पाठक पत्र: स्वास्थ्य संस्थामा गरिने व्यवहारप्रति गुनासो


कुनै पनि व्यक्ति बिरामी भएपछि अस्पताल पुग्छ । उपचार गर्दा धेरै पैसा लाग्ने भएपछि ऊ आफ्नो घरजग्गा बेच्छ । र, राम्रो भनिएका सरकारी तथा निजी अस्पतालमा उपचार गराउँछ । सरकारी होस् वा निजी अस्पतालका डाक्टर, नर्स, अस्पताल प्रशासन, सुरक्षाकर्मीलगायतले बिरामीले तिर्ने पैसाबाट तलब खान्छन् । यसरी बिरामीकै पैसाबाट तलब खाएर, उनीहरुलाई नै राम्रो बोली वचन गरिँदैन । न त बिरामीका कुरुवासँग मीठो बोलिन्छ ।

यसको लागि एउटै उदाहरण काफी छ । एक दिन शनिबार दिउँसोको कुरा हो, काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुग्दा त्यहाँ उपचाररत काभ्रेपलाञ्चोकका यमबहादुर थापाका आफन्त र कुरुवासँग सुरक्षागार्डहरु हप्कीदप्की गरिरहेका थिए । थापा केही दिनअघि केएमसी अस्पतालमा भर्ना भएका थिए । त्यसअघि उनले १५ लाख बढी खर्च गरेर केएमसीनजिकै होप हस्पिटलमा आफ्नो घुँडाको उपचारम गराएका रहेछन् । सो रकम उनले गाउँको खेतबारी धितो राखेर ल्याएका थिए तर रोग निको भएको थिएन ।

थापाले आफ्नो स्वास्थ्य बिमा गराएका थिए । बिमामार्फत उपचारका निम्ति उनी टिचिङ अस्पताल पुगे । तर, त्यहाँ उपचार नगरिएपछि उनी केएमसी अस्पताल भर्ना भएका हुन् । उपचारमा अझै लाखौं रकम लाग्ने बिरामी थापाले बताए । उपचारपछि समेत घुँडाको रोग ठीक हुने–नहुनेमा उनी यकिन छैनन् । अनि अस्पतालका नर्स, सुरक्षा गार्डचाहिँ उनीसँग रुखो व्यवहार गरिरहेका थिए ।

उनलाई भेट्न आएका आफन्तलाई कुट्नै लाग्याजस्तो सुरक्षा गार्डको व्यवहार थियो भने नर्सहरु बिरामीको हेरचाह नगरी मोबाइल चलाएर बसिरहेका देखिन्थे । कुनै पनि व्यक्ति रहरले अस्पताल जाँदैन । अस्पतालमा लाखौंदेखि करोडौंसम्म खर्च हुन्छ । त्यसका निम्ति बिरामी आफ्नो खेतबारी, घरजग्गा, जायजेथा बेचेर उपचार गर्न आएको हुन्छ । बिरामीको कुरुवालाई पनि धेरै चिन्ता हुन्छ । एकातिर जायजेथा सबै बेचिएको हुन्छ, अर्कोतिर रोग निको हुन्छ कि हुँदैन भनेर चिन्ता ।
यस्तो अवस्थामा डाक्टर, नर्सहरुले बिरामी र उसका कुरुवालाई सान्त्वना दिने हो । राम्रो बोलीवचन गरेर रोग निको हुन्छ भनी विश्वास दिलाउने हो । तर, हाम्रो त ठ्याक्कै उल्टो छ । यहाँ त बिरामीलाई सान्त्वना दिनु परको कुरा हो, राम्रो बोलीवचनसमेत गरिँदैन । डाक्टर, नर्सकै व्यवहारका कारण बिरामीलाई कुर्न बसेकाहरुसमेत बिरामी हुन पुग्छन् ।

डाक्टर, नर्स शिक्षित हुन्छन् । पढेलेखेरै उनीहरु त्यो ठाउँमा पुगेका हुन् । तर, उनीहरुको व्यवहार भने निकै तल्लो स्तरको देखिन्छ । डाक्टर, नर्स मै हुँ भन्ठान्छन् । आफूहरुजस्तो कोही छैन भन्ठान्छन् । आफूहरुले जे गरे पनि हुन्छ भन्ने डाक्टर, नर्सको मनोविज्ञान देखिन्छ । बिरामीहरु यत्तिकै अस्पताल आएका हुँदैनन् । उनीहरु सित्तैमा अस्पताल बसेका हुँदैनन् । कसलाई आफ्नो घर छोडेर अस्पतालको बेडमा कोच्चिएर बस्न मन लाग्छ र ? तर यो कुरा डाक्टर, नर्स, सुरक्षा गार्डले बुझेको देखिँदैन ।

आफन्त बिरामी परेपछि भेटघाटका निम्ति मानिसहरु अस्पताल पुग्छन् । टाढाटाढाबाट मानिसहरु अस्पताल गएका हुन्छन् । तर सुरक्षा गार्ड, नर्सहरु हल्ला हुन्छ भन्दै आफन्तलाई बिरामीसँग भेट्न दिँदैनन् । अनि लामो यात्रा गरेर बिरामी भेट्न आएकाहरु बिरामी नै नभेटी फर्किन्छन् । अर्कोतर्फ, बिरामीले पैसा तिरेपछि तत्कालै उपचार पाउनुपर्ने हो । तर डाक्टर, नर्सहरु जब आफू फुर्सद हुन्छन्, तब उपचार गर्छन् । त्यति बेलासम्म बिरामीको मृत्यु भएमा को जिम्मेवार हुने ?
डाक्टर, नर्सको लापरबाहीले बिरामीको ज्यान पनि जाने, सम्पत्ति पनि सिद्धिने । सरकार भन्छ– स्वास्थ्य बिमा गर्नू । बिमा कम्पनीहरु बिमा गराउन घरघरमा एजेन्ट खटाउँछन् । जनता बिरामी हुँदा काम लाग्छ भनेर ३५ सय रुपियाँ तिरेर बिमा गराउँछन् ।

बिमा कम्पनीहरुसँग बिमक बिरामी हुँदा डेढ लाखसम्मको उपचार पाइने दाबी गर्छन् । तर, बिरामी हुँदाचाँहि बिमा काम लाग्दैन । अनि पैसा मात्र सिध्याउन किन बिमा गराउने ? बिमा गराएपछि बिरामी हुँदा तोकिएको अस्पताल जानुपर्छ । बिरामीहरु अनेकौं दुःख, कष्ट गरेर सम्बन्धित अस्पताल पुग्छन् । अनि बिमाबाट उपचारका लागि आएको भन्नेबित्तिकै उनीहरुलाई अस्पतालले बेवास्ता गर्छ । हामीकहाँ यो रोगको उपचार हुँदैन भन्दै अन्यत्र रिफर गरिन्छ वा फर्काइन्छ । बिरामीको ज्यान जान सक्ने योसम्मको खेलबाड कहिलेसम्म ? आखिर पैसाका निम्ति बिमा कम्पनी, अस्पतालहरु कहिलेसम्म खेलिरहने ?

यहाँ सिटामोल किन्ने पैसा नभएर ज्यान गुमाउनेदेखि उपचार गर्दागर्दै आफ्नो भएभरको सम्पत्ति सिद्धिएपछि अस्पतालकै छतबाटै हामफालेर आत्महत्या गरेकोजस्ता थुप्रै घटना छन् । सबै सम्पत्ति बेचेर उपचार गर्दागर्दै पनि बिरामी भएपछि शव झिक्ने पैसा नभएर अस्पतालमै छोडेर हिँडेका घटना पनि छन् । अस्पताल पुग्नु रहर होइन, बाध्यता हो । जुन केवल बिरामी वा उसका परिवारलाई थाहा हुन्छ ।

यस्तो अवस्थामा बिरामी, उसका परिवारलाई अस्पतालका डाक्टर, नर्स, कर्मचारीले थोरै मीठो बोलेमा पनि धेरै सहयोग पुग्छ । बिरामीमा आत्मबल आउँछ, कुरुवाहरु पनि खुशी हुन्छन् । विडम्बना, हामीकहाँ त बिरामी र कुरुवाहरु मान्छे नै होइनन् जस्तो व्यवहार गरिन्छ ।

शहरका अस्पतालमा उपचार गर्न विशेष गरी गाउँ वा दुर्गम जिल्लाबाट मानिसहरु आएका हुन्छन् । गाउँमा अस्पताल नभएपछि शहर आउनै प¥यो । पहिलोपटक शहर आउँदा र अस्पताल भर्ना हुँदा धेरैजसो व्यक्तिलाई धेरै कुरा थाहा हुँदैन । यहाँको वातावरणसँग भिज्न उनीहरुलाई समय लाग्छ ।

गाउँका मान्छेहरु अंग्रेजी बुझ्दैनन् । यस्तो अवस्थामा अस्पतालका डाक्टर, नर्स, कर्मचारीहरुले उनीहरुलाई सहयोग गर्नुपर्ने हो । दुर्भाग्य, उल्टै पाखे भन्दै हेपिन्छ । यति पनि आउँदैन भन्दै बिरामी र उसका कुरुवालाई हप्कीदप्की गरिन्छ । आखिर यस्तो व्यवहार कहिलेसम्म ?
नेपालको संविधान, २०७२ मा सरकारले स्वास्थ्य र शिक्षा निःशुल्क भनेको छ । केएमसी अस्पतालमा उपचाररत यमबहादुर आफन्तसँग गुनासो गरिरहेका थिए– अहिलेसम्म १८ लाख खर्च भइसक्यो । अब धितो राख्न पनि केही छैन । रोग पनि ठीक भएन । के गर्ने होला ?

यसले नै देखाउँछ कि हाम्रो संविधान केवल कागजमै सीमित भएको छ । यहाँ त बिरामीले लाखौं खर्चिएरसमेत गुणस्तरीय उपचार नपाएको अवस्था छ, निःशुल्क त परको कुरा हो । कतिपय अस्पतालका सञ्चालकहरु गरिबको निःशुल्क उपचार गरिने दाबी गर्छन् । तर कतिपय अस्पतालमा पैसा तिरेर पनि उपचार नपाएको अवस्था छ । अनि कहिलेसम्म जनतालाई भ्रमित बनाइराख्ने ? अब प्रधानमन्त्री सुशीला कार्की र स्वास्थ्यमन्त्री डा. सुधा गौतमले पैसा नभएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ । साथै, सरकारी तथा निजी अस्पतालमा बिरामी र उसका कुरुवासँग गरिने रुखो व्यवहारको पनि अन्त्य गरिनुपर्छ र स्वास्थ्य बिमालाई समेत प्रभावकारी बनाउनुपर्छ ।
– रुषा थापा, भक्तपुर ।