काठमाडौँ।
नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनको प्रक्रिया तीव्र बनेको छ। काठमाडौंस्थित भृकुटीमण्डपमा निर्वाचन सम्बन्धी गतिविधि जारी छन्।
पार्टी निर्वाचन आयोगले विभिन्न पदका लागि उम्मेदवारी शुल्क तोकेको छ। अध्यक्ष पदका उम्मेदवारले १५ हजार रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
केन्द्रीय पदाधिकारी पदका लागि उम्मेदवारी शुल्क १० हजार रुपैयाँ निर्धारण गरिएको छ भने केन्द्रीय सदस्यका उम्मेदवारले पाँच हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, केन्द्रीय आयोग अध्यक्षको उम्मेदवारी शुल्क १० हजार रुपैयाँ तोकिएको छ। केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यका लागि पाँच हजार रुपैयाँ उम्मेदवारी शुल्क कायम गरिएको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ।
महाधिवेशनमा पार्टी नेतृत्वका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आ–आफ्नो प्यानलसहित प्रतिस्पर्धामा उत्रने तयारीमा छन्।











प्रतिक्रिया