अतिरिक्त स्वास्थ्य सचिव पदमा बढुवा प्रक्रिया अघि बढ्यो


काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लामो समयदेखि रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव (१२औँ तह) को एक पदमा बढुवा प्रक्रिया अघि बढाएको छ । मन्त्रालयको बढुवा समिति सचिवालयले सूचना प्रकाशित गर्दै योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको हो ।

सूचनाअनुसार गत असार मसान्तसम्म ११औँ तहमा पाँच वर्ष सेवा अवधि पूरा गरेका अधिकृतहरू बढुवाका लागि आवेदन दिन योग्य हुनेछन् । मन्त्रालय स्रोतका अनुसार प्रशासनिक निरन्तरता र उच्च तहको नेतृत्व अभाव पूर्ति गर्न बढुवा प्रक्रिया अघि बढाइएको हो ।

अतिरिक्त स्वास्थ्य सचिवको उक्त पद गत कात्तिक १९ गतेदेखि रिक्त रहेको छ । सो पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव डा. टंकप्रसाद बाराकोटीले दुई वर्ष कार्यकाल बाँकी छँदै स्वास्थ्य सेवा विभागको महानिर्देशक पदबाट राजीनामा दिएपछि मन्त्रालयको शीर्ष तहमा एक पद खाली भएको थियो । मन्त्रालयले सोही रिक्त पद पूर्ति गर्न औपचारिक रूपमा बढुवा प्रक्रिया सुरु गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयभित्र अतिरिक्त स्वास्थ्य सचिवको भूमिका नीतिगत निर्णय, कार्यक्रम कार्यान्वयनको समन्वय तथा प्रशासनिक नेतृत्वका हिसाबले महत्वपूर्ण मानिन्छ । पछिल्लो समय स्वास्थ्य बीमा, संघीय संरचनामा स्वास्थ्य सेवा समन्वय, जनशक्ति व्यवस्थापन तथा बजेट कार्यान्वयन जस्ता विषयमा मन्त्रालयमाथि चाप बढिरहेको अवस्थामा शीर्ष तहमा रिक्त पद रहनु चुनौतीपूर्ण बन्दै गएको थियो ।

डा. संगीता मिश्राको अवस्थाबारे अन्योल

यसैबीच, जेनजी आन्दोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको सरकारले असोजको पहिलो साता अतिरिक्त स्वास्थ्य सचिव पदमा कार्यरत डा. संगीता कौशल मिश्रालाई मन्त्री बनाउने तयारी गरेको विषयले पनि मन्त्रालयभित्र चर्चा पाएको थियो । ५ असोजमा कार्की नेतृत्वको सरकारले उनलाई मन्त्री पदमा सिफारिस गर्ने निर्णय गरेको सार्वजनिकसमेत भएको थियो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन अवस्थामा रहेकाले प्रधानमन्त्री कार्कीले रातारात उनको नाम फिर्ता लिएकी थिइन् । नाम सिफारिस भइसकेपछि डा. मिश्राले राजीनामा दिएको र उक्त राजीनामा स्वीकृत भइसकेको भन्ने चर्चा चले पनि यसको औपचारिक जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्म नआएको मन्त्रालयले जनाएको छ ।

हाल डा. मिश्रालाई निलम्बनमा राखिएको अवस्था छ । स्वास्थ्य मन्त्रालयका सहसचिव दिवस आचार्यका अनुसार डा. मिश्राको पद रिक्त भएको भन्ने कुनै आधिकारिक सूचना मन्त्रालयमा प्राप्त नभएको स्पष्ट पारे । “उहाँ निलम्बनमा हुनुहुन्छ भन्ने जानकारी हामीसँग छ । तर राजीनामा दिएको वा स्वीकृत भएको कुनै औपचारिक जानकारी मन्त्रालयलाई आएको छैन,” उनले भने, “त्यसैले हाल अतिरिक्त स्वास्थ्य सचिवको एउटा पद मात्रै रिक्त रहेको मान्दै सोही पदका लागि बढुवा प्रक्रिया अघि बढाइएको हो ।”

मन्त्रालय स्रोतका अनुसार यदि डा. मिश्राको राजीनामा औपचारिक रूपमा स्वीकृत भएको जानकारी आएमा अर्को पद पनि रिक्त हुनसक्ने अवस्था रहनेछ । तर हालको अवस्थामा एक पदका लागि मात्रै बढुवा प्रक्रिया अघि बढाइएको स्पष्ट पारिएको छ । स्वास्थ्य प्रशासनमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया सुरु भएसँगै ११औँ तहका वरिष्ठ अधिकृतहरूबीच प्रतिस्पर्धा बढ्ने देखिएको छ । मन्त्रालयले प्रक्रिया पारदर्शी र समयमै टुंग्याउने तयारी गरेको जनाएको छ ।