–राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, ३ मन्त्री, प्रधानसेनापति सहभागी
–प्रधानमन्त्री, गृह, सूचना प्रविधि र शिक्षामन्त्री आएनन्
–भर्खरै नियुक्ति भएका ४ मन्त्रीलाई निम्तो दिइएन
–भ्याली मेयर्स फोरमको कोही पनि आएनन्
काठमाडौं ।
काठमाडौं महानगरपालिकाको ३१औँ स्थापना दिवसमा भीआईपीको लर्को देखिएको छ । जेन–जीको बलमा बनेको सुशीला कार्कीको नेतृत्वको सरकारमा पहिलोपटक नियुक्ति गरिएका अधिकांश मन्त्रीको उपस्थिति रहेको थियो । तीन दशकको इतिहासमा यति धेरै मन्त्रीको उपस्थिति भएको पहिलो पटक हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न स्थापना दिवसमा कार्यव्यस्तताको कारण देखाउँदै प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थिति भएन । एक हप्ताअघि निम्तोपत्र पठाए पनि प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थिति हुन नसकेकोमा महानगरपालिकाले गुनासो गरेको छ ।
कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादव, सभामुख देवराज घिमिरे, रािष्ट्रयसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, अर्थमन्त्री रामेश्वर खनाल, सहरी विकास मन्त्री कुलमान घिसिङ र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रधानसेनापति अशोकराज सिग्देलको उपस्थिति रहेको थियो । मेयर साहले प्रमुख अतिथिलाई करिब दुई साताअघि नै निमन्त्रणा पठाउनुभएको थियो ।
कार्यक्रममा केही दिनअघि मन्त्रीको पदभार सम्हालेका कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठलाई निमन्त्रणा दिइएको थिएन । समय अभावका कारण भर्खरै नियुक्त हुनुभएका चार मन्त्रीलाई निन्तो नदिएको हो । बाँकी सबैलाई इमेल, पत्र र टेलिफोनबाट निम्तो गरेका थियौं । प्रधानमन्त्री र गृहमन्त्रीले पूर्वनिर्धारित कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले उपस्थिति नजनाइएको बुझिएको छ । निम्ता दिएर पनि कानुनमन्त्री अनिलकुमार सिन्हा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनको उपस्थिति थिएन ।
मेयर बालेन्द्र साहले मेयर्स फोरमलाई अपहेलना गरेका कारण फोरमले सहभागिता जनाएन । कामपाले मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहित सबै सदस्यलाई निमन्त्रणा दिएको थियो । तर, उपस्थिति देखिएन । मेयर साहको कार्यकाल सुरु भएयता प्रधानसेनापतिको उपस्थिति हुने गरेको छ । मेयर साहकै कार्यकाल सुरु भएदेखि महानगर दिवस सैनिक मञ्च टुँडिखेलमा मनाउन थालिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनअपेक्षाअनुसार महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले ‘प्राकृतिक तथा मानव सिर्जित सम्पदाको संरक्षण, हरियाली प्रवर्धन, एकीकृत सहरी विकास, सुविधा वितरण र सेवा प्रवाहमा विद्युतीय प्रणालीको प्रयोग काठमाडौं महानगरपालिकाले गरेका उदाहरणीय काम हुन् भन्नुभयो ।
समारोहमा महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरबासीले आफू महानगरपालिकामा बसोबास गर्न पाएकोमा गौरव महसुस गर्ने गरी दत्तचित्तले नीति, योजना, बजेट तथा कार्यक्रम तर्जुमा गरिएको बताउँदै अहिलेसम्म प्राप्त उपलब्धिबारेमा बोल्नुभएको थियो ।
उहाँले २०८ रोपनी सार्वजनिक जग्गा सार्वजनिक काममा फिर्ता गरिएको, १ हजार ८ सय ५० रोपनी जग्गा फिर्ता गराउने योजना रहेको, धुलोरहित सडकअन्तर्गत ५५ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गरिएको, ६२ वटा चोकमा हाइमास्ट बत्ती जडान गरिएको, सार्वजनिक खरिद प्रक्रियाबाट करिब १ अर्ब २८ करोड रुपियाँ बचत गरेको, सामुदायिक शिक्षाको सुधार, जोखिमपूर्ण श्रममा रहेका र यौन हिंसामा परेका बालबालिकाको उद्धार, अस्थायी संरक्षण र पारिवारिक पुनर्मिलन गराएको, विद्युतीय कार्यालय सञ्चालन प्रणालीलगायत सुधारका कामलाई प्रतिनिधि उपलब्धि भएको जानकारी दिनुभयो ।
उपप्रमुख सुनिता डंगोलले स्थानीय सुशासन र स्वशासनको अभ्यास प्रारम्भ भएका विशेष दिनमध्ये काठमाडौंलाई महानगरपालिका घोषणा गरिएको दिनलाई नागरिकका आँगनमा बृहत् दृष्टिसहितको स्थानीय सरकार स्थापना भएको दिनका रूपमा स्मरण गर्न चाहेको बताउनुभयो ।
समारोहमा देशको गरिमा बढाउन विभिन्न क्षेत्रमा रहेर योगदान पु¥याउने १५ जनालाई सम्मान गरिएको थियो । राष्ट्रपति पौडेल, प्रमुख साह र उपप्रमुख डंगोलले उहाँहरूलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेमा सांस्कृतिक अध्येता तथा नेवाः मानवअधिकारकर्मी चुन्दा वज्राचार्य, वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार विजयकुमार पाण्डे, शिक्षाविद् केदारभक्त माथेमा, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, नेपाली क्रिकेटर सोमपाल कामी, महिला भलिबल क्याप्टेन जेनिशा विश्वकर्मा, युरोलोजिस्ट डा. सञ्जय खड्गी, साहित्यकार प्रकाश सायमी, पौडी खेलाडी नयना शाक्य, फिफाका पूर्व रेफ्री ज्ञानुराजा श्रेष्ठ, ललितकलाकर्मी गोविन्दलाल डंगोल, पावर लिफ्टिङ खेलाडी रुवी श्रेष्ठ, महिला क्रिकेटर इन्दु बर्मा र समाजसेवी रञ्जनलाल श्रेष्ठ छन् । सबैलाई जनही १ लाख रुपियाँ नगदसहित सम्मान प्रदान गरिएको हो ।
समारोहमा महानगरपालिकाको गरिमा अभिवृद्धिमा योगदान पु¥याएबापत ७ जना जनप्रतिनिधिलाई जनही १ लाख रुपियाँसहित स्थानीय सेवा गौरव पुरस्कार २०८२ बाट सम्मानित गरियो ।











प्रतिक्रिया