निर्वाचन गर्न अहिलेको सरकारको हैसियत पुग्दैन: पूर्व राज्यमन्त्री तामाङ


रामेछाप ।

 विघटित प्रतिनिधि सभाका सदस्य एवम् नेपाली काँग्रेस रामेछापका सभापति पूर्ण बहादुर तामाङ कान्छारामले निर्वाचन गराउन अहिलेको सरकारको हैसियत नपुग्ने बताएका छन् । नेपाली काँग्रेस रामेछापबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा सिफारिस भएका उम्मेद्धारहरुको नाम सार्वजनिक गर्न पाटिले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा तामाङले यस्तो बताएका हुन् । 

अहिलेको सरकारलाई नेपालको संविधानले नचिन्ने बताउँदै सरकारले असंवैधानिक भएको बताए । पत्रकार सम्मेलनमा उनले  सबै दलको प्रतिनिधित्व हुने गरी सरकार गठन भएको भए देशले निकास पाउने बताए । तामाङले यो सरकारले तोके कै समयमा निर्वाचन गराउने कुरालाई शङ्काको घेरामा राख्दै निर्वाचन गराउने हैसियत यो सरकारसँग नभएको समेत बताए । 

त्यस्तै कार्यक्रममा उनले प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र उप सभामुख इन्दिरा राणालाई तत्काल राजीनामा गर्न समेत सुझाव दिए । कार्यक्रममा उहाँले सदस्य नै नभएको सदनको सभामुख र उप सभामुख भई राख्नुले नैतिकता माथि प्रश्न उठ्ने बताए । 

पत्रकार सम्मेलनमा नेपाली काँग्रेस रामेछापका प्रवक्ता कुमार श्रेष्ठले आगामी निर्वाचनका लागि रामेछापबाट प्रतिनिधि सभा प्रत्यक्षका लागि १० जना¸ प्रतिनिधि सभा समानुपातीका लागि १४ जना र राष्ट्रिय सभाका लागि ५ जनाको नाम सिफारिस गरिएको जानकारी गराए ।