लमजुङ।
आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङमा दुई वटा मतदानस्थल थपिएका छन् । निर्वाचन आयोगका अनुसार पछिल्लो निर्वाचनमा कायम रहेका मतदानस्थलमा थप गरी जिल्लामा कुल १ सय ३० मतदानस्थल कायम गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार यी मतदानस्थलमा १ सय ८६ वटा मतदान केन्द्र रहनेछन् । अघिल्लो निर्वाचनमा जिल्लामा १ सय २८ मतदानस्थल र १ सय ८२ मतदान केन्द्र रहेका थिए ।
लमजुङमा प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र छन् । प्रदेश सभा निर्वाचन क्षेत्र क मा ६९ मतदान स्थलमा ९१ मतदान केन्द्र कायम गरिएको छ भने निर्वाचन क्षेत्र ख मा ६१ मतदान स्थलमा ९५ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
भौगोलिक अवस्था र मतदाताको सहजतालाई ध्यानमा राख्दै सरोकारवालासँगको छलफलपछि दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । जिल्लास्थित मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले स्थानीय तहका मतदानस्थललाई मतदाता संख्या र भूगोलका आधारमा वर्गीकरण गरी निर्वाचन आयोगमा सिफारिस पठाएको थियो । सोही अनुसार बेसीशहर–१० र दोर्दी–२ मा मतदानस्थल थप गरिएको हो ।
यसैबीच जिल्ला सुरक्षा समिति लमजुङले जिल्लाका सबै मतदानस्थलको सुरक्षा स्तरीकरण गरेको छ । समितिले १ सय ३० मतदानस्थलमध्ये ३० वटालाई अति संवेदनशील मतदानस्थलमा राखेको छ । ७७ वटा मतदानस्थल संवेदनशील र बाँकी २३ वटा सामान्य श्रेणीमा राखिएका छन् ।
सुरक्षा समितिले अति संवेदनशील र संवेदनशील मतदानस्थलमा विशेष सुरक्षा व्यवस्था मिलाइने जनाएको छ । चार नगरपालिका र चार गाउँपालिका रहेको लमजुङमा अति संवेदनशील मतदानस्थल तोक्दा भौगोलिक विकटता र अघिल्ला निर्वाचनको सुरक्षा अवस्थालाई आधार बनाइएको हो ।











प्रतिक्रिया