काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७८÷७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९÷८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको भन्दै सोमबार मुद्दा दायर गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताउनुभयो ।
सहायक प्रवक्ताका अनुसार प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरुणकुमार कुशियतविरुद्ध जनही ८ लाख ६२ हजार १ सय ५२ रुपियाँ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । आ.व.२०७६÷०७७ मा आईसीटी ल्याब व्यवस्थापन शीर्षकमा विदेह नगरपालिकाबाट ६ लाख ५० हजार लिई खर्च नगरी आफूहरूले लिएका थिए । सो कार्य ढाकछोप गर्न र गराउन ल्याबसम्बन्धी सामग्रीहरू खरिद गरेको भनी विदेह नगरपालिकालाई झुट्टा तथा गलत प्रतिवेदन पेस गरिएको थियो ।
सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार ल्याब सामग्री खरिद गर्दा कुनै पनि प्रक्रिया पूरा नगरीकन पछि प्रक्रिया पूरा गरेको देखाउन नक्कली कोटेसन खडा गरेको÷गर्न लगाएको, खरिद आदेश, दाखिला प्रतिवेदन, खर्च नहुने समानहरूको जिन्सी खातालगायतका अभिलेख राखेको नदेखिएको अख्तियारले जनाएको छ ।
त्यसै गरी, आ.व.२०७८÷०७९ को ल्याब व्यवस्थापन कार्यका लागि खरिद गरिएको ८७ हजार ५ सय रुपियाँ मूल्य बराबरको प्रोजेक्टर तथा आ.व.२०७९÷०८० मा ल्याब व्यवस्थापनका लागि खरिद गरिएको आव २०७८÷७९ को आईसीटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको ८७ हजार ५ सय बराबरको प्रोजेक्टर तथा आव २०७९÷८० मा आईटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको १ लाख २४ हजार ६ सय ५२ रुपियाँ बराबरको सफ्टवेयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदेखिएको पनि अभियोगपत्र उल्लेख गरिएको छ ।
ठाकुर र कुशियतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानि नोक्सानी तथा दुरुपयोग गरेको हँुदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।











प्रतिक्रिया