एमाले महाधिवेशनका केही प्रतिनिधिमा झाडापखालाको समस्या


काठमाडौँ।

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी केही प्रतिनिधिमा झाडापखालाको समस्या देखिएको छ। महाधिवेशन स्थलमा स्थापना गरिएको स्वास्थ्य सहायता कक्षमा उपचारका लागि आएका प्रतिनिधिमध्ये करिब १५ जनामा झाडापखालाको समस्या देखिएको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले जनाएको छ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका उपाध्यक्ष तथा महाधिवेशन स्वास्थ्य सहायता कक्षका संयोजक रामहरि ढकालका अनुसार प्रतिनिधिहरूमा देखिएको झाडापखाला हिजो सेवन गरिएको खानासँग सम्बन्धित हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। “हिजोको खानाको कारण हो कि भन्ने आशंका गरिएको छ, तर अवस्था नियन्त्रणमै छ,” ढकालले बताए।

झाडापखालासँगै महाधिवेशनमा सहभागी अन्य प्रतिनिधिहरूमा रुघाखोकी, उच्च रक्तचाप र मधुमेहजस्ता सामान्य स्वास्थ्य समस्या पनि देखिएको उनले जानकारी दिए। ती सबैको महाधिवेशन स्थलमै उपचार तथा स्वास्थ्य परीक्षण भइरहेको छ।

महासंघको नेतृत्वमा हिजोदेखि प्रतिनिधिहरूको नियमित स्वास्थ्य परीक्षण सुरु गरिएको छ। ढकालका अनुसार आज मात्रै करिब ५०० जना प्रतिनिधिको स्वास्थ्य परीक्षण गरिएको छ। महाधिवेशन अवधिभर स्वास्थ्य सहायता कक्ष निरन्तर सञ्चालन हुने उनले बताए।

स्वास्थ्यकर्मीहरूले एक दिनमा दुई सिफ्टमा स्वास्थ्य परीक्षण गरिरहेका छन्। एक सिफ्टमा करिब ५० जना प्रतिनिधिको स्वास्थ्य जाँच गरिने व्यवस्था मिलाइएको छ। महाधिवेशनमा सहभागी प्रतिनिधिहरूको सहज उपचारका लागि स्थलमै एम्बुलेन्ससहित आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइएको महासंघले जनाएको छ।

“महाधिवेशन स्थलमै उपचार सम्भव हुने सबै केसको यहीँ उपचार गरिरहेका छौँ। आवश्यक परे बाहिरका अस्पतालमा लैजाने व्यवस्था पनि तयारी अवस्थामा छ,” ढकालले भने।

स्वास्थ्य सहायता कक्षमा चिकित्सक, नर्स, हेल्थ असिस्टेन्टलगायत स्वास्थ्यकर्मी खटिएका छन्। महाधिवेशनमा ठूलो संख्यामा प्रतिनिधि सहभागी भएकाले सम्भावित स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको महासंघले जनाएको छ।

स्वास्थ्यकर्मीहरूले प्रतिनिधिहरूलाई सफा पानी पिउन, हल्का तथा सुरक्षित खाना खान र अस्वस्थ महसुस भए तत्काल स्वास्थ्य कक्षमा सम्पर्क गर्न आग्रह गरेका छन्। महाधिवेशन अवधिभर स्वास्थ्य शिविर सञ्चालन रहने महासंघले स्पष्ट पारेको छ।