काठमाडौं ।
चक्रवात ‘डिट्वा’ का कारण श्रीलंकामा आएको भीषण वर्षा, बाढी र पहिरोले देशभर गम्भीर मानवीय संकट निम्त्याएको छ । सरकारी तथ्यांकअनुसार विभिन्न प्रान्तमा करिब १८ लाखभन्दा बढी नागरिक प्रभावित भएका छन् भने दर्जनौँले ज्यान गुमाएका छन् । हजारौँ परिवार घरबारविहीन भई विद्यालय, सार्वजनिक भवन र अस्थायी शिविरमा आश्रय लिन बाध्य भएका छन् ।
डिसेम्बरको दोस्रो सातादेखि लगातार परेको वर्षाका कारण मध्य, पूर्वी तथा पहाडी जिल्लाका खोलानाला उर्लिंदा बस्ती डुबानमा परेका छन् । पहाडी क्षेत्रमा गएको पहिरोले घर, सडक र कृषि जमिनमा ठूलो क्षति पुगेको छ । यातायात अवरुद्ध हुँदा राहत तथा उद्धार कार्यमा समेत चुनौती थपिएको अधिकारीहरूले बताएका छन् ।
श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रका अनुसार हजारौँ घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सुरक्षित खानेपानीको अभाव र दूषित पानीका कारण झाडापखाला, छालारोग र श्वासप्रश्वाससम्बन्धी संक्रमण फैलिने जोखिम बढेको स्वास्थ्य अधिकारीहरूले चेतावनी दिएका छन् । विशेषगरी बालबालिका, वृद्ध र गर्भवती महिलाहरू बढी जोखिममा परेका छन् ।
यसैबीच, अन्तर्राष्ट्रिय मानवीय संस्था डाक्टर्स विदाउट बोर्डर्स (मेडेसिन्स सान्स फ्रन्टियर्स–एमएसएफ) ले बाढीपीडितका लागि राहत सहयोग विस्तार गरेको छ ।
एमएसएफले १ हजार जाडोमा प्रयोग हुने पाल र १ हजार ५ सय हेभी–ड्युटी प्लास्टिक पाना श्रीलंकाको विपद् व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको जनाएको छ । दक्षिण एसियाका लागि एमएसएफकी मिडिया आउटरिज अफिसर निश्चिता भेरेन्द्रद्वारा जारी मिडिया नोटअनुसार यी सामग्री डिसेम्बर १४ मा हस्तान्तरण गरिएका हुन् ।
एमएसएफका अनुसार ती पालहरू विशेषगरी चिसो र पहाडी क्षेत्रका विस्थापित परिवारलाई लक्षित गरी तयार गरिएका हुन् । सुरक्षित, न्यानो र टिकाउ आश्रय उपलब्ध गराउने उद्देश्यले वितरण गरिएका यी सामग्रीले कठोर मौसमबाट हुने जोखिम कम गर्नुका साथै सरुवा रोगको सम्भावना घटाउने अपेक्षा गरिएको छ ।
श्रीलंकामा एमएसएफका आपत्कालीन संयोजक डेभिड क्रफ्टले चुनौतीपूर्ण अवस्थामा विस्थापित समुदायलाई सुरक्षित आश्रय उपलब्ध गराउनु मानवीय प्रतिक्रियाको महत्वपूर्ण पक्ष भएको बताउनुभयो । ‘परिस्थिति निरन्तर परिवर्तन भइरहेको छ । हामी स्थानीय साझेदारहरूसँग मिलेर आवश्यकताअनुसार हाम्रो प्रतिक्रिया अनुकूलन गर्दै पुनःस्थापना प्रयासलाई समर्थन गरिरहेका छौँ’ –उहाँले भन्नुभयो ।
आश्रय सामग्रीसँगै एमएसएफले ५ सय राहत किट र ५ सय सुख्खा रासन किट वितरण गरिसकेको छ । साथै सुरक्षित मातृ स्वास्थ्य सेवाका लागि २ सय ५० प्रसूति किट र आपत्कालीन आश्रयस्थलमा महिला तथा किशोरीको मर्यादा र सुरक्षाका लागि ४ सय ‘डिग्निटी किट’ वितरणको तयारी भइरहेको छ ।
विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण दक्षिण एसियामा चक्रवात र अतिवृष्टिको जोखिम बढ्दो छ । कमजोर पूर्वाधार र जोखिमयुक्त बस्तीका कारण श्रीलंका अझ संवेदनशील अवस्थामा रहेको भन्दै सरकार, अन्तर्राष्ट्रिय निकाय र स्थानीय समुदायबीच प्रभावकारी समन्वय भएमात्र राहत, पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माण सम्भव हुने निष्कर्ष निकालिएको छ ।











प्रतिक्रिया