काठमाडौँ ।
ज्योति विकास बैंकले आफ्ना दुई जना कर्मचारीमाथि भएको गम्भीर आपराधिक घटनाप्रति घोर निन्दा र भर्त्सना गरेको छ। बैंकका अनुसार रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा. लि.सँग कर्जाको किस्ता नियमित गर्ने विषयमा छलफल गर्न पुगेका कर्मचारीमाथि नियोजित रूपमा दुर्व्यवहार तथा आक्रमण भएको हो।
बर्दिबास क्षेत्रीय कार्यालयबाट खटाइएका ती कर्मचारीहरू पूर्वसम्झौताअनुसार संवादका लागि फर्म पुगेका बेला फर्मका सञ्चालक, उनका परिवारका सदस्य तथा सहयोगीहरूले नियन्त्रणमा लिई घण्टौँसम्म राखी ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको बैंकले जनाएको छ। घटनामा बहालवाला उपमेयरको समेत संलग्नता रहेको उल्लेख गर्दै बैंकले यसलाई अत्यन्त खेदजनक बताएको छ।
कर्मचारीहरूलाई धितो लिलामी स्थगनसम्बन्धी निर्णय केन्द्रिय कार्यालयबाट तत्काल लिखित रूपमा नआए ज्यान लिने धम्की दिइएको र बाध्यात्मक अवस्थामा पत्र दिनुपरेको बैंकको भनाइ छ। बैंकले दोषीहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइसकेको र यस्ता आपराधिक गतिविधिविरुद्ध कडाइका साथ उभिने प्रतिबद्धता व्यक्त गरेको छ।












प्रतिक्रिया