काठमाडौँ।
नर्स तथा स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिक, सेवा सुविधा र कार्य वातावरण सुधारका विषयमा गठित सरकारी कार्यदलले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतमलाई बुझाएको छ । मंसिर २९ गते कार्यदलले अध्ययन तथा छलफलपछि तयार पारेको सुझावसहितको प्रतिवेदन मन्त्रीलाई हस्तान्तरण गरेको हो ।
अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठित २१ सदस्यीय कार्यदलले नर्स तथा स्वास्थ्यकर्मीहरूको पेशागत सुरक्षा, न्यूनतम पारिश्रमिक निर्धारण, सेवा सुविधा र कार्य वातावरण सुधारका विषयमा विस्तृत अध्ययन गरेको जनाएको छ । प्रतिवेदनमा निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्स तथा स्वास्थ्यकर्मीहरूको श्रम अधिकार, पारिश्रमिकको असमानता र सेवा सुविधामा देखिएको अन्तरलाई सम्बोधन गर्ने सिफारिसहरू समावेश गरिएको बताइएको छ ।
प्रतिवेदन बुझ्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. गौतमले स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेका नर्स तथा स्वास्थ्यकर्मीहरूको योगदान अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले कार्यदलका सुझावहरूलाई गम्भीरतापूर्वक अध्ययन गरी आवश्यक नीतिगत निर्णय लिने प्रतिबद्धता व्यक्त गरिन् ।
“स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न, सुरक्षित कार्य वातावरण सुनिश्चित गर्न र सेवाको गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध छ,” मन्त्री गौतमले भनिन् ।
कार्यदलका संयोजक डा. श्रेष्ठले प्रतिवेदनमा न्यूनतम पारिश्रमिकको मापदण्ड तय गर्ने, सेवा सुविधाको सुनिश्चितता गर्ने तथा पेशागत सुरक्षासम्बन्धी स्पष्ट व्यवस्था गर्नुपर्ने सिफारिस गरिएको जानकारी दिइन । उनले स्वास्थ्यकर्मीहरूको लामो समयदेखिको मागलाई सम्बोधन गर्ने दिशामा प्रतिवेदन केन्द्रित रहेको उल्लेख गर्दै यसको कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिइन।
कार्यदलमा चिकित्सा शिक्षा आयोगका निर्देशक डा. सुजनबाबु मरहठ्ठा, अफिनका अध्यक्ष डा. पदम खड्का, मेडिकल एन्ड डेन्टल कलेज एसोसिएसनका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्की, नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक चन्द्रकला शर्मा, आन्दोलनरत नर्स प्रतिनिधि ज्योति रानाभाट, नर्सिङ परिषद्का अध्यक्ष प्राध्यापक सरला केसी, मन्त्रालयको गुनासो सुनुवाइ एकाइ प्रमुख डा. अनुप बाँस्तोला तथा नर्सिङ तथा सुरक्षा सेवा महाशाखाका निर्देशक हिराकुमारी निरौला सहभागी थिए ।
यसैगरी गृह, अर्थ, श्रम तथा शिक्षा मन्त्रालयका प्रतिनिधिहरू, नेपाल चिकित्सक संघका महासचिव डा. सञ्जीव तिवारी, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनका अध्यक्ष माइकल देवकोटा, नेपाल फर्मास्युटिकल्स एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त, नेपाल पब्लिक हेल्थ एसोसिएसनका कावा अध्यक्ष तेजप्रसाद दुलाल, नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेशकुमार झा, मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का तथा हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी कार्यदलका सदस्य रहेका थिए ।
कार्यदलको सदस्य–सचिवको जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी डा. सुनिता लम्सालले निर्वाह गरेकी थिइन् । नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधासम्बन्धी स्पष्ट नीति निर्माण भएपछि स्वास्थ्य क्षेत्रमा देखिएको असन्तुष्टि कम हुने र सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको छ ।











प्रतिक्रिया