काठमाडौँ।
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी प्रतिनिधि तथा नेताहरूको स्वास्थ्य उपचार र निगरानीका लागि करिब ३ सय जना स्वास्थ्यकर्मी खटिएका छन् । महाधिवेशनको बन्दसत्र स्थल भृकुटीमण्डपमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको समन्वयमा विशेष स्वास्थ्य सहायता शिविर स्थापना गरी सेवा प्रदान गरिएको छ ।
महासंघका उपाध्यक्ष तथा महाधिवेशन स्वास्थ्य शिविरका संयोजक रामहरि ढकालका अनुसार महाधिवेशनमा सहभागी सबै प्रतिनिधिको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै महाधिवेशन स्थलमै उपचार, परीक्षण र आकस्मिक सेवाको व्यवस्था गरिएको छ । शिविर मार्फत चिकित्सक, नर्स, हेल्थ असिस्टेन्टलगायत विभिन्न विधाका करिब ३ सय जना स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।
ढकालका अनुसार स्वास्थ्य परीक्षण सेवा दैनिक दुई सिफ्टमा सञ्चालन भैरहेको छ । “एक सिफ्टमा करिब ५० जना प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ,” उनले भने, “महाधिवेशन अवधिभर निरन्तर रूपमा स्वास्थ्य सेवा उपलब्ध हुन्छ ।” उनका अनुसार प्रतिनिधिहरूको उमेर, लामो समयसम्म बस्नुपर्ने अवस्था र भीडभाडलाई मध्यनजर गर्दै स्वास्थ्य सतर्कता अपनाइएको हो ।
स्वास्थ्य शिविरबाट सामान्य उपचार सम्भव हुने बिरामीको उपचार महाधिवेशनस्थलमै गरिने व्यवस्था गरिएको छ । उच्च रक्तचाप, ज्वरो, मधुमेह, दाँत सम्बन्धी समस्या लगायत अस्पताल भर्ना आवश्यक नपर्ने स्वास्थ्य समस्याको उपचार शिविरमै गरिने ढकालले बताए । आवश्यक परेमा आकस्मिक सेवाका लागि एम्बुलेन्ससमेत तयारी अवस्थामा राखिएको छ ।
“शिविरमै उपचार सम्भव नहुने अवस्थामा प्रतिनिधिलाई सम्बन्धित अस्पतालसम्म सुरक्षित रूपमा लैजाने व्यवस्था पनि गरिएको छ,” ढकालले भने, “महाधिवेशनलाई स्वास्थ्यका हिसाबले पनि सुरक्षित र व्यवस्थित बनाउने हाम्रो प्रयास हो ।” उनका अनुसार महाधिवेशन सुरु भएदेखि नै प्रतिनिधिहरूले स्वास्थ्य परीक्षण गराइरहेका छन् । विशेषगरी उच्च रक्तचाप, थकान, ज्वरो र सामान्य स्वास्थ्य जाँचका लागि प्रतिनिधिहरू शिविरमा आउने क्रम बढिरहेको छ ।
लामो समयसम्म चल्ने महाधिवेशन, भीडभाड र कार्यतालिकाको चापका कारण स्वास्थ्य जोखिम हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको स्वास्थ्यकर्मी महासंघको भनाइ छ । पार्टीको महत्वपूर्ण राष्ट्रिय कार्यक्रम भएकाले कुनै पनि स्वास्थ्य आपत्कालीन अवस्था नआओस् भन्ने उद्देश्यले शिविरलाई पूर्ण तयारीका साथ सञ्चालन गरिएको जनाइएको छ ।
महाधिवेशन अवधिभर स्वास्थ्य सहायता कक्ष निरन्तर सञ्चालन हुने र आवश्यकताअनुसार सेवा थप गरिने आयोजकको भनाइ छ ।











प्रतिक्रिया