अस्ट्रेलिया घटनाका आक्रमणकारी बाबु–छोरा भएको पुष्टि


काठमाडौं ।

अस्ट्रेलियाको सिड्नीस्थित बोन्डाइ सामुद्रिक किनारमा यहुदी समुदायले ‘हानुक्का’ पर्व मनाइरहेको स्थानमा आइतबार गरिएको गोली प्रहारमा संलग्न दुई बन्दुकधारी बाबु–छोरा भएको पुष्टि भएको छ । स्थानीय प्रहरी प्रशासनले आक्रमणकारी ५० वर्षीय बाबु र उनका २४ वर्षीय छोरा भएको जानकारी सार्वजनिक गरे पनि उनीहरूको पूर्ण पहिचान खुलाएको छैन । तर, स्थानीय सञ्चार माध्यमहरूले भने बुबाको नाम साजिद अकरम र छोरा नविद अकरम रहेको बताएको छ । ती सञ्चार माध्यमहरूका अनुसार साजिद सन् १९९८ मा विद्यार्थी भिसामा अस्ट्रेलिया पुगेर पछि त्यहीँको नागरिक बनेका हुन् भने उनको छोरा भने त्यहीँ जन्मिएको अस्ट्रेलियाली नागरिक हुन् ।

यसैबीच भारतीय सञ्चार माध्यमहरूले भने ती बाबु–छोरा पाकिस्तानी मूलका भएको बताएका छन् । उक्त आक्रमणमा १० वर्षीया बालिकासहित १५ जना मारिएका थिए भने आक्रमणकारी साजिदको पनि प्रहरी कारबाहीमा घटनास्थलमै मृत्यु भएको थियो । उनका छोरा भने अस्पतालमा उपचाररत् छन् । उनको अवस्था गम्भीर छ । आक्रमणमा दुई प्रहरीसहित ४० जना घाइते भएका थिए । उनीहरूको पनि अस्पतालमा उपचार भइरहेको छ ।

ठूलो परिमाणमा दक्षिण एसियाली नागरिक रहेको अस्ट्रेलियामा भएको यस आतंककारी आक्रमणले उस्तै अनुहारका नेपालीहरू पनि प्रभावित भएको स्थानीय आप्रवासी नेपालीहरूले बताएका छन् । ‘यसै पनि विदेशी नागरिकलाई अस्ट्रेलिया ल्याउनुहुन्न भनेर रैथाने अस्ट्रेलियालीहरू आन्दोलन गरिरहेका छन्, पाकिस्तानी मूलका व्यक्तिबाट भएको यस आक्रमणले हामी थप असजिलोमा प¥यौं’ नाम उल्लेख नगरिदिन अनुरोध गर्दै नेपाल समाचारपत्रलाई एक विद्यार्थीले बताए ।

‘हामीलाई पनि प्रहरीले सोधपुछ गर्ने, शंकाको आँखाले हेर्ने गरेको छ’ चार वर्षदेखि सिड्नीमा बस्दै आएका उनले ह्वाट्सएपमा भने ।
अस्ट्रेलियामा आम नागरिकले बन्दुकजस्ता घातक हतियार राख्न पाउँदैनन् । त्यहाँ हातहतियार नियन्त्रणका लागि कडा कानुनी व्यवस्था छ । अस्ट्रेलियामा यो घटना पछिल्ला करिब तीन दशकयताकै सबैभन्दा घातक गोलीकाण्ड मानिएको छ ।
न्यु साउथ वेल्स प्रहरी आयुक्त माल ल्याननले दिएको जानकारी अनुसार आक्रमणकारीका बारेमा अनुसन्धान जारी छ । तर, भारतीय सञ्चार माध्यमहरूले आक्रमणकारीद्वय पाकिस्तानी मूलका व्यक्ति हुन् । अकरमको न्यु साउथ वेल्सको ड्राइभिङ लाइसेन्सको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा उनी पाकिस्तानी क्रिकेट टिमको जर्सीजस्तै देखिने हरियो सर्ट लगाएको अवस्थामा देखिन्छन् ।

बोन्डाइ समुद्री किनारमा भएको यस आक्रमणमा तालिबानी आतंककारी समूहको हात हुनसक्ने पनि अर्काथरिको अनुमान छ । खालिद अल–नाबुल्सी नामका आतंककारी सन् २०२१ को अन्त्यतिर अस्ट्रेलिया प्रवेश गरेको उनीहरूको दाबी छ । खालिदको फेसबुक प्रोफाइलअनुसार, उनले सन् २०१९ मा आक्विस नामको अल–कायदासम्बन्धी संगठनसँग प्रशिक्षण लिएको उल्लेख गरिएको छ ।