभित्र मात्र सीमित हुँदैन, पार्टीबाहिरको सरोकारको विषय पनि हो ।

हुन त सो पार्टीको चितवनमा भएको ११ औं महाधिवेशन जसरी वैचारिक शून्य र केवल पार्टी अध्यक्षले नै नेतृत्व चयन गर्ने मञ्चका रुपमा प्रयोग भयो, त्यसको पृष्ठभूमिमा अहिलेको महाधिवेशनमा देखा परेको दृश्य स्वाभाविक पनि हो । तर मुलुकमा चुलिँदो भ्रष्टाचार, शासकीय बेथितिको विरुद्धमा भदौ २३ र २४ गते जुन विद्रोह भयो, विद्रोहका बीच जुन ध्वंस भयो, त्यसमा सो पार्टीले आत्मालोचना गर्दै म्ुलुकका यावत् समस्या समाधानको बाटो अख्तियार गनुपर्ने थियो ।

पार्टीभित्र सर्वसम्मत नेतृत्वका रुपमा रहेका अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वमा च्ुनौती दिँदै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्षमा उम्मेदवारी दिँदै हुनुहुन्छ । यस्तो बेला दुईपटक भन्दा अध्यक्ष नहुने आफ्नो पूर्वप्रतिबद्धता कार्यान्वयन गर्ने स्वर्णिम अवसरका रुपमा लिन सकिन्थ्यो ।

तर पार्टीभित्र उहाँले विधान महाधिवेशन, देशमा भएको यावत् घटना केहीलाई पनि महत्व नदिई एकोहोरोरुपमा पार्टी अजम्बरी रहेको र आफू अमर रहेको सन्देश प्रवाह गरिरहनुभएको छ । यसले एमालेलाई कहाँ पु¥याउने हो ? देश र जनतासामु देखिएका यावत् समस्या कसरी समाधान गर्ने हो ? अहिले नै भन्न सकिने स्थिति छैन । यसले पार्टीको विश्वसनीयता र जनसमर्थनमा गिरावट ल्याएको छ । नेतृत्वको अहंकार, सत्ता सम्हाल्दा देखिएको भ्रष्टाचार र राजनीतिक प्रतिशोधले एमालेको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको छ ।

नेकपा एमालेको महाधिवेशन यस समयमा पार्टीको भविष्य र राजनीतिक साखको लागि निर्णायक बन्न सक्छ । पार्टीलाई नयाँ नेतृत्व, वैचारिक स्पष्टता, पारदर्शिता र जनसमर्थन निर्माण गर्ने प्रक्रियामा केन्द्रित हुनु आवश्यक छ । यदि एमाले यस चुनौतीलाई सामना गर्न सक्षम भएमा त्यसले राष्ट्रिय शक्ति बन्ने आफ्नो आकांक्षा पूरा गर्न सक्छ, अन्यथा यो पार्टीको सांगठनिक शक्ति सशक्त भए पनि वैचारिक हीनताले देश र जनताको हितका लागि उच्चतम सदुपयोग हुने छैन ।

एमालेभित्र पनि देश र जनताको हितका लागि जीवनपर्यन्त संघर्ष गरेका निष्ठावान् नेताहरु अझै छन् । तिनीहरुको आवाजलाई स्पन्दन गर्न सक्नुपर्दछ । कार्यकर्ता र जनतामा विश्वास पुनः निर्माण गर्न, पार्टीले समर्पित नेतृत्व, निष्ठा र निष्पक्ष कार्यशैलीलाई प्राथमिकतामा राख्नुपर्नेछ । शक्ति प्रदर्शनको आधारमा आत्मसन्तुष्ट हुनु भनेको आत्मघाती ठहर्ने निश्चित छ ।