काठमाडौँ।
नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पार्टी नेतृत्व चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आफू अब पदाधिकारीबाट कार्यकर्ताको भूमिकामा झरेको बताएका छन्। महासचिवका स्वाभाविक दाबेदार मानिएका ज्ञवालीलाई अध्यक्ष केपी शर्मा ओलीले विश्वास नगरेपछि उनले विद्रोही कदम चालेका हुन्।
११औँ महाधिवेशनको घोषणा नहुँदै ज्ञवालीले महासचिव पदमा दाबी प्रस्तुत गरेका थिए। उनलाई उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव पृथ्वी सुब्बा गुरुङलगायत नेताहरूको समर्थन थियो। तर अध्यक्ष ओलीले उपमहासचिव विष्णु रिमालको जोडबलमा शंकर पोखरेललाई नै महासचिवमा अघि बढाउने निर्णय गरे। पोखरेलले महासचिव पदमा मनोनयन दर्ता गरिसकेका छन् र अब सुरेन्द्र पाण्डेसँग प्रतिस्पर्धा गर्नेछन्।
ओलीले ज्ञवालीलाई उपाध्यक्ष पदमा अघि बढाउने प्रस्ताव गरे पनि ज्ञवालीले त्यसलाई अस्वीकार गर्दै केन्द्रीय सदस्य पदमा मात्रै उम्मेदवारी दिएका छन्। ज्ञवालीको प्रस्तावकमा पर्शु पाण्डे र समर्थकमा रामजी ढकाल रहेका छन्। ओली पक्षले उपाध्यक्षका लागि नाम समावेश गरेको सूची भए पनि महासचिव नपाएपछि उनले केन्द्रीय सदस्यमा सीमित रहने निर्णय गरेका हुन्।
यसैबीच, ज्ञवालीलाई महासचिव बनाउन पहल गरेका वर्तमान उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। ज्ञवालीलाई महासचिव बनाउन नसकेपछि गुरुङले ढिलो गरी उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन्।
उम्मेदवारी दर्तापछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले पार्टीभित्रको अभ्यासप्रति निराशा व्यक्त गरे। उनले भने,
‘एउटै व्यक्तिलाई दोहोर्याइराख्ने प्रवृत्ति ठिक होइन। मेरो मन एकदमै दुखेको छ। म पार्टी आन्दोलनको सधैं अग्रपंक्तिमा छु। म केन्द्रीय सदस्यको दाबेदार हुँ। पार्टीमा सबैलाई प्रतिस्पर्धाको समान अवसर हुन्छ भन्ने लागेको थियो, तर त्यस्तो भएन।’











प्रतिक्रिया