काठमाडौं।
मेलम्ची खानेपानी आयोजनमा भएको ८५ करोड बढी भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाइ दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय, गजेन्द्रकुमार ठाकुर, रुद्रसिंह तामाङ, तत्कालीन बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेललगायत १७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।
फैसला पुनरावलोकनका लागि आइतबार सर्वोच्चमा गरिएको पुनरावेदनमा हालैमात्र जेन–जी सहिद परिवारको तर्फबाट सरकार तथा जेन–जी आन्दोलनकारीबीचको सम्झौतामा हस्ताक्षर गरेका भोजविक्रम थापालाई पनि विपक्षी बनाइएको छ । उनी तत्कालीन अवस्थामा मेलम्चीमा सिनियर डिभिजनल इन्जिनियरको रूपमा कार्यरत थिए । थापाका परिवारका कुनै पनि सदस्य जेन–जी आन्दोलनमा परेका थिएनन् । तर, थापाले सहिद परिवारको प्रतिनिधिका रूपमा प्रधानमन्त्रीसँग हस्ताक्षरकर्ता बनेको विषयलाई यतिखेर ठूलो शंकाको रूपमा हेरिएको छ । यस सँगै जेन–जीहरूको सुशासनको नारा नै फितलो हुन पुगेको छ ।
थापालाई जेन–जी आन्दोलनका क्रममा २३ भदौमा नयाँ बानेश्वरमा प्रहरीको गोलीबाट मारिएका ईश्वतबहादुर अधिकारीको आफन्त बताइएको छ । थापाले ईश्वत आफ्नै संरक्षणमा रहेको बताएका थिए । सरकारले राजपत्रमा प्रकाशन गरेको सूचनामा ईश्वतको पुख्र्यौली घर तनहुँको भानु र पछिल्लो ठेगाना काठमाडौं–११ उल्लेख गरिएको छ । यसरी जेन–जी र सरकार बीचको सहमतिमा भ्रष्टाचार मुद्दा लागेको व्यक्तिको हस्ताक्षर भएको भन्दै व्यापक आलोचना भएको छ ।
मेलम्ची आयोजना भ्रष्टाचारमा अख्तियारले २०८० फागुनमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ८५ करोडभन्दा बढी रुपियाँको भ्रष्टाचार मुद्दामा थापाविरुद्ध ३२ करोड ३५ लाख ६१ हजार ६ सय ६३ रुपियाँ ९५ पैसा बिगो कायम गरी जरिवाना र कैद सजाय मागदाबी गरिएको थियो । विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च गएको हो ।











प्रतिक्रिया