जनकल्याण साकोसको वार्षिक साधारण सभामा १५ जना सम्मानित

0
Shares

लमजुङ। 

लमजुङको बेसीशहर ७ मा मुख्य कार्यालय रहेर वित्तीय कारोबार गर्दै आएको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिडेटको १९ औं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।

सहकारीका अध्यक्ष ताराराज घलेको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गरेका थिए । सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि अर्यालले सहकारीले सानो पुँजीलाई बचतमा रुपान्तरण गरी सदस्यहरुको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । उनले सहकारीमार्फत स्थानीय स्तरमा उद्यम, रोजगारी र आत्मनिर्भरता बढाउन सकिने बताए ।

वार्षिक साधारण सभाको अवसरमा सहकारीले विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान दिने तथा उत्कृष्ट कारोबार गर्ने सहित १५ जनालाई सम्मान गरेको छ । वर्षभरिमा उत्कृष्ट कारोबार गर्ने सदस्यतर्फ बेसीशहर नगरपालिका–७ का छयाविर गुरुङ र गजली गुरुङ तामाङ सम्मानित भएका छन् ।

यसैगरी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने भावना गुरुङ, फडिन्द्र गुरुङ, रोजी घिमिरे, सिमोन गुरुङ, किमप्रसाद गुरुङ, अम्बिका गुरुङ, हिमा गुरुङ, प्रियंसु गुरुङ, जनक गुरुङ, एञ्जेल गुरुङ, रुवी गुरुङ, कृष्टिना गुरुङ र दुधरे गुरुङलाई सम्मान गरिएको हो ।

सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि अर्यालले सम्मानपत्र, बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठले शिल्ड तथा सहकारीका अध्यक्ष घलेले खादा लगाई सम्मान गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष नारायणबहादुर रिमाल, जिल्ला बचत संघका उपाध्यक्ष योगेश घिमिरे, बेसीशहर क्षेत्र सहकारी समन्वय समितिका अध्यक्ष पूर्णलाल श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

२०६४ सालमा २७ जना शेयर सदस्यबाट सुरु भएको साकोसमा हाल १३ हजार ९ सय ३२ जना सदस्य आबद्ध रहेका छन् । संस्थाको २०८१-०८२ सम्मको कुल वासलात ९३ करोड ८२ लाख २७ हजार ७ सय ४९ रुपैयाँ १४ पैसा पुगेको छ भने शेयर पूँजी ७ करोड ७ लाख ४५ हजार ३ सय रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा सहकारीले ८१ लाख ९८ हजार २ सय ८४ रुपैयाँ ४१ पैसा मुनाफा आर्जन गरेको सहकारीका प्रबन्धक झमप्रसाद गुरुङले बताए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न मानवीय तथा सेवामूलक कार्य गर्दै आएको जनाएको छ । दुर्गम क्षेत्रका नागरिकलाई सहज सेवा पु¥याउने उद्देश्यले मुख्य कार्यालयसहित सात स्थानमा सेवा केन्द्र सञ्चालन गरी सेवा दिँदै आएको सहकारीले जनाएको छ ।