–ओली–पोखरेल आमनेसामने
–नेतृत्व चयनदेखि विधान सम्मेलन विवादमा
–भृकुटीमण्डपमा आइतबार दिनभर रोचक दृश्य
काठमाडौं।
नेकपा एमालेको भृकुटीमण्डपमा जारी ११औँ महाधिवेशन आइतबार निर्णायक मोडमा पुगेको छ । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्ष र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच खुला रस्साकस्सी सुरु भएपछि महाधिवेशन स्थल राजनीतिक रूपमा तातेको छ । दुवै पक्षले आ–आफ्नो शक्ति देखाउन नेता–कार्यकर्ता परिचालन गर्दा महाधिवेशन आन्तरिक प्रतिस्पर्धामात्र नभई शक्ति संघर्षको थलो बनेको छ ।
संस्थापन पक्षले ओलीको विकल्पमा कसैलाई अघि नबढ्न चेतावनीसहित रणनीतिक रूपमा नेता–कार्यकर्ता परिचालन गरिरहेको छ । यता, ओलीलाई चुनौती दिँदै अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका पोखरेलले पनि माहोल आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन् । बन्दसत्र, लबिङ, कोठे बैठक र अनौपचारिक भेटघाटमार्फत दुवै पक्षले समर्थन जुटाउने प्रयास तीव्र पारेका छन् ।
महाधिवेशन स्थलमा खुलेर दुई धारमा उभिएका नेता–कार्यकर्ताले आफ्नै पार्टीका शीर्ष नेतामाथि आरोप–प्रत्यारोपको भाषा प्रयोग गर्न थालेपछि समर्थक र शुभेच्छुकहरू भने निराश देखिन्थे । हिजोसम्म सँगै हिँडेका नेता–कार्यकर्ता आज एकअर्कामाथि प्रश्न उठाउँदै देखिँदा एमालेको आन्तरिक अवस्था चासो र चिन्ताको विषय बनेको छ । भृकुटीमण्डप वरपर विभिन्न समुदायका मानिसहरू बिहानदेखि बेलुकासम्म ‘एमालेले के गर्छ ?’ भन्ने जिज्ञासासहित उपस्थित देखिन्थे ।
महाधिवेशनअघि बसेको पदाधिकारी तथा केन्द्रीय कमिटी बैठकले गत भदौमा सम्पन्न विधान महाधिवेशनबाट पारित केन्द्रीय कमिटी संरचनालाई ‘नेता व्यवस्थापन’का नाममा फेरबदल गरेपछि विधान महाधिवेशनको औचित्यमाथि नै प्रश्न उठेको छ ।
महाधिवेशन प्रतिनिधिहरूले यत्रो तामझामका साथ विधान महाधिवेशन किन गरियो ? पार्टीको ठूलो धनराशि किन खर्च गरियो भन्ने प्रश्न नेतृत्वसमक्ष उठाएका थिए । तर, नेतृत्व तहबाट स्पष्ट जवाफ नआएपछि प्रतिनिधिहरू असन्तुष्ट देखिन्थे ।
आइतबार दिनभर विभिन्न समूह बनाएर एमाले नेताहरू चुनावी मैदानमा उत्रन आन्तरिक गृहकार्यमा जुटेका थिए । ओली पक्षबाट महासचिवमा शंकर पोखरेल, उपाध्यक्षमा पीएस गुरुङ, प्रदीप ज्ञवाली, रामबहादुर थापा (बादल), पद्मा अर्याल र विष्णु पौडेललाई अघि सार्ने तयारी गरिएको छ । उपमहासचिवमा विष्णु रिमालको नाम लगभग टुंगो लागे पनि बाँकी पदाधिकारीको नाम तय गर्न नेताहरू बन्दसत्र सकिएलगत्तै कोठे बैठकमा व्यस्त थिए ।
पोखरेल पक्षले महासचिवमा हालका उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई अघि सारेको छ । अन्य पदाधिकारी र पूरै टिमको नाम आइतबार साँझसम्म टुंगो लगाउने गरी नेताहरू गृहकार्यमा जुटेका थिए । दुवै पक्षका कोर टिम आ–आफ्ना रणनीति बनाउन भृकुटीमण्डप बाहिर र विभिन्न स्थानमा बसेका थिए । संस्थापन पक्षमै पनि महासचिव पदका आकांक्षी धेरै भएपछि ओलीलाई टिम मिलाउन सकस परेको देखिन्छ । उपाध्यक्षमा सीमित गर्न खोजिएका प्रदीप ज्ञवाली र विष्णु पौडेलले महासचिवमा इच्छा जाहेर गरेपछि ओली पक्षभित्रै प्रतिस्पर्धा चर्किएको छ ।
यसबीच खुलेर कुनै पक्षमा नलागेका महाधिवेशन प्रतिनिधिहरूले भने पार्टीलाई विभाजनको दिशामा नलैजान र एकताबद्ध भएर अघि बढ्न नेताहरूलाई आग्रह गरेका छन् । जेन–जी आन्दोलनपछि ओझेलमा परेका दलहरूले महाधिवेशनको नाममा आन्तरिक विभाजन निम्त्याउनु दुःखद् भएको उनीहरूको भनाइ थियो । प्रतिनिधिहरूले संयम अपनाउन र एकताको सन्देश दिन नेतृत्वलाई दबाब दिएका छन् ।
बन्दसत्र हलमा सम्बोधन गर्दै ओलीले पोखरेललाई लक्षित गर्दै पार्टीमा विभाजन ल्याउने कुनै तत्वलाई सहयोग नगर्न प्रतिनिधिहरूलाई खुला चुनौती दिनुभएको थियो । ओलीको आक्रामक शैलीबाट असन्तुष्ट नेता–कार्यकर्ताले भने एकताको सन्देश दिन नसकेको आरोप लगाउँदै अध्यक्ष पदबाट बिदा लिएर अभिभावकको भूमिकामा बस्न चुनौती दिएका छन् ।
महाधिवेशनमा अर्को रोचक घटना दुई उपाध्यक्षको बिदाइ घोषणासँग जोडिएको छ । उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ११औं महाधिवेशनपछि सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । पार्टीले केन्द्रीय कमिटी वा पदाधिकारीको उमेर हद ७० वर्ष तोकेको र आफूहरू ७० वर्ष नाघिसकेको भन्दै उहाँहरूले बिदा लिने निर्णय सुनाउनुभएको थियो । यो घोषणाले ओलीमाथि नैतिक दबाब बढाएको छ । ओली हाल ७२ वर्षका भए पनि पुनः अध्यक्ष बन्ने आकांक्षा व्यक्त गर्दै आउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले भने महाधिवेशनको बन्दसत्रमा भावनात्मक र कडा सम्बोधन गर्दै पार्टी, कम्युनिस्ट आन्दोलन र मुलुकलाई थप नोक्सान हुन नदिन ओलीलाई नेतृत्वबाट बिदा लिन आग्रह गर्नुभयो । उहाँले ओलीलाई अध्यक्ष पद छाडेर संरक्षक वा अभिभावकको भूमिकामा बसेर राजनीतिक मार्गदर्शन गर्न अनुरोध गर्नुभयो । पोखरेलले भन्नुभयो– ‘तपाईं ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो । २०७२ देखि २०८२ सम्म १० वर्षको अवधिमा ६ वर्ष प्रधानमन्त्री बन्नुभयो । कमरेड, अब उधौली सुरु हुँदै छ । यो उधौलीले पार्टी, आन्दोलन र मुलुकलाई नोक्सान गर्छ कि भन्ने चिन्ता लागेको छ ।’ निरन्तर नेतृत्वमा बसिरहँदा थप क्षति हुने डर आफूभित्रैदेखि लागेको उहाँको भनाइ थियो । उहाँले पछिल्ला वर्षहरूमा पार्टीमा सक्रिय भएर काम गर्दा अवरोध र तेजोबध भएको अनुभूति पनि सुनाउनुभएको थियो ।
महाधिवेशनबाट एमालेले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्दै छ । यही संरचनाबाट १९ पदाधिकारी चयन हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहनेछन् । उपाध्यक्ष र सचिवको पद बढाइएको छ । प्रदेश प्रतिनिधित्वतर्फ उपत्यकासहित आठ प्रदेशबाट ७२ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । प्रत्येक प्रदेशबाट खुला ५, महिला ३ र युवा १ जना रहने व्यवस्था छ । खुला कोटाबाट १२५ जना निर्वाचित हुनेछन् । जसमा खुला ७१, महिला ५२ र युवा २ जना छन् । जनजाति–आदिवासी क्लस्टरबाट २५, मधेसी क्लस्टरबाट १९, दलित १२, थारु ८, मुस्लिम ५, प्रवास २, श्रमिक ३, अपाङ्गता भएका व्यक्ति १, पिछडिएको क्षेत्रबाट २ र सम्पर्क समन्वय समितिबाट २ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।
आइतबारको दिनभर एमाले महाधिवेशन नेतृत्व चयन, विधानको औचित्य, पुस्तान्तरण र एकताको बहसले भरिएको रह्यो । महाधिवेशन अब ओली–पोखरेल प्रतिस्पर्धाको निर्णायक घडीमा प्रवेश गरेको छ ।
वरिष्ठ उपाध्यक्ष पद खारेज
काठमाडौं ।
नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ । ११औं महाधिवेशनअन्तर्गत आइतबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमै बसेको केन्द्रीय समिति बैठकले पार्टीको पदाधिकारी संरचना परिवर्तन गर्दै वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने निर्णय गरेको हो ।
वरिष्ठ उपाध्यक्ष पद हटाइए पनि एमालेले पदाधिकारी संख्या भने बढाएर १९ सदस्यीय बनाएको छ । यसअघि गत भदौमा सम्पन्न विधान महाधिवेशनले पदाधिकारी संख्या घटाएर १५ मा सीमित गर्ने निर्णय गरेको थियो । तर, महाधिवेशनमा पदाधिकारीका आकाक्षीको संख्या बढ्दै गएपछि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पदाधिकारी संख्या पुनः बढाएर १९ पु¥याइएको हो ।
विधान महाधिवेशनबाट पारित व्यवस्थाअनुसार अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सात रहने गरी १५ सदस्यीय पदाधिकारी संरचना बनाइएको थियो । साथै, २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने र प्रदेश कमिटीका अध्यक्षहरू पदेन केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको थियो ।
तर, ११औं महाधिवेशनकै क्रममा विधान संशोधन गर्दै एमालेले नयाँ पदाधिकारी संरचना तय गरेको छ । संशोधित विधानअनुसार अब अध्यक्ष एक, उपाध्यक्ष पाँच, महासचिव एक, उपमहासचिव तीन र सचिव नौ जना रहनेछन् ।
निर्वाचन तालिका सार्वजनिक
काठमाडौं
नेकपा एमालेको ११औं महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार बेलुकी सार्वजनिक गरेको तालिकाअनुसार आइतबार साँझ ७ बजेदेखि पुस १ गतेसम्म निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया सञ्चालन हुनेछ ।
तालिकाअनुसार आइतबार साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिएको छ । सोमबार २९ गते बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीमाथि दाबी–विरोध तथा सुधारका लागि समय तोकिएको छ । त्यसपछि बिहान साढे ९ बजे दाबी–विरोध र सुधारसम्बन्धी सूचना प्रकाशन गरिनेछ । बिहान १० बजे मतदाता नामावलीमाथि परेको दाबी–विरोधको छानबिन तथा निर्णय गरिनेछ भने सवा १० बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
निर्वाचन कार्यक्रमअनुसार सोमबार बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म उम्मेदवारका लागि मनोनयन फाराम वितरण गरिनेछ । यस्तै, बिहान १०ः३० बजेदेखि दिउँसो १ः३० बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । दिउँसो २ः३० बजे उम्मेदवारी दिएका उम्मेदवारमाथि दाबी–विरोध दर्ता गर्न सकिनेछ । त्यसपछि अपराह्न ३ः१० बजेसम्म दाबी–विरोधमाथि छानबिन गरी निर्णय सार्वजनिक गरिनेछ । सोही दिन दिउँसो २ः३० बजे उम्मेदवारहरूको नामावली सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोगले निर्धारित समयभित्र सबै प्रक्रिया पूरा गर्न सम्बन्धित पक्षलाई सहयोग गर्न आग्रह गरेको छ । एमाले महाधिवेशनबाट अध्यक्षसहित १९ पदाधिकारी र ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन हुने भएको छ ।











प्रतिक्रिया