नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास उर्लँदो छ : सहसंयोजक नेपाल

1.32k
Shares

सिन्धुली। 

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टीप्रति जनताको विश्वास र आकर्षण तीव्र रुपमा बढ्दै गएको बताएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी सिन्धुलीको कार्यालयमा आइतबार नेता–कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले प्रदेश–प्रदेशमा सञ्चालन भइरहेका एकता सन्देशसभा कार्यक्रममा देखिएको उल्लेख्य जनसहभागिताले पार्टीप्रति जनताको भरोसा बढ्दै गएको स्पष्ट पारेका हुन् । 

सोमबार तीनपाटन गाउँपालिका–५ स्थित माध्यमिक विद्यालय मझुवा दोभानको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा सहभागी हुन सहसंयोजक नेपाल आइतबार सिन्धुलीमाढी आइपुगेका हुन् ।

प्रदेशस्तरीय कार्यक्रमहरूमा उर्लिएको भिडले नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण पुनःस्थापित हुँदै गएको उनको दाबी छ । 

“प्रदेश–प्रदेशमा भइरहेको एकता सन्देशसभामा देखिएको जनसहभागिताले नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको विश्वास बढ्दै गएको स्पष्ट देखिन्छ” उनले भने । 

सहसंयोजक नेपालले नेपाली कम्युनिष्ट पार्टीमा १६ वटा घटक मात्र नभई नयाँ पुस्ता, विशेषगरी ‘जेन–जी’ पुस्ताका युवाहरू पनि आकर्षित भई संगठित हुँदै गएको जानकारी दिए । 

गत भदौ २३ र २४ गते भएका राजनीतिक घटनाक्रमपछि कम्युनिष्ट आन्दोलनलाई विभाजन होइन, एकताको सशक्त उदाहरणका रूपमा अघि बढाउन १६ घटकलाई एकै ठाउँमा राखी नयाँ नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको उनको भनाइ छ । उनले भने, “कम्युनिष्ट आन्दोलनलाई विभाजन होइन, एकताको उदाहरण बनाउने उद्देश्यले १६ घटकलाई एकताबद्ध गरी नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको हो, जसमा नयाँ पुस्ताका युवाहरूको समेत उत्साहजनक सहभागिता देखिएको छ ।”